+

लिङ्गको टुप्पोको छाला नखुल्ने समस्या के कारणले हुन्छ ? (भिडियो)

२०८१ पुष  ९ गते १६:१९ २०८१ पुष ९ गते १६:१९
लिङ्गको टुप्पोको छाला नखुल्ने समस्या के कारणले हुन्छ ? (भिडियो)

मूत्ररोग विभागमा प्रत्येक साता फाइमोसिसको समस्या लिएर पाँचदेखि १० जना आउँछन् । यो समस्या लिएर आउने धेरैले भन्ने गर्छन्- ‘यौन सम्बन्ध राख्ने बेलामा असहज हुन्छ । यौनाङ्ग दुखेर मन हुँदाहुँदै पनि यौन सम्बन्ध राख्न सकिंदैन । यो समस्याले यौन जीवन नै धरापमा छ ।’

यस्तो समस्यालाई फाइमोसिस भनिन्छ । वास्तवमा फाइमोसिस कस्तो समस्या हो ? यसले यौन जीवन कसरी धरापमा पारेको छ त ?

लिङ्गको टुप्पोमा एक किसिमको फर्काउन मिल्ने छालाको पत्र जोडिएको हुन्छ । बाल्यकालमा सो छाला लिङ्गको टुप्पोमा टाँसिएकै अवस्थामा रहन्छ । किशोरावस्थामा पुगेपछि आफैं लचिलो भई खुल्छ । कुनै कारणवश निस्किएन र साँघुरो भएर टुप्पोमै टाँसिएर बसेमा त्यसले समस्या गराउन सक्छ, जसलाई फाइमोसिस भनिन्छ ।

फाइमोसिसलाई प्राकृतिक र प्याथोलोजिकल गरी दुई भागमा वर्गीकरण गरिन्छ ।

प्राकृतिक फाइमोसिस

बाल्यकालमा लिङ्गको टुप्पोको छाला कसिलो हुन्छ । उमेर बढ्दै गएपछि सो छाला हर्मोन र शारीरिक परिवर्तनसँगै लचिलो हुँदै जान्छ ।

१५ वर्षको उमेरपछि ९९ प्रतिशतको लिङ्गको टुप्पोको छाला लचिलो भइसकेको वा खुलेको हुन्छ । जुन स्वभाविक हो । तर खुलेन भने त्यसलाई प्राकृतिक फाइमोसिस भएको बुझिन्छ ।

प्याथोलोजिकल फाइमोसिस

उमेर बढेसँगै लिङ्गको टुप्पोको छाला खुलेको थियो । तर कुनै कारणवश घाउ, संक्रमण वा चोटपटकले छाला पुन: कसिलो हुँदै भई फर्काउन नसक्ने अवस्थालाई प्याथोलोजिकल फाइमोसिस भनिन्छ ।

नेपालको सन्दर्भमा कतिको साझा समस्या ?

यो समस्यालाई साझा समस्या मान्न सकिन्छ । अस्पतालको ओपीडीमा सातामा करिब १९ वटा यस्ता केस आउँछ । जसमा किशोर, वयस्कदेखि वृद्ध उमेर समूह पर्छन् । सम्भवतः अस्पतालमा देखिने यी केस जति आउनुपर्ने हो त्यो भन्दा कम आउँछन् ।

कतिपय लाज, सङ्कोच वा समस्या हो भनेर पहिल्याउन नसक्दा पनि अस्पताल आउनेको संख्या कम भएको हुनसक्छ ।

मुस्लिम समुदायमा पहिला नै काटिने चलन

मुस्लिम समुदायमा बच्चा जन्मिने बित्तिकै उनीहरुको लिङ्गको टुप्पोको छाला अनिवार्य फालिदिने चलन छ । यसरी फालेपछि भगवानप्रति विश्वास रहेको प्रमाण हुने मुस्लिम समुदायमा विश्वास छ । तर एक हिसाबले भविष्यमा लिङ्गमा टाँसिने छालाको समस्याले नसताओस् भन्ने हिसाबले स्वच्छताका लागि यस्तो भनिएको पनि हुनसक्छ ।

फाइमोसिसको कारण

जन्मजात फाइमोसिस हु्ने कारणको अझसम्म प्रमाण भेटिएको छैन । पछि हुने प्याथोलोजिकल फाइमोसिस हुनुको कारण भने त्यस ठाउँमा चोटपटक, संक्रमण, घाउले साँघुरिंदै गएर छाला कसिलो भएको हुनसक्छ । ट्युमर वा गाँठागुँठी पलाउने र यौनजन्य संक्रमणले पनि यो समस्या हुनसक्छ ।

यौनाङ्गमा बारम्बार हुने संक्रमण वा सरसफाइको अभाव र मधुमेह भएका व्यक्तिमा यो समस्या धेरै देखिने सम्भावना हुन्छ ।

समस्या भएको कसरी थाहा हुन्छ ?

यो समस्या पहिल्याउन व्यक्तिगत रुपमा जटिल हुनसक्छ । किनकि कतिपय पुरुषलाई यो समस्या हो भन्ने पनि थाहा हुँदैन । जब यौन सम्पर्क गर्ने क्रममा घर्षण हुन नसकेर दुख्ने, पोल्ने, रक्तस्राव हुने र छालामा घाउ हुने भएपछि समस्या भएको थाहा हुनसक्छ । यस्तो समस्याले गर्दा बिस्तारै यौनइच्छामा समेत कमी आउन सक्छ ।

कतिपयलाई युवा उमेरमै त्यस भाग सफा गर्दा वा चलाउँदा दुख्ने र पोल्ने भएमा पहिचान हुनसक्छ ।

लक्षण

लिङ्गको छाला तान्दा तान्न नसकिने, छाला पोल्ने, चिलाउने, यौन इच्छा बढ्ने तर सम्बन्ध राख्न प्रयास गर्दा दुख्ने हु्नसक्छ । पटक-पटक लिङ्गको टुप्पो वरपर संक्रमण हुने समस्या देखिन्छ ।

फाइमोसिसले प्रजनन् क्षमतामा असर पार्छ ?

फाइमोसिसले बाहिरी लिङ्गको आवरणमा मात्र समस्या हुने भएकाले प्रजनन् क्षमतामा प्रत्यक्ष कुनै असर पार्दैन । तर यौन चाहना भएपनि प्रत्येक पटक यौन सम्पर्क गर्न कष्टकर पीडा हुने हुँदा यौन चाहना नै हराएर यौन सम्बन्ध राख्न मन नलाग्ने भई यौन सम्पर्क नै गर्न छाडेमा भने गर्भ बस्ने सम्भावना नहुन सक्छ ।

फाइमोसिसले ल्याउने जटिलता 

– यौन जीवन कष्टकर

– छालामा फोहोरमा हुने संक्रमणले त्यस ठाउँमा घाउ बनाई पिसाबको नली नै छेक्ने गरी छाला टाँसिएको छ भने पिसाब फेर्न पनि समस्या हुनसक्छ ।

– यौनजन्य संक्रमण

फाइमोसिसले मानसिक समस्या

कतिपय फाइमोसिस भएकै कारण मानसिक समस्याको चपेटामा पर्छन । यौनाङ्गमा समस्या देखिए पनि खुलेर भन्न नसकिरहेको अवस्थामा मानिस तनावमा भइरहेको हुनसक्छ ।

यही कारणले यौन सम्बन्ध राख्दा आत्मविश्वासको कमी हुने मात्र हैन, यौन साथीसँग सम्बन्ध बिग्रिने समेत अवस्था आउन सक्छ । यस्तो विभिन्न परिस्थितिले व्यक्ति उकुसमुकुसमा परेर बिस्तारै तनाव लिएर डिप्रेसन हुनेसम्मको अवस्था आउन सक्छ ।

उपचार सम्भव छ ?

यसको उपचार सम्भव छ । प्राकृतिक फाइमोसिस भएमा आत्तिहाल्नु पर्दैन । यसका लागि उपचारको आवश्यकता पनि पर्दैन । १५ वर्षमा नखुलेको लिङ्गको टुप्पोको माथिल्लो भागको छाला २० वर्षमा पनि खुल्न सक्छ । आफैं समाधान भएर जान्छ । तर युवावस्थामै त्यस क्षेत्रमा घाउ वा संक्रमण भएमा उपचार आवश्यक हुनसक्छ । जसमा एन्टीबायोटिक औषधि, मलम, लो डोज स्टोरोयड औषधि लगाएर निको पार्न सकिन्छ ।

त्यस्तै, वयस्कमा समस्या छ भने त्यो औषधि र मलम लगाएर समाधान हुँदैन । वयस्क भइसकेको व्यक्तिको लिङ्गको माथिल्लो भागको छाला अत्यधिक चाम्रो र बिग्रिएको हुन्छ । त्यसको एउटै समाधान हो, शल्यक्रिया ।

शल्यक्रिया सामान्य खालको हुन्छ । बेहोस नबनाई बिग्रेको छाला वरपर नै लोकल एनेस्थेसिया दिएर आधा घण्टा जति समयमा काटेर निकालिन्छ । छाला निकाल्ने बेलामा अनावश्यक छाला मात्र शल्यक्रिया गरी झिक्नुपर्छ । जथाभावी धेरै भाग काटिएमा इरेक्सनको समयमा पोल्ने र दुख्ने हुनसक्छ । यो शल्यक्रिया गर्दा दक्ष चिकित्सकबाट गराउनुपर्छ ।

शल्यक्रियापछि के हुन्छ ?

शल्यक्रिया भइसकेपछि उमेरअनुसारको कार्यक्षमतामा सुधार आउँछ । त्यसपछि पिसाब पोल्ने, यौन सम्पर्क गर्दा दुख्ने, पोल्ने हुँदैन ।

एन्टीफङ्गल औषधि लगाउनु गलत अभ्यास

यो समस्या भएका धेरैले यौनाङ्गको टुप्पो चिलाएको खण्डमा एन्टीफङ्गल औषधि प्रयोग गरेको पाइन्छ । तर यो गलत हो । फङ्गल कुनाकाप्चा र काछमा मात्र बढी हुन्छ । यस्तोमा प्रतिरोधात्मक क्षमता बलियो भएका पुरुषमा लिङ्गको टुप्पोमा फङ्गल संक्रमण हुने जोखिम शून्य बराबर नै हुन्छ ।

हचुवाको भरमा एन्टीफङ्गल औषधि प्रयोग गर्दा अन्य स्वास्थ्य समस्याको जोखिम हुन्छ ।

 सरसफाइमा ध्यान

फाइमोसिस भइसकेपछि बिग्रेको छालामुनि बाह्य संक्रमणको जोखिम भई घाउ आउने हुनसक्छ । त्यसैले दैनिक यौनाङ्ग सफा गर्दा पिउनयोग्य सफा र मनतातो पानीले बिहान, दिउँसो र बेलुका धोएर नरम कपडाले पुछ्नुपर्छ । साबुन, स्याम्पु र फोहोर पानीको प्रयोग गर्नु हुँदैन ।

तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर

डा. प्रतीकमान सिंह गुरुङ पुरुष स्वास्थ्य फाइमोसिस
डा. प्रतीकमान सिंह गुरुङ
लेखक
डा. प्रतीकमान सिंह गुरुङ
युरोसर्जन तथा रोबोटिक सर्जन

डा. गुरुङ हाल ओम अस्पताल, हेलियोस अस्पताल र मेधर्मा क्लिनिकमा कार्यरत छन् । उनले एमबीबीएस (यूसीएल, लण्डन), पीएचडी (यूसीएल), एफआरसीएस (युके), रोबोटिक सर्जरी फेलोसिप (न्युयोर्क) गरेका छन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर २८८७५ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

कम्पनीको नाम नतोकी औषधि सिफारिस लागू गराउन स्वास्थ्य मन्त्रालयको तयारी

कम्पनीको नाम नतोकी औषधि सिफारिस लागू गराउन स्वास्थ्य मन्त्रालयको तयारी

लिङ्गको टुप्पोको छाला नखुल्ने समस्या के कारणले हुन्छ ? (भिडियो)

लिङ्गको टुप्पोको छाला नखुल्ने समस्या के कारणले हुन्छ ? (भिडियो)

कस्तो स्वास्थ्य समस्या भएको व्यक्तिले हवाई यात्रा गर्नुहुँदैन ?

कस्तो स्वास्थ्य समस्या भएको व्यक्तिले हवाई यात्रा गर्नुहुँदैन ?

स्वास्थ्यमा सरकारी निर्णयको कार्यान्वयन स्रोत नभएर रोकिंदैन : स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्यमा सरकारी निर्णयको कार्यान्वयन स्रोत नभएर रोकिंदैन : स्वास्थ्यमन्त्री पौडेल

जथाभावी आकस्मिक गर्भनिरोधक औषधिले महिलामा स्वास्थ्य जोखिम

जथाभावी आकस्मिक गर्भनिरोधक औषधिले महिलामा स्वास्थ्य जोखिम

आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ताको निर्णय अब प्रधानमन्त्रीको ‘कोर्ट’ मा

आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ताको निर्णय अब प्रधानमन्त्रीको ‘कोर्ट’ मा