२७ फागुन, काठमाडौ । श्री भगवती क्लब, टोखाले आरसिटी क्लबमाथि पुनरागमन जित निकाल्दै शहीद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा एक गोलले पछि परेको स्थिती उल्टाउँदै श्री भगवतीले दश खेलाडीमा समेटिएको आरसिटीलाई ३-१ ले पराजित गरेको हो ।
आरसिटीका कप्तान समिर राईले ३३औं मिनेटमा रातो कार्ड पाएपछि टोली दश खेलाडीमा झरेको थियो । यद्यपी निखिल तामाङले ३६औं मिनेटमा गोल गर्दै आरसिटीलाई पहिले अग्रता दिलाएका थिए । तर आरसिटीले अग्रता जोगाउन सकेन ।
श्री भगवती क्लबले दोस्रो हाफमा तीन गोल फर्कायो । विक्रान्स नरसिंह रानाले दुई गोल गर्दा आरसिटीका अमर श्रेष्ठले एक आत्मघाती गोल गरे ।
विक्रान्तले ५४औं मिनेटमा श्री भगवतीका लागि बराबरी गोल फर्काए । आरसिटीका अमर श्रेष्ठले ७७औं मिनेटमा आत्मघाती गोल गरेपछि श्री भगवतीले २-१ को अग्रता दिलाए । विक्रान्तले ९०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै क्लबको जित पक्का गरे ।
जितपछि श्री भगवतीले ३ अंक जोडेको छ भने आरसिटीले हारबाट लिग सुरु गरेको छ ।
प्रतिक्रिया 4