+
+
Shares

किशुनजी यसरी भएका थिए जननिर्वाचित प्रधानमन्त्री

बिहान १० देखि ४ बजेसम्म दुई शीर्ष र युवा नेताहरुका बीचमा सामूहिक छलफल भयो । त्यसपछि भट्टराई र कोइरालालाई एउटा कोठामा बन्द गरेर युवाहरु खानपिन तिर लागे । आधा घण्टा एकान्तमा बसेपछि कोइराला र भट्टराई दुवै जना कोठाबाट बाहिर आएर भने ‘हाम्रो कुरा मिल्यो ।’

डा. जगत नेपाल डा. जगत नेपाल
२०८२ माघ १० गते २०:५७

नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराई (किशुनजी) उठे जति सबै (२०१५, २०४८ र २०५० को उपनिर्वाचन) आम निर्वाचनमा पराजित भएका थिए ।

२०४६ सालको जनआन्दोलनपछि अन्तरिम सरकारको प्रधानमन्त्रीका हैसियतमा एक वर्षभित्र संविधान बनाएर आम निर्वाचन गराएका उनी आफैं भने काठमाडौं-१ मा नेकपा एमालेका महासचिव मदनकुमार भण्डारीसँग पराजित भएका थिए ।

भण्डारीको निधनपछि २०५० सालमा भएको उपचुनावमा उम्मेद्ववार बनेका उनी विद्या भण्डारी (मदन पत्नी) सँग पराजित भए ।

मुलुकमा भएको पहिलो (२०१५) संसदीय निर्वाचनमा भट्टराई गोर्खाबाट पराजित भएका थिए । उपचुनावमा भने आफ्नै सहयात्री प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको समूहले अन्तर्घात गरेका कारण उनी हारे भन्ने आम बुझाइ थियो ।

त्यही कारण भट्टराई र कोइरालाबीच चरम अविश्वासको अवस्था थियो । ती दिन पटक-पटक चुनाव हारेका भए पनि निष्ठा, आदर्श र सिद्धान्तका लागि जीवन अर्पण गरेका निष्कलंक छविका भट्टराई बाहेक जनता माझ प्रधानमन्त्रीको उम्मेद्धवार घोषणा गरेर जान सक्ने अर्को उपयुक्त विकल्प थिएन ।

२०५१ को मध्यावधि निर्वाचनपछि संसदीय व्यवस्था बदनाम भएको थियो र जनतामा नेताहरूको राम्रो छवि थिएन । त्यो अवस्थामा निर्वाचन जित्ने कुरा कांग्रेसका लागि सर्वाधिक चुनौतीको विषय थियो ।

सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको कार्यशैली प्रति भट्टराईको विश्वास थिएन । एक व्यक्ति एक पदको सिद्वान्तका आधारमा सभापति र संसदीय दलको नेतामध्ये एक पद छोड्न र युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्न उनले कोइरालालाई आग्रह गरेका थिए ।

ती दिनको स्मरण गर्दै कांग्रेस नेता महेश आचार्यले लेखकसँग भने ‘यस्तैमा एक दिन गिरिजाबाबुले चक्रजी र मलाई बोलाएर किसुनजीलाई सम्झाउने जिम्मेवारी दिनुभयो । हामी पनि गिरिजावावुलाई सम्झाई रहेका थियौं पार्टीलाई पुरानै अवस्थामा फर्काउने तपाईंको एजेण्डा हो भने किसुनजीलाई साथमा लैजानु पर्छ । गिरिजाबावु चिन्तित हुनुभयो र भन्नुभयो जाउ कुरा गर । किसुनजीले सुन्नुहुन्छ । अनि चक्रजीले अग्रसरता लिनु भयो ।’

लामो गृहकार्यपछि चक्रले भट्टराईलाई प्रधानमन्त्री बनाएर गएमात्र कांग्रेसको आन्तरिक विवाद समाधान हुने र पार्टीले बहुमत ल्याउन सक्ने आफ्नो निष्कर्ष कोइरालालाई सुनाए ।

यस प्रसंगका कांग्रेस झापाका नेता डिल्ली सिटौलाले लेखकलाई सुनाए ‘हामीसँग कुरा हुँदा भन्नुहुन्थ्यो दुईवटा बुढालाई मिलाएर किसुनजीलाई भावी प्रधानमन्त्री घोषणा गरी चुनावमा जाने हो भने मात्र कांग्रेसलाई जनताले साथ दिन्छन् । हामीले सोध्यौं, यस कुरामा गिरिजाबावुलाई मनाउन सक्नु हुन्छ त ? चक्रजीले विश्वासका साथ भन्नु भएको थियो । म सक्छु । त्यो तहको विश्वास थियो ।’

२०५४ मंसिर अन्तिम साताको कुरा हो । एक दिन चक्र एक्लै भट्टराई निवास पुगे ।

चक्र : ‘किशुनजी गिरिजाबावुले एक्लै भेट्न चाहनु भयो भने तपाईं तयार हुनुहुन्छ । म भेटघाटको कार्यक्रम मिलाउँ । यस बारेमा तपाईं र म बाहेक अरूलाई अहिले थाहा हुँदैन । भेटघाटको समयमा अरू केहीलाई थाहा हुन्छ ।’

भट्टराई : ए चक्रजी, गिरिजाबाबुलाई भेटेर के गर्ने ?

चक्र : हैन, तपाईंहरू बिचको संवादहीनताले पार्टी झन्-झन् कमजोर भएको छ । कहीं न कहीं त मिलन विन्दु खोज्नु पर्‍यो । संवादमा नआई त भएन किसुनजी ।

भट्टराई : ठिक छ । कुरा गर्नुस्

भट्टराई निवासबाट सिधै सभापति कोइरालालाई भेट्न महाराजगञ्जतिर लागे । उनीसँग पनि त्यही प्रस्ताव राखे ।

चक्र : गिरिजाबावु किसुनजीसँग एक्लै बस्न तयार हुनुहुन्छ । म समय र स्थान तय गरौं ।

गिरिजा : हुन्छ चक्रजी । चाँजोपाजो मिलाउनुस् ।

दुवै नेताको सहमति पाएपछि उत्साहित भेटघाटका लागि गोप्य स्थलको खोजी गर्न थाले । ‘आउट अफ द बक्स’ मा गएर समस्याको हल खोज्ने चक्रको बानी नै हो । केही न केही काम गरि रहनु पर्ने । चुप लागेर बस्नै नसक्ने ।

२०६३ साल पुसको पहिलो साता खुमलटारस्थित निवासमा चक्रले लेखकलाई सुनाएका थिए ‘बुढाहरूलाई जसरी पनि मिलाउनु पर्‍यो भनेर म लागि परेको थिएँ । यही क्रममा पुराना मित्र श्रीधर आचार्यलाई सम्झिए । आचार्यको ‘गोदावरी रिसोर्ट’ भर्खरै बन्ने क्रममा थियो ।’

चक्र : श्रीधरजी, किशुनजी र गिरिजाबावुलाई एकान्तमा भेटाउनु पर्ने, तपाईंको रिसोर्टमा मिल्ला ?

श्रीधर : ओ हो, चक्रजी यस्तो शुभकामका लागि पनि नमिल्ने भन्ने कुरा हुन्छ र । ल भन्नुस् कहिले गर्ने । म सबै व्यवस्था गर्छु ।

स्थान तय भइहाल्यो । नेताद्वयको भेटभाट गोप्य राख्ने, प्रेसलाई सुइँकोसम्म नदिने सहमति बन्यो । तर नेपाली राजनीतिका दुई शीर्ष नेता र पूर्व प्रधानमन्त्रीको भेटलाई गोप्य राख्ने काम चुनौतीपूर्ण थियो ।

२०५४ साल पुस ३ गते बिहान काठमाडौंको तापक्रम शून्य नजिक थियो । मुटु कमाउने चिसोकाबीच चक्रले दौडधुप र सक्रियता बढाए । सबैभन्दा पहिला उनले कोइराला र भट्टराई निवासको टेलिफोन सम्पर्क विच्छेद गरे । अनि कोइरालालाई आफैं रिसोर्ट पुर्‍याए । भट्टराईलाई पनि त्यसै गरी पुर्‍याउने व्यवस्था गरे । दुवै नेतालाई घरबाट हिँड्ने बेलासम्म पनि आफूहरु कुन ठाउँमा बस्दैछौं भन्ने कुराको पूर्व जानकारी थिएन । सूचना बाहिरिन सक्ने डरले, त्यो तहको गोप्यता कायम गरिएको थियो ।

शीर्ष नेता बीच हुने सहमतिको साक्षीका रूपमा सभामुख रामचन्द्र पौडेल, महामन्त्री तारानाथ रानाभाट, खुमबहादुर खड्का र महेश आचार्यसहित केही नेता आमन्त्रित थिए ।

बिहान १० देखि ४ बजेसम्म दुई शीर्ष र युवा नेताहरुका बीचमा सामूहिक छलफल भयो । त्यसपछि भट्टराई र कोइरालालाई एउटा कोठामा बन्द गरेर युवाहरु खानपिन तिर लागे । आधा घण्टा एकान्तमा बसेपछि कोइराला र भट्टराई दुवै जना कोठाबाट बाहिर आएर भने ‘हाम्रो कुरा मिल्यो ।’ बुढाहरूको झगडाबाट आजित युवाहरुमा खुसीको सीमा रहेन । मिल्यौं भनेका नेताले आफूहरू बीच के सहमति भयो । खुलाएनन् ।

तर रामचन्द्र पौडेलसहित उपस्थित नेताले त्यति बेलाको वातावरण अनुसार सहमतिका ८ बुँदा तयार गरे । त्यसमा दुवै नेताको हस्ताक्षर थिएन । युवाहरुले हस्ताक्षर गरे, जसलाई कांग्रेसको इतिहासमा गोदावरी सम्झौता नामले चिनिन्छ ।

चक्रले लेखकलाई सुनाए ‘खासमा गिरिजाबावु र किसुनजीका बीचमा के कुरा भयो हामीलाई थाहै भएन । आधा घण्टाको बिचमा दुवैले एक-एक वोतल बियर खाएको चाहिँ सत्य हो ।’ त्यसपछिका दिनमा सबै जसो मञ्चमा कांग्रेसीहरू नेताबीच गोदावरी सम्झौताको मर्म र भावना अनुरुप पार्टीमा भावनात्मक एकता भएको अभिव्यक्ति दिने होडबाजी चल्न थाल्यो ।

सहमतिको चुरो के थियो, भन्ने कुरा लामो समयसम्म गोप्य राखियो । सम्झौता के थियो त ? चक्रले लेखकलाई सुनाए ‘गिरिजाबावुको नेतृत्वमा चुनावमा जाने र भट्टराईलाई निर्वाचित प्रधानमन्त्री बनाउने’ नै गोदावरी सम्झौता हो । सम्झौताको अर्को बुँदा हो ‘शेरबहादुर देउवाले संसदीय दलको नेता छोड्ने, कोइरालालाई बनाउने, कोइराला प्रधानमन्त्री हुने, एमालेसँग मिलेर चुनावी सरकार बनाउने, उठे जति तीन (२०१५, २०४८ र २०५०) वटै संसदीय चुनाव हारेका भट्टराईलाई जित सुनिश्चित भएको क्षेत्रबाट उठाउने र निर्वाचित प्रधानमन्त्री बनाउने ।’

अनि बने भट्टराई प्रधानमन्त्री

२०५५ पुसको कुरा हो । ‘नेकपा मालेका मन्त्रीहरु सामूहिक राजीनामा दिई कोइराला सरकारबाट बाहिरिए । अनि कांग्रेस र एमालेबीच प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनमा गर्ने सम्झौतासहित नयाँ गठबन्धन सरकार वन्यो (थापा, २०६९:७८)।’ तर चुनाव घोषणा भइसकेको थिएन । ती दिन कांग्रेस नेताहरुको एउटै चिन्ता थियो, पार्टीलाई कसरी बहुमतमा पुर्‍याउने भन्ने । प्रधानमन्त्री कोइराला र चक्र यही विषयमा छलफल गर्दै थिए ।

कोइराला : ‘यार चक्रजी जसरी पनि चुनाव जित्नु पर्छ । के गर्ने हो ।’

चक्र : ‘हुन्छ गिरिजाबावु म विचार गरेर केही दिनपछि जवाफ दिन्छु ।’

नेताहरुकै विग्रहले मुलुक मध्यावधिमा गएको थियो र कांग्रेस हार्नुको कारण पनि कांग्रेस नै थियो । ‘छत्तिसे र चौहत्तरेको विभाजन, नेताबीच झगडा थियो कार्यकर्ताको होइन । नेताहरु जित्ने भन्दा पनि एकले अर्कालाई हराउने होडमा थिए (थापा, २०६९:१३७)।’

त्यसैको परिणाम पार्टी हारेको मात्र होइन, त्रिशंकु संसद्मा भएका असंसदीय खेलले प्रजातान्त्रिक व्यवस्था नै बद्नाम भएको थियो । छ महिनामा सरकार परिवर्तन हुनु, सांसदलाई भन्सार छुटमा पजेरो प्राडो जस्ता विलासी मोटर दिनु, सांसदहरुको किनबेच हुनु, सांसदहरूलाई होटलमा थुन्नु, अश्लिल सिनेमा देखाउनु, सांसदहरुलाई सुरा सुन्दरीको व्यवस्था गर्नु जस्ता क्रियाकलापले संसदीय व्यवस्था र नेताहरुको बदनाम भएको थियो । त्यही सेरोफेरोमा कोइराला र चक्रबीच फेरि कुरा भयो ।

चक्र : गिरिजाबावु, तपाईंले भावी प्रधानमन्त्रीका रूपमा किसुनजीको नाम प्रस्ताव गर्नु भयो भने चुनाव जित्न सकिन्छ ।

कोइराला : कसरी ?

चक्र : ‘हेर्नुस्, मतदाताको विकल्प छैन । विभाजित मानसिकता लिएर चुनावमा जाँदा जित्न सम्भव छैन । फेरि तपाईंहरूले फुटेको र जुटेको नाटक खुब गरिसक्नु भएको छ । एउटै मञ्चमा पुग्दा दुवै जना हाँसेको नाटक गर्नुहुन्छ । फेरि झगडा गरिहाल्नु हुन्छ । त्यसले पनि साँच्चै एक भएको सन्देश दिन जरूरी छ । तपाईंले किसुनजीलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्नु उत्तम हुने छ । किशुनजीसँग कुरा गर्नुस् ।’

कोइराला : हुन्छ चक्रजी । एकपटक तपाईं कुरा बुझ्नुस् न । किशुनजीको के भनाइ छ ।

भोलि पल्टै चक्र, डा. रामशरण महतका साथ कोइरालाको सन्देश लिएर भट्टराईलाई भेट्न खुमलटार स्थित निवास पुगे ।

डा. महतलाई लिएर किन आएकोमा भन्दै सुरुमा भट्टराईले आपत्ति जनाए । महतलाई भेट्नै मानेनन् । अनि चक्रले एक्लैमा केहीबेर कुरा गरे ।

चक्र : किशुनजी, गिरिजाबावुले तपाईंलाई केही भन्नु भएको छ ?

भट्टराई : मलाई भावी प्रधानमन्त्री बनाउने त भन्नुहुन्छ । तर उहाँको कुरामा कसरी विश्वास गर्ने ? मलाई एक्लैमा भनेर के हुन्छ र ?

चक्र : त्यसका लागि साथीहरूलाई राखेर कुरा गर्नुपर्छ । कमिट गराउनु पर्छ ।

भट्टराई : हामीबीच अविश्वासको खाडल छ । गिरिजाबावुको कुरामा कसरी विश्वास गर्ने ?

भट्टराईसँग भेटे पछि चक्र सिधै वालुवाटारतिर हानिए ।

चक्र : गिरिजाबावु किशुनजीसँग कुरा भयो । तपाईंले एक्लैमा भनेको उहाँलाई विश्वास भएन । सार्वजनिक रूपमा घोषणा गर्नु पर्‍यो ।

कोइराला : हुन्छ । सार्वजनिक कार्यक्रममा किशुनजी कांग्रेसका तर्फबाट भावी प्रधानमन्त्रीको क्यान्डिडेट हो भन्न मलाई कुनै आपत्ति छैन । तर कहाँ कहिले भन्दा राम्रो होला ?

चक्र : ठिक छ, उपयुक्त समयमा । उपयुक्त प्लेटफर्ममा भन्दा हुन्छ ।

यस सन्दर्भमा कोइराला निकट कांग्रेस नेता महेश अचार्यले लेखकलाई सुनाए ‘चक्रजी र म गिरिजाबावुलाई भन्थ्यौं पार्टी मिलाउने र माओवादी द्वन्द्व समाधान गर्ने काममा तपाईं अघि नसरी हुँदैन । भारत, चीन वा अमेरिकाबाट आएर यो समस्याको हल गर्ने त होइन । राजा अघि सर्दा राम्रो देखिँदैन ।’ एकातिर किसुनजीको नेतृत्वमा चुनावमा जाने गृहकार्य अघि हुँदै थियो । अर्कोतिर ‘चक्र, महेश, नरहरि लगायतको टिमले चुनावी घोषणा पत्र लेख्ने काम गरिरहेको थियो । यस्तैमा एक दिन बिहानै युवा नेताहरूलाई साथमा लिएर भट्टराई निवास पुगेका चक्रले भने ‘किसुनजी । गिरिजाबाबुले हामीहरूलाई वचन दिनु भएको छ । चुनावमा एक भएर लाग्नु पर्‍यो ।’ कोइरालाबाट बारम्बार धोका भएको भन्दै भट्टराईले सर्त राखे ‘साँच्चै मलाई भावी प्रधानमन्त्री बनाउने गिरिजाबावुको सोचाई हो भने उहाँले चुनाव लड्नु हुँदैन तपाईंहरू गिरिजाबावुलाई यो कुरामा सहमत गराउन सक्नुहुन्छ ?’

चक्रले भने ‘किशुनजी, गिरिजाबावुले सामूहिक रुपमा वाचा गरिसक्नु भएको छ । अब धोका दिन गाह्रो हुन्छ । यस्तो अवस्थामा तपाईं चुनाव लड्नु हुन्न भन्नु उचित हुँदैन । उहाँ चुनाव नलड्ने हो भने पनि पार्टीले जित्न गह्रो हुन्छ ।’

भट्टराईले प्रस्ताव राखे ‘त्यसो भए साथीहरूबीच गिरिजाबवुलाई कमिट गराउनु पर्‍यो । नत्र उहाँको भर हुँदैन ।’ युवा नेताको समूह फेरि कोइराला कहाँ पुग्यो ‘गिरिजाबावु किसुनजीलाई तपाईंले विश्वास दिलाउनु पर्‍यो । किसुनजी अझै विश्वस्त नभएको पायौं हामीले ।’ युवा नेताहरूले भने ‘तपाईंले किसुनजीलाई प्रस्ताव गर्दा पार्टीमा भावनात्मक एकता देखिन थालेको छ । फेरि किसुनजीको स्वास्थ्य पनि ठिक छैन । बढीमा एक डेढ वर्ष उहाँ हुने हो, चुनाव हुने समयमा तपाईं आफैं प्रधानमन्त्री भए हुन्छ । हामी पनि किशुनजीलाई कनभिन्स गरौंला । त्यति बेलासम्म पार्टी संगठन पनि बलियो भइसक्ने छ ।’

कोइरालाले सहमति जनाउँदै भने ‘किसुनजीसँग तपाईंहरु गएर कुरा गर्नुस् । मबाट धोका हुन्न ।’त्यसको केही दिन पछि चक्रले युवा नेताहरुलाई साक्षी राखेर दुई शीर्षको भेट गराए ।

कोइराला : किशुनजी, यतिका साथीहरुको बीचमा भनिसकेँ । म बोलेको कुराबाट पछि हट्दिनँ ।

भट्टराई : (केही बोलेनन् मुसुमुसु हाँसिरहे) ।

युवाहरू खुसी साट्न थाले । नेता मिले भने चुनावी परिणाम पार्टीको पक्षमा आउँछ भनेर । केही दिन पछिको कुरा हो । प्रधानमन्त्री निवास वालुवाटारमा कांग्रेस संसदीय दलको बैठक बसिरहेको थियो । कोइरालाले भट्टराईलाई देखाउँदै भने ‘साथीहरू अब हाम्रो पार्टीका तर्फबाट किसुनजी भावी प्रधानमन्त्री हुनुहुने छ ।’

तल तालीको गडगडाहट शुरु भयो । लगत्तै उपप्रधानमन्त्री रामचन्द्र पौडेलले भने ‘वरिष्ठ नेता भट्टराईलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेर प्रधानमन्त्री कोइरालाले त्यागको नमुना देखाउनु भएको छ ।’

चुनावको मुखमा कांग्रेसको विवाद अन्त्य भयो । पुस १८ गते कान्तिपुर दैनिकलाई दिएको अन्तर्वार्तामा भट्टराईले भने ‘म एक पटक निर्वाचित प्रधानमन्त्री हुन चाहन्छु । निर्वाचन पूर्व नै प्रधानमन्त्री कोइरालाले मलाई भावी प्रधानमन्त्री मनोनीत गर्नु भएको छ ।’

त्यतिञ्जेल कोइराला चुनावी दौडाहामा लागिसकेका थिए । जनकपुरको बार्‍ह बिगाहमा आयोजित पहिलो आमसभामा उनले भनिदिए ‘नेपाली कांग्रेसका तर्फबाट अबको प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई हुनुहुने छ ।’ कोइरालालाई रिझाउन भट्टराईले भने ‘गिरिजावावु दक्षिण एशिया कै महान नेता हुनुहुन्छ ।’

चुनावमा कोइरालाको सक्रियताले धेरैलाई चकित बनायो । वृद्व र जीर्ण शरीर लिएर एकै दिनमा उनले १३ वटासम्म आमसभालाई सम्बोधन गरे । यसरी उठेजति तीन वटै संसदीय चुनाव (२०१५, २०४८, २०५०) मा हारेका भट्टराई राजनीतिक जिवनकालमा पहिलो र अन्तिम पटक पर्साबाट विजयी भए ।

प्रतिनिधिसभाका २०५ मध्ये १११ सिटमा जितेर कांग्रेसले स्पष्ट वहुमत पायो । भट्टराईले ‘पर्सा क्षेत्र नं १ बाट २४ हजार २ सय ९९ मत पाए भने उनका प्रतिद्वन्द्वी चिरञ्जीवीप्रसाद उपाध्याय १३ हजार १ सय ९३ ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
डा. जगत नेपाल

नेपाल लेखक तथा उपप्राध्यापक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?