
८ चैत, काठमाडौं । रुसको राजधानी मस्कोमा सम्पन्न ‘इन्टरनेसनल ट्राभल एन्ड टुरिज्म एक्जिबिसन (एमआईटीटी) २०२५’ मा नेपालले सक्रिय सहभागिता जनाएको छ ।
नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले नेपालको पर्यटन सम्भावना र पर्यटन गन्तव्यबारे जानकारी गराएको बोर्डले जनाएको छ ।
रुसको क्रोकस एक्स्पोमा १८ देखि २० मार्चसम्म आयोजित मेलामा नेपालले आफ्ना विविध पर्यटन अनुभव प्रस्तुत गरेको थियो ।
पर्यटन बोर्डसँगै राधाकृष्ण होलिडेज, एडभेन्चर प्लानर, कैलाश भ्यु टुर्स एन्ड ट्रेक्स, एक्स्प्लोर भ्याकेसन, फ्रेन्ड्स एडभेन्चर टिम र हिमालयन ग्लेसियर ट्रेकिङ गरी निजी क्षेत्रका ६ पर्यटन कम्पनी सहभागी थिए ।
एमआईटीटीमा सहभागी नेपालका निजी क्षेत्रका प्रतिनिधिले रुसको पर्यटन बजारमा प्रवेश गर्न यो उत्कृष्ट प्लेटफर्म भएको बताए ।
निजी क्षेत्रका प्रतिनिधिले रुससहित विभिन्न देशका पर्यटन व्यवसायीसँग अन्तक्र्रिया तथा छलफल गरेका छन् । उक्त छलफलबाट उत्साहित उनीहरूले सकारात्मक नतिजा आउने विश्वास गरेका छन् ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व अर्थ मन्त्रालयका सहसचिव तथा पर्यटन बोर्डका कार्यसमिति सदस्य यज्ञप्रसाद भट्टराईले गरेका थिए ।
प्रतिनिधिमण्डलमा बोर्डका कार्यसमिति सदस्य तथा निजी क्षेत्रका प्रतिनिधि राजेन्द्र लामा पनि सहभागी थिए ।
कार्यक्रम उद्घाटन क्रममा रुसका लागि नेपाली राजदूत जंगबहादुर चौहानले नेपाल पभेलियन भ्रमण गरे ।
नेपाली प्रतिनिधिले नेपाल पभेलियनमा आउने आगन्तुकसँग अन्तरक्रिया गर्दै नेपाल–रुस पर्यटन सम्बन्ध सुदृढ बनाउन प्रतिबद्धता व्यक्त गरे ।
कोभिड–१९ महामारीपछिको समय ध्यानमा राख्दै एमआईटीटी–२०२५ मा पर्यटन बोर्डको सहभागिताले नेपाल–रुस पर्यटन सम्बन्ध पुनः सक्रिय बनाउने र रुसी पर्यटकलाई आकर्षित गर्ने महत्त्वपूर्ण पहल भएको बोर्डले जनाएको छ ।
सन् २०२४ मा १३ हजारभन्दा बढी रुसी पर्यटकले नेपाल भ्रमण गरेका थिए । रोमाञ्चक यात्रा र सांस्कृतिक अनुभवप्रतिको रुसी पर्यटकको रुचिका कारण नेपालका लागि यो बजारमा ठूलो सम्भावना रहेको बोर्डले जनाएको छ ।
सन् २०२५ मा रुसबाट १७ हजारभन्दा बढी रुसी पर्यटकले नेपाल भ्रमण गर्ने अनुमान छ ।
प्रतिक्रिया 4