+
+
Shares

महेन्द्र मोरङ क्याम्पसमा तोडफोड र आगजनी : शेखर पक्षका चार विद्यार्थी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २८ गते १९:२५

२८ फागुन, विराटनगर । नेपाल विद्यार्थी संघभित्रको आन्तरिक विवादका कारण महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा तोडफोड र आगजनी भएपछि प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

स्ववियु निर्वाचनको विषयलाई लिएर बुधबार आगजनी र तोडफोड गर्ने नेपाल विद्यार्थी संघ डा. शेखर कोइराला समूहका चार विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोरङ लेटाङ नगरपालिका– २ घर भई विराटनगर बस्दै आएका नेविसंघ केन्द्रीय सदस्य २६ वर्षीय योगराज दाहाल, विराटनगर महानगरपालिका– ४ का २० वर्षीय आयुष दाहाल, बुढीगंगा गाउँपालिका– २ का ३० वर्षीय नेविसंघ मोरङ सचिव गुडु साह र बुढीगंगा गाउँपालिका– २ की २६ वर्षीया नेविसंघ केन्द्रीय सदस्य पुजा विश्वास छन् ।

योगराज महेन्द्र मोरङ स्ववियु सभापतिको नेविसंघ इतर पक्षका उम्मेदवार हुन् । योगराजसँगै आगजनीमा सहभागी भएका अन्य तीन जना पनि इतर पक्षकै विद्यार्थी हुन् ।

स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघबाट संस्थापन पक्षबाट प्रज्वल विष्ट र डाक्टर शेखर कोइराला समूहबाट योगराज दाहालले उम्मेदवारी दिएका थिए । मंगलबार अबेर राति उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्दा निर्वाचन समितिले विष्टलाई आधिकारिकता दिएको थियो । दाहालले आफ्नो उम्मेदवारी स्वतन्त्र बनाएका थिए ।

संगठनको उम्मेदवारलाई स्वतन्त्र उम्मेदवार बनाएको विरोधमा कोइराला समूहका विद्यार्थीले तोडफोड र आगजनीपछि तालाबन्दी गरेका थिए । तालाबन्दी गर्दा निर्वाचन अधिकृत सुशील अधिकारी कार्यलयभित्रै थिए । नेविसंघले लगाएको ताला फुटाएर प्रहरीले अधिकारीको उद्धार गरेको थियो ।

तोडफोड, आगजनी र तालाबन्दीमा संलग्न चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए ।

‘निर्वाचनको तयारी राम्रै छ, तर आकस्मिक रुपमा विद्यार्थीहरूले आएर निर्वाचन कार्यालयमा आगजनी र तालाबन्दी गर्नुभयो,’ निर्वाचन अधिकृत सुशील अधिकारीले भने, ‘आगोले केही कागजहरू जलेका छन् ।’

गत फागुन १५ गते नेविसंघ मोरङ जिल्ला सभापति सरोज पोखरेललाई महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन स्ववियु सभापति जसवन्त पौडेलसहितका समूहले क्याम्पस परिसरमा निर्घात कुटपिट गरेको थियो ।

सो घटनामा प्रहरीले राजनीतिक विवाद भन्दै आक्रमण गर्नेपक्षविरुद्ध परेको जाहेरी लिएको थिएन । त्यसपछि नेविसंघको संस्थापन र इतर समूहबीचको विवाद बढेको थियो ।

क्याम्पसमा आगजनी भएको घटनाको अखिल क्रान्तिकारी महेन्द्र मोरङ क्याम्पस कमिटीले विरोध जनाएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै क्रान्तिकारीले घटना गैरकानुनी र निन्दनीय भएको बताएका हुन् ।

‘क्याम्पसभित्र आगजनी र निर्वाचन अधिकारीलाई कोठामा थुन्नु यो गैरकानुनी हर्कत हो,’ स्ववियु सभापतिका उम्मेदवार समेत रहेका अखिल क्रान्तिकारी क्याम्पस इकाई अध्यक्ष रोहित यादवले भने, ‘यस प्रकारको घटनाको निन्दा र भत्र्सना गर्दछौँ ।’

आगजनीको घटनाले शान्तिपूर्ण निर्वाचन हुनेमा चिन्ता बढाएको यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?