विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) स्थापना भएको दिन अप्रिल ७ मा प्रत्यक वर्ष विश्व स्वास्थ्य दिवस मनाइन्छ। डब्लुएचओले वर्ष २०२५ को विश्व स्वास्थ्य दिवसको नारा ‘हेल्थी बिगनिङ्स, होपफुल फ्युचर’ अर्थात् ‘स्वस्थ सुरुवात, आशावादी भविष्य’ तय गरेको छ । यसले स्वास्थ्यको महत्व, विशेष गरी प्रारम्भिक स्वास्थ्य सेवा, रोकथाम र दिगो विकासमाथि जोड दिन्छ ।
जीवनको प्रारम्भिक चरणहरू गर्भावस्था, नवजात अवस्था, शैशव र बाल्यकालमा केन्द्रित हुन प्रेरित गर्दछ । स्वास्थ्यको दृष्टिकोणबाट यी चरणहरू सबैभन्दा संवेदनशील र निर्णायक मानिन्छन् । स्वस्थ जीवनका लागि जीवनको सुरुवात अर्थात गर्भावस्था र जन्मदेखि नै स्वास्थ्यमा ध्यान दिनुपर्छ भन्ने सन्देश यस नाराले राखेको छ ।
गर्भवती महिला, शिशु र बालबालिकाको स्वास्थ्य सुरक्षा गर्नुपर्छ । खोप, पोषण, र स्वच्छताजस्ता आधारभूत स्वास्थ्य सेवालाई प्राथमिकता दिनुले स्वस्थ्य जीवनको परिकल्पना गर्न सकिन्छ भन्ने आसय रहेको देखिन्छ।
गर्भावस्थादेखि दुई वर्षको उमेरसम्म अर्थात पहिलो १००० दिन (गर्भको करिब २७० दिन र जन्मेको २ वर्ष अर्थात ७३० दिन) लाई सुनौलो दिन वा अवसर भनिन्छ । यस अवधिमा गरिने सशक्त पोषण, सुरक्षित मातृस्याहार, खोप, नियमित स्वास्थ्य जाँच, मानसिक सन्तुष्टि र सरसफाइ सेवाहरूले व्यक्तिको सम्पूर्ण जीवनभर असर गर्ने हुन्छ ।
स्वस्थ सुरुवातले मात्र शारीरिक रूपमा मात्रै होइन मानसिक, सामाजिक र भावनात्मक रूपमा समेत सशक्त नागरिकको विकास गर्न मद्दत गर्दछ । विश्व स्वास्थ्य संघको नाराको पहिलो अशंले यसै पक्षलाई उजागर गरेको बुझिन्छ।
स्वस्थ र सशक्त बालबालिका नै भविष्यका आशा हुन् । उनीहरू शिक्षामा अगाडि बढ्न सक्छन्, दक्ष जनशक्ति बन्न सक्छन् र समाजको नेतृत्व गर्न सक्षम हुन्छन् । जब बालबालिकाले प्रारम्भदेखि नै उचित स्वास्थ्य र स्याहार पाउँछन्, त्यसको सकारात्मक प्रभाव केवल उनीहरूको व्यक्तिगत जीवनमा होइन, राष्ट्रको समग्र विकासमा प्रत्यक्ष देखिन्छ । स्वस्थ समाज नै देशको उन्नतिको आधार हो ।
स्वास्थ भविष्यका लागि बालबालिका र वर्तमानका लागि युवा पुस्तालाई स्वस्थ राख्नु अपरिहार्य छ । युवा पुस्तालाई सक्रिय राखेर दिगो विकास प्राप्त गर्न सकिन्छ र स्वस्थ्य भए मात्र सक्रिय हुन्छन् भन्दा फरक नपर्ला । यी दुवैलाई शारीरिक, मानसिक र समाजिकरुपमा स्वास्थ्य बनाउनुपर्छ ।
स्वास्थ्य सबैको साझा हो । एकल प्रयासले स्वास्थ्य राम्रो बनाउन सकिँदैन । हरेक व्यक्तिको स्वास्थ्यका लागि वातावरण, खाना, पानी, स्वास्थ्य सेवा लगायत विविध पक्षहरूले असर गरेको हुन्छ । त्यसैले राम्रो स्वास्थ्यका लागि हरेकले साझा दायित्व पूरा गर्नुपर्छ । बालबालिकाको स्वास्थ्य र भविष्य सुनिश्चित गर्नु केवल स्वास्थ्यकर्मी वा अभिभावकहरूको मात्र कार्य होइन ।
यसका लागि सरकारले नीति निर्माणमा प्राथमिकता दिनुपर्छ । विद्यालयहरूले पोषण र स्वास्थ्य शिक्षामा योगदान गर्नुपर्छ । समुदाय सकारात्मक हुनुपर्छ र सबैले मिलेर सुरक्षित, पोषिलो र प्रेमपूर्ण वातावरण निर्माण गर्नुपर्छ । स्वास्थ्य संस्थाहरूले समावेशी स्वास्थ्य नीति अपनाउनुपर्छ । हरेक व्यक्तिहरूले नियमितरुपमा स्वास्थ्य परीक्षण गर्नुका साथै सरसफाइ, खानपिन र व्ययाममा विशेष सजग हुनुपर्छ । स्वास्थ्य शिक्षा, सचेतना र जागरूकता फैलाउनुपर्छ ।
२०२५ को विश्व स्वास्थ्य दिवसको सन्देश केवल एक नारा होइन, यो हाम्रो आगामी पुस्ताको भविष्यको खाका पनि हो । गर्भदेखि बाल्यवस्थासम्म हरेक जीवित सन्तानलाई स्वस्थ जीवनको आधार दिने काम आजैबाट सुरु गरौँ । स्वस्थ सुरुवात नै आशावादी भविष्यको ग्यारेन्टी हो । यो अवधारणाले ‘आज स्वस्थ छौँ भने भोलि उज्यालो छ’ भन्ने सोचलाई प्रतिनिधित्व गर्छ ।
प्रतिक्रिया 4