+
+
Shares

एकल सांगीतिक साँझमा गुञ्जिए पुरूषोत्तम न्यौपाने (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २३ गते १०:२२

पोखरा । २०४६ सालमा ‘बलाम देवीथान’ बोलको गीत रेकर्ड गराएर सांगीतिक यात्रा सुरू गरेका गायक पुरूषोत्तम न्यौपानेले एकल साँझको सुरूमा सोही गीत गाए । त्यसपछि श्रोता, दर्शकले रूचाएका गीत क्रमशः सुनाए ।

स्याङजामा जन्मिएका र पोखरालाई कर्मथलो बनाएका अग्रज लोकगायक न्यौपाने शुक्रबार पोखरामा एकल सांगीतिक साँझमा गुञ्जिए । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले पोखरा सभागृहमा ‘पुरूषोत्तम न्यौपाने सांगीतिक साँझ २०८१’ आयोजना गरेको थियो ।

यसअघि उनी २०६६ साल चैत २२ गते सोही ठाउँमा आयोजित साँझमा गुञ्जिएका थिए । ठ्याक्कै १५ वर्षपछि गुञ्जिएका उनलाई सुन्न र उनको प्रस्तुतिमा झुम्न लोक संगीतप्रेमीको बाक्लो उपस्थिति रह्यो ।

गायक न्यौपानेले सम्बन्धित गीतसँग जोडिएका केही कुरा राख्दै गीत प्रस्तुत गरे । उनले ढुंगेधारामा, देउरालीमा ध्वजा, झिलझिल सितारा, सररर पानी घट्टमा, रून्छ नी मन किन रूँदैन, घामजस्तो चम्किलो जुन हुँदैन, ऐना हेरेर, मिर्मीमुनी काली थुनेको आदि १८ वटा गीत लाइभ बाजामा गाए ।

आफूले गीतसंगीतको माध्यमबाट आन्तरिक पर्यटन प्रबर्धनमा समेत टेवा पुर्‍याएको उनको भनाइ छ । ‘मिर्मीमुनी काली थुनेको’, ‘आँधिखोला स्याङजा बजारमा’ आदि गीत त्यसको उदाहरण भएको उनले बताए ।

सांगीतिक साँझमा न्यौपानेको जीवनीबारे तयार पारिएको श्रव्यदृश्य सामाग्री देखाइएको थियो भने विभिन्न संघसंस्थाले उनलाई सम्मान समेत गरेका थिए ।

हजारभन्दा बढी गीतमा स्वर दिएका न्यौपाने दोहोरीगीत प्रतिष्ठानका पूर्वअध्यक्ष हुन् । लामो समयदेखि सञ्चारकर्ममा समेत सक्रिय न्यौपाने रेडियो नेपालको पोखरा कार्यालयमा कार्यक्रम अधिकृतको रुपमा कार्यरत छन् ।

सांगीतिक साँझ उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले मानिसका पीर,मर्का र खुसीलाई छुने गीत कालजयी हुने बताए । गीतसंगीतले समाज रूपान्तरणमा भूमिका खेल्ने हुनाले यसको शक्ति ठूलो रहेको उनले बताए ।

प्रतिष्ठानले गतवर्ष काठमाडौंमा वरिष्ठ गायक तथा संगीतकार नारायण रायमाझीको सांगीतिक साँझ गरेको थियो । वर्षेनी एक अग्रज लोकदोहोरी कलाकारलाई प्रस्तुत गर्ने प्रतिष्ठानको योजनालाई यसवर्ष पनि निरन्तरता दिँदै कार्यक्रम गरिएको प्रतिष्ठान अध्यक्ष रीता थापामगरले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?