
१० चैत, बुटवल। बुटवलमा जारी २३औ तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगितामा विभागिय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लब र विजयी हुँदै सेमिफाइनल प्रवेश गरेका छन् । एन्फा टेक्निकल सेन्टरको मैदानमा सम्पन्न पहिलो खेलमा रुपन्देही ११लाई पराजित गर्दै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो ।
एपीएफको जितमा क्लबका टिम क्याप्टेन हरि कार्कीले गरेको एकमात्र गोल निर्णायक बनेको हो । शनिबार नै भएको खेलको १७ औ मिनेटमा कार्कीले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफ शुरु भएसंगै हावाहुरी चलेपछि रोकिएको खेल आइतबार पूरा भएको हो ।
चार जना विदेशी खेलाडीसहित मैदानमा उत्रेको रुपन्देही ११ ले दोस्रो दिन भएको खेलमा गोल फर्काउन नसकेपछि प्रतियोगिताबाट बाहिरिएको छ । अब एपिएफले फाइनल प्रवेश गर्न संकटा र जर्जियन एफसी भारतबीच हुने खेलको विजेतासँग खेल्ने छ । खेलमा एपीएफका गोलकिपर विशाल गुरुङ प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
यस्तै आइतबार भएको प्रतियोगिताको दोस्रो खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई टाइब्रकेरमा हराउँदै चर्च ब्वाइज युनाइटेट सेमिफाइनलमा प्रवेश गरेको छ। निर्धारित समय र पेनाल्टी शुटआउट गोलरहित बराबरीमा टुंगिएको निकै प्रतिस्पर्धात्मक खेलमा टाइब्रेकरमा चर्च ब्वायज ४–३ गोलले ले विजयी भएको हो ।
योसँगै चर्च ब्वायजले सेमिफाइनलमा मच्छिन्द्र फुटबल क्लब र एडोर्न गडवाल स्पोर्टिङ क्लब भारतबीचको विजेतासँग खेल्ने आयोजक एन्फा रुपन्देहीका महासचिव हिमाल गौचनले जानकारी दिए ।
चैत १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले नगद १२ लाख १२ हजार र उपविजेता टिमले ६ लाख, ६६ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
यस्तै विधागत उत्कृष्ट खेलाडीहरुलाई गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड र प्रशिक्षकलाई नगद ३१ हजार र कप तथा सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर वा मोटरसाईकल उपहार प्रदान गरिने प्रतियोगिताका सहसंयोजक सुजन पुनले बताए ।
प्रतियोगितामा भारतका दुई र नेपालका दुई विभागीय सहित ८ टिमले भाग लिएका छन् ।
प्रतिक्रिया 4