५ चैत, काठमाडौं । पोखरामा सम्पन्न पोखरा कप राष्ट्रिय ह्यान्डबलको उपाधि त्रिभुवन आर्मी क्लबले चुमेको छ । प्रतियोगिताको फाइनलमा घरेलु टोली गण्डकीलाई ३७–३२ ले हराउँदै च्याम्पियन भएको हो ।
अत्यन्तै प्रतिस्पर्धात्मक बनेको फाइनलमा गण्डकीले बिचमा अग्रता जोगाउन नसक्दा हार व्यहोर्न बाध्य भएको हो । एक समय २७–२५ को अग्रतामा रहेको गण्डकीले लय गुमाउँदा आर्मीले डिफेन्स लाइनलाई बलियो बनाउँदै खेलेपछि विजेता बन्न सफल भयो ।
फाइनल खेलमा आर्मीका निर्मलबाबू श्रेष्ठले सर्वाधिक १६ गोलको योगदान दिए । उपाधिसँगै आर्मीले मेडल, ट्रफी तथा प्रमाणपत्रका साथमा नगद एक लाख रुपैयाँ हात पारेको छ । उपविजेता गण्डकीले ५० हजार रुपैयाँ प्राप्त गरेको छ । यस्तै एपीएफ क्लब तेस्रो हुँदै ३० हजार रुपैया प्राप्त गरेको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आर्मीका निर्मलबाबु श्रेष्ठ घोषित भए । यस्तै उत्कृष्ट गोलरक्षक गण्डकीका विशाल नेपाली घोषित भए । प्रतियोगितामा एपीएफका दीपेन्द्र बुढाथोकी उच्च गोलकर्ता घोषित भए । उनले प्रतियोगिता अवधिभर कुल ५३ गोल गरे । विधागत उत्कृष्ट तिनै जनाले समान पाँच–पाँच हजार रुपैयाँसँगै ट्रफी हात पारे ।
मंगलबार नै फाइनलअघि सेमिफाइनल तथा तेस्रो स्थानका खेल भएका थिए । पहिलो सेमिफाइनलमा गण्डकीले एपीएफलाई ४०–३३ र आर्मीले कोशीलाई ५५–३२ ले हराउँदै फाइनल प्रवेश गरेको थियो । यस्तै तेस्रो स्थानको खेलमा एपीएफले कोशीलाई ५५–२३ ले हराएको थियो ।
यही चैत्र ३ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा आयोजक गण्डकीसहित कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश र दुई विभागिय टोलीे त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबको सहभागिता रहेको थियो ।
प्रतिक्रिया 4