 
																			६ फागुन, बुटवल । नेकपा एमाले रुपन्देहीमा जिल्ला कमिटीमा मनोनीत गर्ने सदस्यको विषयलाई लिएर विवाद भएको छ । अध्यक्ष र इन्चार्जले जिल्ला सदस्य मनोनयमा मनोमानी गरेको असन्तुष्ट पक्षको आरोप छ ।
मंगलबार रुपन्देही व्यापार संघको हलमा बसेको एमाले जिल्ला कमिटी रुपन्देहीको दोस्रो पूर्ण बैठकमा जिल्ला अध्यक्ष यज्ञ गैरेले सदस्य मनोनयनको प्रस्ताव गर्नासाथ तिलोत्तमा नगरबाट जिल्ला कमिटीमा प्रतिनिधित्व गरेका सदस्यहरूले आपत्ति जनाउँदै विरोध गरेका थिए ।
उनीहरूले तिलोत्तमा नगर अधिवेशनमा भएको भद्र सहमति जिल्ला नेतृत्वले उल्लंघन गरेको भन्दै बैठक बहिष्कार गर्दै हलबाट बाहिरिएका थिए ।
बैठक छाडेर बाहिरिनेमा जिल्ला कमिटी सदस्यहरू झविन्द्र भण्डारी, लक्ष्मी गजमेर, मीना भण्डारी, गणेश न्यौपाने, तुलसीरानी थारू, तेजबहादुर गुरुङ, रिताकुमारी चौधरी, क्षितिजा पौडेल, लिला भुसाल र दुर्गाबहादुर आचार्य छन् ।
उनीहरूले बैठक बहिष्कार गरी तिलोत्तमा नगरबाट तामनाथ पाण्डे र नेत्रलाल वनलाई जिल्ला कमिटीमा मनोनीत गर्ने भद्र सहमति उल्लंघन भएको भन्दै हस्ताक्षरसहितको पत्र जिल्ला उपसचिव बाबुराम पन्थीलाई बुझाएका छन् ।
तिलोत्तमा नगर अधिवेशनमा पाण्डे र वन अध्यक्षका आकाङ्क्षी थिए । तर त्यसबेला नेताहरू लिला गिरी, वासुदेव घिमिरे, यज्ञ गैरेले जिल्ला कमिटीमा लैजाने समझदारी गर्दै तामनाथ पाण्डे र नेत्रलाल वनलाई उम्मेदवारी फिर्ता लिन लगाएका थिए ।
‘१० कात्तिकमा जिल्ला इन्चार्ज लिला गिरीको घरमा भेटवार्ता गरेर जिल्ला कमिटीमा मनोनीत गर्ने र भूगोलको उचित जिम्मेवारी दिने भद्र सहमति भएको थियो,’ पाण्डेले भने, ‘त्यतिबेलाको भद्र सहमति पालना नभएकाले हाम्रो विरोध हो, सहमति अनुसार सदस्य मनोनयन गर्नुपर्ने हाम्रो माग छ ।’
तिलोत्तमाका कतिपय असन्तुष्ट नेताले पार्टी जिल्ला इन्चार्ज लिला गिरी र जिल्ला अध्यक्ष यज्ञ गैरेले आफ्नै गृहनगरको व्यवस्थापन गर्न नसकेको भन्दै चर्को असन्तुष्टि जनाएका छन् ।
निवर्तमान नगर उपाध्यक्ष वनले भद्र सहमति पालना नहुँदा समस्या निम्तिएको भन्दै सहमति विपरीत अघि बढ्दा पार्टी कमजोर हुने र कसैको हित नहुने बताए ।
मंगलबारको बैठकले तिलोत्तमा नगरबाट सुरेन्द्र श्री, केशव चौधरी र खेमा न्यौपानेलाई जिल्ला सदस्यमा मनोनीत गरेको छ । कुल २३ जना मनोनीत गरिएकोमा तिलोत्तमाबाट तीनजना परेका हुन् ।
शंकरनगरमा भएको खानेपानीको निर्वाचनको रिसिइबी साँध्न पार्टी जिल्ला अध्यक्षले सदस्य मनोनयमा मनोमानी गरेको असन्तुष्ट पक्षको आरोप छ । मनोनीत हुनेमा सिद्धार्थनगरको अधिवेशनमा अध्यक्ष पदमा पराजित थानेश्वर पाण्डे लगायत छन् ।
नेकपा एमाले रुपन्देहीका उपसचिव बाबुराम पन्थीले वैठकमा सदस्य मनोनयनमा केही सदस्यले आफ्ना धारणा राखेका बताए ।
‘पार्टीमा सबैका एउटै मत हुँदैनन्, फरक-फरक विचार आउनु स्वभाविक हो,’ उनले भने, ‘सचिवालय वैठक बसेर असन्तुष्ट साथीहरूका कुराबारे छलफल र समीक्षा गर्न सकिन्छ ।’
२४ माघमा भएको शंकरनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्ष पदमा पूर्व सहमति विपरीत एमाले जिल्ला अध्यक्ष र तिलोत्तमा नगर अध्यक्ष मिनप्रसाद पोखरेलले नयाँ उम्मेदवार अघि सारेका थिए । तर, बागी उम्मेदवार झविन्द्र भण्डारीले नेकपा एमाले, नेपाली कांग्रेस र जनमुक्ति पार्टीको गठबन्धनलाई फराकिलो मतान्तरले पराजित गरेका थिए ।
भण्डारीलाई अध्यक्षको उम्मेदवार बनाउन चुनाव हुनु एक महिना अघि नै सहमति भएर नगर इन्चार्ज बासुदेव घिमिरे संयोजक रहेको संयन्त्रले पटक-पटक बैठक गरेर अनुमोदन पनि गरेको थियो । तिलोत्तमाको वडा नम्बर १ देखि ४ सम्मका पार्टी वडा इन्चार्ज र र ४ वटै वडाका शाखा कमिटी अध्यक्षहरूले झविन्द्रलाई अध्यक्ष बनाउने निर्णयमा हस्ताक्षर गरेका थिए ।
तर निर्वाचनको केही दिनअघि एमाले नगर अध्यक्ष मिनप्रसाद पोखरेलले रुद्र श्रेष्ठलाई अध्यक्षमा अघि सारेपछि पार्टीभित्र विवाद उत्पन्न भएको थियो । सोही चुनावको इगो साँधेर जिल्ला कमिटी सदस्य मनोनयनमा भद्र सहमतिलाई उल्लंघन गरिएको असन्तुष्ट पक्षको भनाइ छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4