
४ फागुन, विराटनगर । सन्तनेता तथा पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको नाममा निजी जग्गामा बनिरहेको भवनका लागि तीन तहका सरकारले साढे तीन करोड रुपैयाँ भुक्तानी गरेका छन् ।
विराटनगर महानगरपालिका-४ इक्राहीमा सन्तनेता कृष्णप्रसाद भट्टराई फाउण्डेशन फाउण्डेशनले निजी जग्गामा बनाइरहेको भवनमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले ३ करोड ४९ लाख ४६ हजार ५५१ रुपैयाँ खर्च गरेको हो ।
सरकारी बजेटमा संरचना निर्माण गर्दा जग्गा सम्बन्धित संस्थाकै नाममा हुनुपर्छ । भवनको नक्सा पास पनि हुनुपर्छ । तर सन्तनेताको नाममा बनिरहेको भवन व्यक्तिको नामको जग्गामा छ, भवनको नक्सा पनि पास भएको छैन ।
सात तल्ले भवन बनिरहेको जग्गा रिजाल थरका एक व्यक्तिको नाममा छ । उक्त जग्गाको अधिकृत वारेसनामा राजेन्द्र खनालले लिएका छन् । सन्त नेताको नाममा निर्माण भइरहेको भवनले करिब तीन कट्ठा निजी जग्गा ओगटेको छ ।
विराटनगर महानगरपालिकाको घर नक्सा शाखाका प्रमुख गोपाल पोखरेलले भने उक्त भवनको नक्सा पासका लागि निवेदन नआएको बताए। उनले भने, ‘किसुनजीको नाममा बन्ने भवनका लागि जग्गाको नक्सा पासका लागि कुनै पनि आवेदन आएको छैन। कानुनत भवन निर्माण गर्नुअघि नक्सा पास गर्नुपर्छ ।’
भवन निर्माणका लागि ६ कट्टा ऐलानी जग्गा विराटनगर महानगरपालिकाले दिएको छ । तर, प्रतिष्ठानले महानगरले दिएको जग्गामा भवन बनाएन्, सँगै रहेको ४२५ कित्ता नम्बरको निजी जग्गामा भवन निर्माण गर्यो। ४२५ कित्ता नम्बरको निजी जग्गा ७ कट्ठा ४ धुर छ ।
तर, भवन निर्माण सुरु गर्दा प्रतिष्ठानका अध्यक्ष तथा पूर्व राष्ट्रियसभा सदस्य रमेशजङ्ग रायमाझीले भने जग्गा खरिद गरिसकेकोले अब नक्साको काम मात्रै बाँकी रहेको बताए । उनले भने, ‘ जसको जग्गा खरिद गरेका छौं, उहाँको केही पैसा मात्रै बाँकी छ। बाँकी सबै तिरिसकेका छौं। अब नक्साको काम बाँकी छ। हामी त्यो काम पनि चाँडै नगरपालिकामा गएर गरछौं।’ उनले आफूले गरेको राम्रो काम अरूले देख्न र सहन नसकेकाले झुट्टा आरोपहरू लगाउनेहरूसँग नडराउने बताए ।
प्रतिष्ठानले भवन निर्माणका लागि सात करोड खर्च भएको बताएको छ । सूचनाको हकका अभियन्ता योगराज दाहालले सूचनाको हक प्रयोग गरी विराटनगर महानरगपालिकासँग माग गरेको विवरणमा आर्थिक वर्ष २०७८/७९ देखि २०८०/०८१ सम्म तीन तहको सरकारले ३ कारोड ४९ लाख ४६ हजार ५५१ भुक्तानी गरेको देखिन्छ । यो भुक्तानी गर्दा विराटनगर महानगरपालिकाले भवन कहाँ निर्माण भइरहेको छ भन्ने खोजी गरेन ।
अभियान्ता दाहालले भवन निर्माण भइरहेको जग्गाको विषयमा मोरङ जिल्ला भूमिसुधार तथा मालपोत कार्यालयमा तत्कालीन अमाही इक्राही वडा नं। १/क को कित्ता नम्बर ४२५ र ४२४ को जग्गाबारे विवरण माग गरेका थिए । मालपोत कार्यालयले दिएको जवाफमा सो कित्ता नम्बरको जग्गा निजी तथा व्यक्तिगत भएको उल्लेख छ ।
‘भवन बनिरहेको जग्गा निजी हो,’ उनले भने, ‘सुरु मै पास गर्ने कुरा थियो, तर भएको छैन।’ भवन निर्माण सम्पन्न हुँदा १५ करोड लागत पुग्ने अनुमान छ ।
प्रतिष्ठान अध्यक्ष रायमाझीका अनुसार नयाँ पुस्तालाई कृष्णप्रसाद भट्टराईको योगदान पढाउने उद्देश्यले भवन निर्माण गरिएको हो ।
भवनमा हल, म्युजियम र गेष्टहाउस रहनेछन् । सुरुमा टेक्निकल कलेज सञ्चालन गर्ने योजना थियो। तर, विद्यार्थी नहुने भएका कारण प्रतिष्ठान निर्माण गरिएको हो । यो भवन २०८२ को फागुनमा उद्घाटन गर्ने तयारी छ ।
प्रतिक्रिया 4