एन्टिबायोटिक औषधि दिने र खानेको कमी छैन । सामान्य स्वास्थ्य समस्या हुँदा पनि एन्टिबायोटिक औषधि खाने चलन यति बढ्दो छ की यसले भविष्यमा स्वास्थ्य समस्या ठूलो ल्याउने देखिएको छ । किनकी, हेक्का नराखी जथाभावी सेवन गर्दा यसले तत्काल केही नगरे पनि दीर्घकालमा सानै रोगका कारण पनि ज्यानै जाने जोखिम हुन्छ ।
समस्या यतिमा मात्र सीमित छैन । यसो त औषधिको दुरुपयोग अर्को भनेको सानो समस्या भएपछि खाने अनि निको हुनेबित्तिकै पूरा डोज पनि नखाई छोड्ने बानीले झन ठूलो समस्या गर्छ ।
कस्तो समस्या ल्याउँछ ?
यदि बिरामी निको भएको जस्तो महसुस हुनेबित्तिकै एन्टिबायोटिक बीचमै रोक्दा समस्या पुनः जटिल भएर फर्कन सक्छ । जसले उपचार झन् जटिल बन्न सक्छ ।
किनकी, औषधिको पूर्ण मात्रा प्रयोग नगरीकन बीचमै छाड्दा शरीरमा केही ब्याक्टेरिया जीवित रहन सक्छन्। यी बाँकी रहेका ब्याक्टेरियाहरू फेरि वृद्धि भएर संक्रमणलाई पुनः सक्रिय बनाउन सक्छन्, ब्याक्टेरियाले औषधिविरुद्ध प्रतिरोधात्मक क्षमता विकसित गरेकाे खण्डमा रोग झन् गम्भीर हुन सक्छ।
एन्टिबायोटिकले काम नगर्दा लामो समयसम्म निको नभएर अस्पताल धाउनुपर्ने बाध्यता र धेरै खर्च हुने भएकाले सचेत हुन जरुरी छ । त्यसैले, चिकित्सकले यस्ता औषधि प्रयोगपछि डोज पूरा गर्न सुझाउँछन् ।
औषधिप्रति प्रतिरोध हुनसक्छ
जब एन्टिबायोटिक औषधि आधा खाँदा खाँदै छाडिन्छ, बाँकी रहेका ब्याक्टेरियाहरू औषधिप्रति प्रतिरोधी बन्न सक्छन् । जसलाई ‘एन्टिमाइक्रोबियल रेसिस्टेन्स’ पनि भनिन्छ । चिकित्सकहरूले नै सिफारिस गरेको औषधिले काम नगर्ने, निको हुन समय लाग्ने अवस्था ‘एन्टिमाइक्रोबियल रेसिस्टेन्स’ हो ।
औषधिले विपरीत काम गर्ने वा सोही औषधिले काम नगर्ने अवस्था आउन सक्छ, जसका कारण अझै कडा उच्च मात्रा भएको औषधि प्रयोग गरे मात्र बिरामी निको हुने सम्मको अवस्था आउँछ ।
विशेष गरी टिबीजस्ता रोगहरूमा औषधि अधुरो छाड्दा, ब्याक्टेरिया फोक्सो, मस्तिष्क, हड्डी, मिर्गौला वा अन्य अंगहरूमा फैलिन सक्छ। यसले रोगलाई झन् खतरनाक बनाइदिन्छ।
संक्रमण फैलिन्छ
यदि टिबी जस्तो संक्रामक रोगको एन्टिबायोटिक पूरा नखाइ छाडियो भने, बाँकी रहेका ब्याक्टेरिया सक्रिय भई अन्य अङ्गमा सजिलै संक्रमण फैलिन सक्छ।
किन पूरा डोज खाने ?
एन्टिबायोटिक लिन थालेपछि सुरुवातमा धेरै ब्याक्टेरिया मर्न थाल्छन्, जसले गर्दा लक्षणहरू सुधारिन्छन्। तर केही ब्याक्टेरिया अझै बाँकी रहन सक्छन्। यदि औषधि बीचमै छाडियो भने ती बाँकी ब्याक्टेरिया फेरि बढ्न सक्छन् र संक्रमण दोहोरिन सक्छ।
यदि एन्टिबायोटिकको पूरा डोज लिएमा उपचार झन् जटिल बन्न पाउँदैन । पछि पनि ती औषधिले राम्रोसँग काम गर्न सक्छ । यदि टिबीको उपचार पूरा नगरी छाडियो भने, बाँकी रहेका ब्याक्टेरिया सक्रिय भई पुनः संक्रमण हुन सक्छ, जसले गर्दा अन्य अङ्गमा पनि रोग सारिन सक्छ।
एन्टिबायोटिक कस्तो बेलामा लिने ?
सामान्य टाउको दुखाइ वा ज्वरो छ भने चिकित्सकको सिफारिस बिना एन्टिबायोटिक खानु हुँदैन । यस्तो बेलामा पारासिटामोल जस्ता औषधि खानु उपयुक्त हुन्छ ।
तर, पारासिटामोलले पनि ठिक नपारेको खण्डमा एन्टिबायोटिक जीवाणु संक्रमण, घाँटीको संक्रमण, खोकी, पिसाब नलीको संक्रमण र ब्याक्टेरियाले हुने सेप्सिस र चरम संक्रमण जस्ता गम्भीर समस्याहरूको उपचार गर्न चिकित्सकको सिफारिसमा औषधि खानु उपयुक्त हुन्छ । तर, सिफारिस भएको एन्टिबायोटिक्स लिँदा डोज पूरा भने लिनैपर्ने हुन्छ ।
आफैँमा नराम्रो होइन एन्टिबायोटिक्स
एन्टिबायोटिक्स महत्वपूर्ण औषधि हो । कतिपय एन्टिबायोटिक्सले ब्याक्टेरियाले लागाएका संक्रमण विरुद्ध लड्न काम गर्छ । यसले रोग फैलिनबाट पनि बचाउँछ । यसले गम्भीर खालको रोगको सम्भावित जटिलता बढ्न दिँदैन ।
तर, केही औषधिले राम्रोसँग ब्याक्टेरियाविरुद्ध काम गर्न सक्दैन । जब ब्याक्टेरियाविरुद्ध औषधिले काम गर्न सक्दैन, तब त्यो औषधिलाई एन्टिबायोटिक रेजिस्टेन्स भएको बुझिन्छ । यसो भएमा एन्टिबायोटिक औषधिले सानोतिनो समस्यामा पनि असर गर्दैन । अहिले यो समस्या विश्वकै स्वास्थ्यका लागि चुनौतीको रुपमा खडा भइरहेको छ ।
यसो हुनुको पछाडि एउटै मात्र कारण हो, एन्टिबायोटिक औषधिको दुरुपयोग ।
यी अवस्थामा जरुरी हुँदैन
एन्टिबायोटिकले चिसो, खोकी, ज्वरो जस्ता भाइरल संक्रमणलाई हटाउन सक्दैन । जस्तै, नाकबाट पानी बग्ने, घाँटी दुख्ने, ज्वरो आउने, छाती दुख्ने र ब्रोन्काइटिस जस्ता धेरै सामान्य समस्यामा एन्टिबायोटिकले काम गर्दैन ।
साथै, एन्टिबायोटिकले अन्य ब्याक्टेरियल संक्रमणहरू जस्तै, साइनस इन्फेक्सन, साधारण झाडापखाला र केही कानको इन्फेक्सनमा काम गर्दैन । तसर्थ, यस्तो समयमा एन्टिबायोटिकको अत्याधिक प्रयोगले स्वास्थ्यमा धेरै प्रकारका हानि पुर्याउन सक्छ ।
प्रतिक्रिया 4