+
+
Shares

सुर्खेत र धनगढी विमानस्थलमा यती एअरलाइन्सको परीक्षण उडान

यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार यती एअरलाइन्सको ९ एन–एएमएन एटीआर ७२ विमानले कर्णाली प्रदेशको सुर्खेत विमानस्थल र सुदूरपश्चिम प्रदेशको धनगढी विमानस्थलमा सफलतापूर्वक परीक्षण उडान गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २४ गते १५:५१

२४ फागुन, काठमाडौं । यती एअरलाइन्सले शनिबार सुर्खेत र धनगढी विमानस्थलमा सफलतापूर्वक परीक्षण उडान सम्पन्न गरेको छ ।

यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार यती एअरलाइन्सको ९ एन–एएमएन एटीआर ७२ विमानले कर्णाली प्रदेशको सुर्खेत विमानस्थल र सुदूरपश्चिम प्रदेशको धनगढी विमानस्थलमा सफलतापूर्वक परीक्षण उडान गरेको हो ।

नेपालगन्ज विमानस्थलबाट उडेको यतीको विमान सुर्खेत विमानस्थलमा आज दिउँसो १२ः१७ मा अवतरण गरेको थियो भने नेपालगन्जबाटै उडेको सोही विमान दिउँसो २ः४५ बजे धनगढी विमानस्थलमा अवतरण गरेको थियो ।

परीक्षण उडानलाई एअरलाइन्सका प्रशिक्षक पाइलटहरूद्वय क्याप्टेन समर्थरत्न तुलाधर र क्याप्टेन राजु राजवंशीले उडान भरेका थिए । उडानको अवलोकनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण तथा यती एअरलाइन्सका प्राविधिक तथा प्रतिनिधिहरूको टोली साथमा गएका थिए ।

गत २० गते मंगलबार यती एअरलाइन्सले राजविराज विमानस्थलमा पनि सफलतापूर्वक परीक्षण उडान सम्पन्न गरिसकेको छ । यतीले उक्त विमानस्थलहरूमा निकट भविष्यमा नियमित उडान गर्ने तथा वैकल्पिक विमानको रूपमा प्रयोग गर्ने उद्देश्यले परीक्षण उडान गरेको हो ।

हाल यी विमानस्थलहरूमा यतीले उडान गर्ने गरेको छैन । परीक्षण उडानको रिपोर्टको आधारमा आगामी दिनमा नियमित उडान गर्ने तयारी गरेको जानकारी दिएको छ ।

यात्रुहरूको मागलाई ध्यानमा राखी उडानको दायरा बढाउदै आफ्नो बजार हिस्सा विस्तार गर्ने उद्देश्य लिएको यती एअरलाइनका एकाउन्टेवल म्यानेजर तथा प्रमुख व्यापार अधिकृत युवराजकुमार विष्टले जानकारी दिए । उनले यी विमानस्थलहरूमा हुने नियमित उडानसँगै यती एअरलाइन्स प्रतिको यात्रुहरूको विश्वास तथा माया अझ बढ्ने धारणा व्यक्त गरे ।

यती एअरलाइन्समा एशियन लाइफ इन्स्योरेन्सको प्रवेशसँगै आक्रामक बजार नीति लिएको, यात्रु सुविधा प्रति ध्यान दिएको र उडान सुरक्षा प्रति जिम्मेवार पूर्वक अघि बढेको कारण यात्रुहरूको विश्वास बढेको छ भने एयरलाइन्स पुरानै लयमा फर्किसकेको छ ।

यतीमा हाल यात्रुहरूको अकुपेन्सी दर ८५–९० प्रतिशतसम्म रहेको छ । यतीले सात वटा एटीआर ७२ विमान मार्फत नियमित रूपमा काठमाडौं, चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगन्ज विमानस्थल लगायत पर्वतीय उडानहरू गर्दै आएको छ भने निकट भविष्यमा थप विमान मार्फत सेवा विस्तार गर्ने निति लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?