+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

नागार्जुनमा कुकुरलाई तड्पाई-तड्पाई मारियो, ठट्टा गर्दै बनाए भिडियो

सुमित्रा लुइटेल सुमित्रा लुइटेल
२०८१ फागुन ११ गते १६:०३

मान्छेहरू कुन हदसम्म क्रुर बन्नसक्छन् ? नागार्जुन नगरपालिका-६ मा भएको एउटा घटनाले देखाउँछ । घटना गत शुक्रबारको हो। त्यहाँ एउटा सडक कुकुरलाई गाडीले कुल्चियो।

घाइते कुकुर असह्य पीडा र डरले यताउता गर्न थाल्यो। केही समयपछि त्यहाँ केही स्थानीय भेला भए। उनीहरूले सो कुकुर बौलाएको भन्दै लखेट्न थाले। त्यसपछि घाइते कुकुरलाई जालीमा छोपियो।

स्थानीयहरू हातमा लाठो बोकेर भेला भए। जालीमा छोपिएको कुकुरलाई उनीहरूले बेपर्वाह कुट्न थाल्छ। कुकुर रक्ताम्मे हुन्छ। केही समयपछि उक्त कुकुर चलमलाउँछ। आँखा खोल्न खोज्छ। तब त्यो भीडमा भएकामध्ये एकले कुकुरको मुखमा थप प्रहार गर्छन्।

उनीहरूले हाँसीमजाक गर्दै यसरी क्रुरतापूर्वक कुकुर मारेको भिडियो बनाएका छन्। भिडियोमा कसैले भन्छ, ‘बिहान १० बजेदेखि खोजेको, बल्ल भेटियो।’ अर्कोले थप्छ, ‘मिसन सफल भयो।’ एक महिला भन्छिन्, ‘छ्या अब भयो, ब्लड नै ब्लड भयो।’

हेर्दै विचलित बनाउने उक्त भिडियो अहिले सामाजिक सञ्जालमा अपलोड गरिएको छ। पशुप्रेमी एक स्थानीयका अनुसार सो कुकुर मान्छेलाई टोक्ने स्वभावको होइन। त्यो कुकुरबाट रेबिज सर्ने जोखिम पनि थिएन।

‘उसलाई हामीले नै रेबिजविरुद्ध खोप लगाइदिएका थियौँ र बन्ध्याकरण पनि गरिदिएका थियौँ’ उनले भनिन्, ‘त्यो बहुलाएको कुकुर होइन, न त जथाभावी टोक्ने नै।’

नागार्जुन नगरपालिकाको पशु शाखा प्रमुख करण कठायतका अनुसार सो कुकुरले मान्छे टोकेको भनेर स्थानीयले भनेपछि त्यसलाई अवलोकन गरी नियन्त्रणमा राख्ने सल्लाह भएको थियो।

‘त्यसैले कुकुर बहुलाएको हो वा होइन भनी अवलोकन गर्न हामीले जाली दिएर पठाएका थियौं’ उनले भने, ‘तर, त्यसलाई कुटीकुटी मारिएछ। यसबारे हामीलाई कुनै जानकारी नै गराइएन । यदि बहुलाएकै भएपनि हामीले त्यसको उचित व्यवस्थापन गर्ने थियौँ।’

नागार्जुन नगरपालिका वडा नं. ६ का अध्यक्ष देवेन्द्रराज गिरीले भने यसबारे कुनै जानकारी नभएको बताए । ‘वडामा एउटा बहुला कुकुरले धेरै मान्छेलाई र अन्य जनावरलाई पनि टोकेको भन्ने जानकारी पाएको थिएँ’ गिरी भन्छन्, ‘म आफू बिदामा भएको भएर पशु शाखामा खबर गर्नु भनेको थिएँ।’

कुनै पनि कुकुर बहुलाएको प्रमाणित भए वा जथाभावी टोकेको भेटिए सम्बन्धित निकायबाट त्यसलाई नियन्त्रण गर्न सकिने व्यवस्था र सुविधा छ । तर, आफूखुसी कुनै पनि जनवारलाई क्रुरतापूर्वक तड्पाएर मार्न नपाइने अधिवक्ता पदमबहादुर श्रेष्ठ बताउँछन्।

‘बोल्न वा लड्न नसक्ने निरीह प्राणी छ भन्दैमा उनीहरूमाथि यति क्रुर ढंगले खेलबाड गर्ने छुट कसैलाई छैन’ उनी भन्छन्, ‘यो अपराध हो, जसमाथि कानुनी कारबाही हुन्छ।’ यसरी क्रुरतापूर्वक हत्या गर्नेलाई तीन महिनासम्म जेल सजाय हुने उनले सुनाए।

प्राय कुकुरलाई यसरी मारेपछि अनेक दोष लगाएर उम्कने प्रवृत्ति व्यापक रहेको उनी बताउँछन्। ‘सडक कुकुरले यसैपनि कष्टकर जीवन विताइरहेको हुन्छ। न कहिल्यै अघाउँजी खान पाउँछ, न ढुक्कले बस्न नै’ उनी भन्छिन्, ‘उनीहरूलाई नै मान्छेले जथाभावी मारेको पाइन्छ।’

कुनै कारणबिना नै कुकुर मार्ने र त्यसमाथि प्रश्न उठाएमा कुकुरलाई नै दोष दिएर उम्कने प्रवृत्ति रहेको उनको भनाइ छ।

‘कुकुरका लागि लड्ने वा बोल्ने कोही हुँदैन भनेर कुटपिट गर्ने, मार्ने गरिएको छ’ उनी भन्छिन्, ‘किन मारेको भनेर सोध्यो भने बहुलाएको थियो, मान्छे टोकेको थियो भन्ने जवाफ दिइन्छ।’

लेखक
सुमित्रा लुइटेल

अनलाइनखबरकी संवाददाता लुइटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?