+
+
Shares

चिरीबाबुले आफ्नै वडा कार्यालयमा किन चलाए डोजर ?

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १२ गते २१:२०

१२ फागुन, काठमाडौं । सोमबार ललितपुरको लगनखेल क्षेत्रमा डोजर चल्न थाल्नेपछि वरिपरिका मानिसहरूको भीड लाग्यो । ललितपुर महानगरपालिकाका नगर प्रहरी बलको जम्बो टोलीसहित नगर प्रमुख चिरीबाबु महर्जन लगनखेल स्थित ५ नम्बर वडा कार्यालयमा आइपुगे ।

उनले आफ्नै वडा कार्यालय र सँगै रहेका १२ वटा सटरहरुमा डोजर चलाए ।

यसको कारण थियो– न्हुँ पोखरी बचाउनु । ललितपुर महानगरपालिका–५ लगनखेलस्थित न्हुँ पोखरीको उचित संरक्षण हुन नसकेको गुनासो नयाँ भने होइन ।

विसं २०७४ को स्थानीय तह निर्वाचनपछि ललितपुर महानगरपालिका–५ का जनप्रतिनिधिको पहलमा न्हुँ पोखरी सरसफाइ गरिएको थियो ।

२०७६ सालमा सो पोखरी संरक्षणका लागि गुरुयोजना तयार गरेर काम सुरु गरिएपनि बजेट अभावका कारण हालसम्म अनधिकृत संरचना बाधक बन्दै आएको महानगरको बुझाई छ ।

अनधिकृत संरचनामा आफ्नै वडा कार्यालय परेपछि मेयर महर्जन आफैं अघि सरेर डोजर चलाउन लगाएका हुन् ।

ललितपुर महानगरपालिका–५ का वडा अध्यक्ष विकासमान श्रेष्ठले न्हुँ पोखरी संरक्षणको काम थालिएको बताउँछन् ।

पोखरी पुनर्जागरणको योजना छ : मेयर

ललितपुर महानगरपालिकाले ऐतिहासिक पोखरीहरू पुनर्जागरण योजना रहेको मेयर महर्जन बताउँछन् । ‘महानगरले सप्तपातल पोखरी बनाइरहेका छौं । यस्तै राजदललले लिएको ३ वटा पोखरी फिर्ता ल्याएका छौं,’ महर्जनले भने ।

उनी थप्छन्, ‘यो छोपिएको छ, अब यो खोल्दै छौं । यहाँ हाम्रै ५ नम्बर वडा कार्यालय लगायत भवनहरू बनेका छन् । त्यो आजबाट भत्काउन सुरु गरेका हौं । न्हुँ पुखु : (पोखरी) ऐतहासिक हो । तर यो छोपिएको कारण पोखरीको अस्तित्व मेटिएको अवस्था छ ।’

उनले पोखरीको पूर्वी क्षेत्रमा अझै विस्तार गर्ने बताए ।

‘१० वटा सटर नगरपालिकाको आफ्नै वडा कार्यालय भत्काएका हो । ३ वटा घर र अस्थायी संरचना भत्काउन बाँकी छ,’ उनी भन्छन्, ‘पहिले यो पोखरीमा हात्ती डुब्थ्यो रे भन्ने सुनिन्छ तर अहिले छोपिएको छ । अब हामी पुरानै अवस्थामा फर्काउँछौं ।’

स्थानीय राजभाइ देउलाका अनुसार मल्लकालीन समयको न्हुँ पोखरी संरक्षण भएमा लगनखेलको सुन्दरता अझ बढ्नेछ ।

‘हामी बाल्यकालमा न्हुँ पोखरी छेउमा खेल्ने गर्थ्यौं । धेरै वर्षसम्म पोखरी सुख्खा थियो । स्थानीयको पहलमा अहिले पानी भरिएपनि संरक्षण हुन सकेको छैन । महानगरले छिटो पोखरी संरक्षण गर्नेतर्फ ध्यान दिनुपर्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?