+
+
Shares

वीर अस्पतालको निमित्त निर्देशकमा डा. समाज गौतम

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ४ गते १८:४४

४ फागुन, काठमाडौं। वीर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी डा.समाज गौतमले पाएका छन् । आइतबारबाट निर्देशक डा. सन्तोष पौडेलको दुई वर्ष कार्यकाल पुरा भएसँगै डा. गौतमले जिम्मेवारी प्राप्त गरेका हुन् ।

डा. पौडेल २०७९ फागुन ५ गते मा वीर अस्पतालको निर्देशकमा नियुक्त भएका थिए । डा.पौडेललाई तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले वीर अस्पतालको कार्यकारी निर्देशक नियुक्त गरेका थिए ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्रा.डा भुपेन्द्रकुमार बस्नेतले डा. गौतमलाई निमित्त निर्देशकको कार्यभार सम्हाल्ने गरी जिम्मेवारी दिइएको बताए ।

‘न्याम्सको ऐनमा उपकुलपति गर्ने काम कर्तव्य र अधिकारको आधारमा जिम्मेवारी दिइएको हो । स्वास्थ्य मन्त्रालयबाट अर्को व्यवस्था नहुँदासम्मको डा. गौतमलाई निमित्त निर्देशक तोकिएको छ,’ डा. बस्नेतले अनलाइनखबरसँग भने ।

डा. गौतम यसअघि पनि वीरमा सहायक निर्देशकको रुपमा काम गरेका थिए । निर्देशक डा. पौडेलको कार्यकाल सकिएसँगै नयाँ निर्देशकका आकांक्षीहरू शक्तिकेन्द्रको दौडधुपमा लागिरहेका छन् ।

डा. पौडेलले आफैँ पनि दोहोरिने इच्छासहित शक्तिकेन्द्र धाइरहेका छन् । त्यस्तै अहिले निमित्त निर्देशक जिम्मेवारी पाएका डा. गौतम पनि निर्देशकका लागि दौडघुपमा रहेका छन् ।

कांग्रेस निकट रहेका डा. गौतमलाई निर्देशक बनाउनमा स्वास्थ्यमन्त्री प्रदीप पौडेल पनि सकारात्मक रहेको उच्च स्रोतले अनलाइनखबरलाई बतायो ।

यस्तै प्रधानमन्त्री ओलीको क्याबिनेट चिकित्सकका रुपमा समेत काम गरिसकेका डा. दिलिप शर्माको निर्देशकका आंकक्षी रहेका छन् ।

वीर अस्पतालकै कलेजो रोग विभागमा कार्यरत डा. शर्माले चिकित्सा शिक्षा आयोगको निर्देशक र नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारको रुपमा काम गरिसकेका छन् । वीर अस्पतालको उपनिर्देशक भइसकेकी छाला रोग विशेषज्ञ डा. अनुपमा कार्की पनि निर्देशक बन्नेमा दौडधुपमा लागेकी छिन् । अस्पतालको निर्देशक सत्तारुढ दल नेकपा एमालेकै कोटाबाट बनाउनुपर्नेमा दलनिकट चिकित्सकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोड दिइरहेको बुझिएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा सत्ता साझेदार दल नेपाली कांग्रेसबाट उपकुलपति र रेक्टर, रजिस्ट्रारमा माओवादी केन्द्रको कोटाबाट नियुक्त गरिएकोले निर्देशक एमालेबाट हुनुपर्ने एमाले निकट चिकित्सकले प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका छन् ।

कांग्रेस नेता पौडेलले नेतृत्व गरिरहेको मन्त्रालय अन्तर्गतको नियुक्तिमा प्रधानमन्त्री ओलीले चासो नदेखाएमा वीर अस्पतालको नेतृत्व डा. समाजले पाउने सम्भावना बलियो देखिन्छ ।

उच्च स्रोतका अनुसार वीरको निर्देशक पार्टीगतगत कोटाका आधारमा हुने हुँदा कसले पाउँछ भन्नेमा अहिले निश्चित भइसकेको छैन । यद्यपी चार जना आंकक्षी शक्ति केन्द्रकहाँ धाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?