+

शहरमा किन बढ्दैछ कुकुरको टोकाइको बिगबिगी ?

२०८१ पुष  ९ गते १९:४६ २०८१ पुष ९ गते १९:४६

कति मान्छेले कुकुरलाई बाँधेर, केज वा खोरमा थुनेर राख्ने गर्छन् । यस्ता कुकुरहरु पनि आक्रामक हुन्छन् । साथै सडक, चोकमा बसेका भोका कुकुरहरुलाई कुटपिट गरेको, तर्साएको छ भने उनीहरुले मान्छेलाई आक्रमण गर्न सक्छन् ।

शहरमा किन बढ्दैछ कुकुरको टोकाइको बिगबिगी ?

काठमाडौं । ‘कुकुरले टोक्यो’ भन्दै रेबिजविरुद्धको सुई लगाउन आउनेहरुको पंक्ति बढेको छ । एक घाइते भन्दै थिए- ‘घरमा आगो तापेर यसै बसिरहेको बेला कतैबाट कुकुर आएर टोक्यो ।’ उनको चिउँडोमा कुकुरले टोकेको घाउ थियो ।

बल्खु क्षेत्रमा सोही दिन अरु ६-७ जनालाई कुकुरले टोकेको उनले बताए । सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग उनी भन्दैथिए- ‘त्यो कुकुर आक्रमक र बिरामी जस्तो देखिन्थ्यो ।’

त्यस्तै संतुगलकी एक महिला कुकुरले टोकेपछि रेबिज विरुद्धको खोप लिन टेकु आइपुगिन् । उनले संतुगल क्षेत्रमा सोमबार मात्रै १० जनालाई र आइतबार ६ जना बालबालिकालाई कुकुरले टोकेको सुनाइन् । केही दिनदेखि नख्खु, कीर्तिपुर-बल्खु, हरिसिद्धि लगायत क्षेत्रबाट कुकुरले टोकेर रेबिज विरुद्धको खोप लगाउन अस्पताल आइपुगेको डा. पुन बताउँछन् ।

पछिल्ला दिनमा रेबिजविरुद्धको खोप लगाउने संख्यामा निकै वृद्धि भएको अस्पताल प्रशासनको तथ्यांकले देखाएको छ । ‘हप्ता दिन अगाडिसम्म दैनिक जनावरको टोकाइबाट औसतमा १०० जना अस्पताल आउने गरेकोमा हाल १८० सम्म पुगेका छन्,’ डा. पुनले भने ।

‘सबैभन्दा बढी कुकुरको टोकाइबाट आउने गरेपनि पछिल्लो समय बिरालोले समेत टोकेर-चिथोरेर घाइतेहरु खोप लगाउन आउनेहरुको क्रम बढ्दो छ,’ डा. पुनले भने, ‘त्यसबाहेक मुसा-छुचुन्द्रो, स्याल जस्ता जनावरले टोकेर आउँछन् ।’

घरपालुवा कुकुरबाट सतर्क रहनुपर्छ

संक्रमितको संख्या बढ्दै जाँदा सरकारको सन् २०३० सम्म मुलुकबाट रेबिज उन्मूलन गर्ने लक्ष्य पूरा हुने सम्भावना न्यून बन्दै गएको छ । सरकारी लक्ष्यअनुसार रेबिज संक्रमित बिरामीको संख्या क्रमशः घट्नुपर्ने हो तर संक्रमितको संख्या बढ्दै गएको अस्पतालको तथ्यांकले देखाउँछ ।

सरकारले एन्टी-रेबिज खोप निःशुल्क वितरण गर्दै आएको छ । तर अधिकांश बिरामीलाई रेबिजविरुद्धको खोप निःशुल्क पाइन्छ भन्ने जानकारी समेत चिकित्सक बताउँछन् । सरकारी लक्ष्यलाई चुनौती दिंदै रेबिजका बिरामी देखिने क्रम बढ्दै गएको चिकित्सकहरू बताउँछन् ।

पछिल्लो समय घरमा पनि कुकुर पाल्ने चलन बढ्दै गर्दा सोही घरपालुवा कुकुरको टोकाइपछि खोप लगाउन आउनेको संख्या पनि बढिरहेको छ । डा. पुनका अनुसार अस्पतालमा रेबिजको सुई लगाउन आएका मानिसको सोधखोज गर्दा कतिपयलाई घरमै पालेको कुकुरले टोक्ने गरेको पाइएको छ ।

‘अधिकांश मानिस कुकुरले टोकेपछि निजी क्लिनिकमा टिटानसको सुई लगाएर म ढुक्क छु भन्ने गरेका छन्,’ डा. पुनले भने, ‘तर त्यस्ता व्यक्तिमा दुई-तीन महिनापछि रेबिजका लक्षण देखिएका छन् ।’

डा. शेरबहादुर पुन

चिकित्सकका अनुसार रेबिज भयावह बन्दै गएको छ । टेकु अस्पतालका मात्रै रेबिजले वर्षेनी ३० देखि ३५ जनाको मृत्यु हुने गरेको तथ्यांक छ ।

‘रेबिजलाई धेरै वास्ता गरेको देखिंदैन । हामीसँग अस्पतालमा आइपुगेकाहरूको तथ्यांक हुन्छ । तर अभिलेखमै नआई धेरै मरेका हुन सक्छन्,’ डा. पुन भन्छन् ।

डा. पुनले थपे, ‘रेबिज रोगबाट थाहा भएपनि खोप लगाउन नआएको वा आनाकानी गर्दा मृत्यु भएका घटना छन् ।’

टेकु अस्पतालका पूर्वनिर्देशक डा. सागर राजभण्डारीका अनुसार रेबिजबाट मृत्यु हुनुको प्रमुख कारण स्वास्थ्यकर्मीले राम्रोसँग बुझाउन नसक्नु हो । ‘रेबिज विरुद्धको खोप धेरै अस्पतालमा छैन । निजी अस्पतालमा रकम मात्रै खोज्छन् तर राम्रो परामर्श गर्दैनन्,’ डा. भण्डारी भन्छन्, ‘जनावरले टोकेको मानिसलाई राम्रो सल्लाह दिएको भए यो अवस्था आउने थिएन । जनावरले टोक्दा अनिवार्य रुपमा खोप लागाउनैपर्ने हुन्छ ।’

त्यसैले टिटानसको सुई लगाएर म ढुक्क भएँ भनेर कसैलाई पनि भ्रममा नपर्न उनी आग्रह गर्छन् ।

‘कुकुर घरमा बस्छ, त्यसैले खोप आवश्यक छैन भन्ने गलत सोच पनि मानिसमा पाइन्छ,’ उनी भन्छन्,  ‘घाउ सानो छ । घरमै पालेको कुकुरले टोकेको हो भनेर भ्रममा नपर्नुहोला ।’

घाउ निको भइसक्यो, खोप थप चाहिंदैन भन्ने धारणा पनि पाइने भएकाले उनी सबैलाई गम्भीर बन्न आग्रह गर्छन् । रेबिज संक्रमण भएका जनावरले मानिसलाई टोकेमा त्यस्ता जनावरको र्‍यालबाट रोग सर्न सक्छ ।

रेबिज भाइरस शरीरमा प्रवेश गरेपछि फैलिन ‘केही दिनदेखि महिनौंसम्म’ पनि लाग्न सक्ने चिकित्सक बताउँछन् । रेबिज भाइरस शरीरमा प्रवेश गरेपछि त्यसको विकास भएर संक्रमण हुने समय अरू रोगको तुलनामा अलि लामो हुन्छ । रेबिज लागेर गम्भीर अवस्थामा पुगिसकेपछि मृत्युबाहेक विकल्प छैन ।

‘संक्रमित कुकुर वा अन्य जनावरले टोकेको नौ दिनदेखि तीन महिनासम्ममा लक्षण देखिन्छ,’ डा. पुनले भने, ‘कुकुरले टोक्दैमा तुरुन्तै रेबिज हुन्छ भन्ने हुँदैन । कुकुरको टोकाइको एक वर्षपछि रेबिज भएर मृत्यु भएका घटना पनि छन् ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९३ प्रतिशत कुकुरको टोकाइ र ७ प्रतिशत अन्य जनावर (बाँदर, स्याल, चमेरो)को टोकाइबाट मानिसमा रेबिज लाग्ने गरेको छ ।

वर्षेनी ५० हजारभन्दा बढी मानिस कुकुरको टोकाइको मन्त्रालयको तथ्यांक छ । स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा बढी बालबालिका रेबिजको जोखिममा छन् । ४० प्रतिशत १५ वर्षमुनिका बालबालिकामा रेबिजको समस्या देखिएको मन्त्रालयले जनाएको छ ।

के हो रेबिज ?

रेबिज शतप्रतिशत प्राणघातक रोग हो । त्यसैले यो जनस्वास्थ्यमा ठूलो खतरा र चिन्ताको विषय बनेको छ । यो रोग भाइरस (ह्र्याब्दो परिवारको लिसा भाइरस)बाट हुन्छ । सुरूमा जनावरका र्‍यालमा रहेका भाइरस जनावरको टोकाइबाट घाउमा पुग्छ । यो भाइरस रगत र लिम्फबाट नभई छालामुनिको भित्री तन्तु र मांसपेशी हुँदै परिधीय स्नायु, मेरुदण्ड र अन्त्यमा गिद्दीसम्म पुग्छ ।

रेबिज भाइरसले केन्द्रीय स्नायु प्रणालीमा संक्रमण गर्छ । त्यसैले मानिसमा ‘एकपटक सङ्क्रमण भइसकेपछि’ रेबिजका बिरामीलाई बचाउन नसकिने चिकित्सक बताउँछन् । गिद्दीमा संक्रमण भएपछि मात्र विशेष लक्षण देखिन्छन् । अन्त्यमा, गिद्दीका मसिना स्नायुबाट भाइरस र्‍यालका ग्रन्थी, छाला, आँखाको कोर्निया र अन्य अंगमा पुग्छ । र, यस्ता संक्रमित जनावारले टोक्दा र्‍यालका ग्रन्थीमा भएको भाइरस फेरि अर्को जनावारको शरीरमा प्रवेश गर्छ ।

रेबिजविरुद्धको खोप नेपाल सरकारले निःशुल्क प्रदान गरेपनि त्यसप्रतिको बेवास्ताका कारण रेबिजले नेपालीको ज्यान लिइरहेको डा. राजभण्डारी बताउँछन् ।

खोपलाई लिएर अन्योल

जनावरको टोकाइबाट घाइते हुनेहरुमा खोपको दिने मात्रालाई (डोज) लिएर अन्योल रहेको डा. पुन बताउँछन् । उनका अनुसार फार्मेसी वा अरु निजी स्वास्थ केन्द्र वा अस्पतालमा अहिले पनि रेबिज विरुद्धको खोप पाँचपटक लगाउन सुझाव दिने गरिन्छ, जबकि यस अस्पतालमा (वा सरकारी स्वास्थ केन्द्र वा अस्पतालमा) भने चारपटक मात्र दिने गरिन्छ ।

अझ छालामुनि (इन्ट्रा दर्मल) दिने विधिबाट त तीनपटक मात्र दिने गरिन्छ । छालामुनि (इन्ट्रा दर्मल) दिने विधिबाट एकपटकमा दुवै पाखुरामा दिने गरिन्छ । पहिले कुनै पनि समयमा खोपको मात्रा पूरा (डोज) गरेको भए दुईपटक ( दुई मात्रा) मात्र लगाए पुग्छ ।

‘जटिल वा धेरै ठाउँमा गहिरो घाउ भएको अवस्थामा लगाउने ‘रेबिज इम्युनोग्लोबुलिन’ खोप पनि पहिला कुनै समयमा खोपको मात्रा पूरा गरेका भए आवश्यक पर्दैन,’ डा. पुन भन्छन् ।

जनावरले टोकेको २४ वा ४८ घण्टाभित्र खोप लगाउनुपर्छ भन्ने भ्रम धेरैमा छ । रेबिजविरुद्धको खोप टोकेको जतिसक्दो चाँडो लगाउनुपर्छ । त कुनै कारणले केही दिन ढिला भएको अवस्थामा पनि खोप लगाउन सकिन्छ ।

लक्षण

– हावा र पानीदेखि बिरामी डराउनु रेबिज रोग लागेको सबैभन्दा पहिलो लक्षण हो ।

– जनावरले टोकेको ठाउँमा चिलाएको अनुभव हुनु ।

– झमझम गर्नु ।

– ज्वरो आउने, टाउको र घाँटी दुख्ने

– पानी पिउन असहज महसुस हुने

– उत्तेजित हुने

कुकुरमा देखिने लक्षण 

– जथाभावी टोक्ने

– र्‍याल काढ्ने

– मुखमा फिंज आउने

– पानीदेखि तर्सिने

– अनावश्यक दौडिने, घोक्रे स्वर बनाएर भुकिरहने हुन्छ

‘विशेषगरी रेबिज भएको कुकुर पानीदेखि डराउँछ । मान्छेलाई टोक्दै हिंड्छ,’ डा. पुन भन्छन् ।

जनचेतना आवश्यक

नेपालले सन् २०३० सम्ममा कुकुरबाट मानिसमा सर्ने रेबिजलाई शून्यमा झार्ने प्रतिबद्धता नेपालले जनाएको छ । यसको रोकथाम र नियन्त्रणका लागि प्रभावकारी काम गर्न सकेको देखिंदैन । सरकारले गरेको प्रतिबद्धतालाई जनावरको टोकाइपछि खोप लगाउन नआउने वा आनाकानी गर्ने व्यवहारले चुनौती दिएको चिकित्सक बताउँछन् ।

डा. पुन भन्छन्, ‘कुकुर (वा जनावर)ले टोकेर घाउ सानो देखिंदा केही हुँदैन भनेर खोप नलगाउँदा रेबिज संक्रमित भएका धेरै उदाहरण छन् ।’

रेबिज नियन्त्रणका लागि कुकुरको बन्ध्याकरण तथा रेबिजविरुद्धको भ्याक्सिन नै हो । सबैभन्दा पहिले त मानिसलाई रोगबारे चेतना हुनु आवश्यक छ । जनावरले टोकेको थाहा पाउनासाथ जतिसक्दो छिटो रेबिजको सुई लगाउन आवश्यक छ ।

‘रेबिजको संक्रमण मांसपेशी हुँदै नसामा फैलियो भने यसको कुनै उपचार छैन । त्यसैले खोप नै यो रोग लाग्नबाट बचाउने एक मात्र उपाय हो,’ डा. पुन भन्छन्, ‘कुकुरले हातको नसामा टोकेमा, गहिरो घाउ बनाएमा र घाँटी भन्दा माथि टोकेको छ भने तुरुन्त एमोनोग्लोबिन खोप पनि लगाउनुपर्छ ।’

समुदायमा रहने सबै कुकुर बहुला हुँदैन वा आफूलाई आक्रमण नगरेसम्म जथाभावी टोक्दैन । तर कहिले कहिले शंकास्पद बहुला कुकुरले जथाभावी टोक्दै हिंडेको अवस्थामा त्यस्तो कुकुर वा जनावरको व्यवस्थापनमा द्रुत प्रतिकार्य हुनुपर्छ ।

रेबिज विरुद्धको खोप विगतको तुलनामा हाल सहज र निःशुल्क हुँदा पनि दुई दशक अगाडि भन्दा हाल रेबिज बिरामीको संख्या अझै बढ्दो देखिन्छ । रेबिजको चुनौतीलाई अझै पनि बेवास्ता गर्दा आगामी वर्षमा रोगले थप विकराल रुप नलेला भन्न नसकिने डा. पुन बताउँछन् ।

किन टोक्छ कुकुरले ?

कुकुरले स्वभावतः मान्छेलाई टोक्दैन । मान्छेसँग मिलेर बस्ने प्राणी हो यो । सदियौंदेखि मान्छे र कुकुर एकसाथ बस्दै आएका छन् । यद्यपि बेलाबखत कुकुरले मान्छेलाई आक्रमण गर्दै आएको सुनिन्छ । खासगरी रेबिज संक्रमण भएपछि कुकुरले मान्छेलाई जथाभावी टोक्ने गर्छ । रेबिज आफैंमा घातक संक्रमण हो ।

त्यसबाहेक सामान्य वा घरमा पाल्दै आएको कुकुरले पनि कहिलेकाहीं टोक्न सक्छ । शारीरिक, मानसिक रुपमा स्वस्थ कुकुरले हत्तपत्त मान्छेलाई टोक्दैन । तर यदि मान्छेले कुनै कुकुरलाई यातना दिएको छ, कुटपिट गरेको छ, सताएको छ भने उनीहरुले आत्मरक्षाका लागि मान्छेमाथि आक्रमण गर्न सक्छ ।

कति मान्छेले कुकुरलाई बाँधेर, केज वा खोरमा थुनेर राख्ने गर्छन् । यस्ता कुकुरहरु पनि आक्रमक हुन्छन् । साथै सडक, चोकमा बसेका भोका कुकुरहरुलाई कुटपिट गरेको, तर्साएको छ भने उनीहरुले मान्छेलाई आक्रमण गर्न सक्छन् ।

कुकुरको टोकाइ जनस्वास्थ्य रेबिज
लेखक
पुष्पराज चौलागाईं
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

शहरमा किन बढ्दैछ कुकुरको टोकाइको बिगबिगी ?

शहरमा किन बढ्दैछ कुकुरको टोकाइको बिगबिगी ?

कम्पनीको नाम नतोकी औषधि सिफारिस लागू गराउन स्वास्थ्य मन्त्रालयको तयारी

कम्पनीको नाम नतोकी औषधि सिफारिस लागू गराउन स्वास्थ्य मन्त्रालयको तयारी

लिङ्गको टुप्पोको छाला नखुल्ने समस्या के कारणले हुन्छ ? (भिडियो)

लिङ्गको टुप्पोको छाला नखुल्ने समस्या के कारणले हुन्छ ? (भिडियो)

कस्तो स्वास्थ्य समस्या भएको व्यक्तिले हवाई यात्रा गर्नुहुँदैन ?

कस्तो स्वास्थ्य समस्या भएको व्यक्तिले हवाई यात्रा गर्नुहुँदैन ?

स्वास्थ्यमा सरकारी निर्णयको कार्यान्वयन स्रोत नभएर रोकिंदैन : स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्यमा सरकारी निर्णयको कार्यान्वयन स्रोत नभएर रोकिंदैन : स्वास्थ्यमन्त्री पौडेल

जथाभावी आकस्मिक गर्भनिरोधक औषधिले महिलामा स्वास्थ्य जोखिम

जथाभावी आकस्मिक गर्भनिरोधक औषधिले महिलामा स्वास्थ्य जोखिम