१८ चैत, काठमाडौं । विश्व स्क्वास वरीयतामा पाँचौँ स्थानमा रहिसकेका बोर्खा गोलानले नेपाली खेलाडीलाई प्रशिक्षण दिने भएका छन् । नेपाल स्क्वास एन्ड र्याकेट्स संघले सोमबार एक कार्यक्रमको आयोजना गर्दै स्पेनका लेभल थ्री प्रशिक्षक गोलानलाई स्वागत गरेको छ ।
गोलानले एक हप्ता नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिनेछन् । सन् २०१४ मा गोलान विश्व स्क्वास वरीयतामा पाँचौं स्थानमा थिए । उनले पिएसए विश्व टुरमा ३३ उपाधि जितेका छन् । यसैगरी उनी १७ पटकको स्पेनका राष्ट्रिय च्याम्पियन पनि हुन् ।
दुई पटक युरोपेली इन्डिभजुयल च्याम्पियन रहिसकेका गोलानले स्पेनको राष्ट्रिय टिमलाई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगतामा नेतृत्व पनि गरेका छन् । सन् २०२३ मा गोलानले खेलाडी जीवनबाट सन्यास लिए ।
त्यसपछि उनले गोलान स्क्वास एकेडेमीको स्थापना गरे जुन एकेडेमीले युवा खेलाडी उत्पादन र सहयोग गर्ने गर्दछ । सोही एकेडेमीमा नेपालका स्क्वास खेलाडी अमृत थापा मगर पनि प्रशिक्षणमा रहेका छन् ।
४२ वर्षीय प्रशिक्षक गोलानले नेपालको बारेमा धेरै सुनेको बताउँदै आफूले नेपाली स्क्वास खेलाडीलाई थप उत्प्रेरित गर्ने लक्ष्यसहित नेपालका आएको उल्लेख गरे । ‘पछिल्ला दुई–तीन वर्षदेखि प्रशिक्षकको जिम्मेवारीमा छु, नेपालमा सिकाउने मात्र होइन मैले पनि धेरै सिक्ने अवसर पाउनेछु’ उनले भने ।
नेपाल स्क्वास एन्ड राकेट्स संघका अध्यक्ष धु्रबबहादुर गुरुङले गोलानको प्रशिक्षणले नेपाली स्क्वास खेलाडीको स्तर अझ राम्रो हुने भनाई राखे । उनले गोलान स्क्वास फाउन्डेसनबाट युरोपका स्तरीय खेलाडीसँग अनुभव दिन नेपाली खेलाडीहरुलाई स्क्वास टुरको व्यवस्था गर्न पनि अनुरोध गरे ।
प्रतिक्रिया 4