४ वैशाख, काठमाडौं । कान नसुन्ने व्यक्तिलाई सुन्ने बनाउने ‘कक्लियर इम्प्लान्ट’ प्रत्यारोपण सेवा वीर अस्पतालले सुरु गरेको छ । बुधबार दुई जनाको शल्यक्रिया गरी ‘कक्लियर इम्प्लान्ट’ उपकरण राखिएको वीर अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ प्रा.डा.दिपेन्द्र श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार १२ वर्षीय बालक र ३८ वर्षीय पुरुषमा ‘कक्लियर इम्प्लान्ट’ प्रत्यारोपण गरिएको छ । अब दुई सातापछि अर्काे शल्यक्रिया गर्ने तयारी भइरहेको डा.श्रेष्ठले जानकारी दिए ।
वीर अस्पतालमा ‘कक्लियर इम्प्लान्ट’ प्रत्यारोपण सेवा सुरु गर्नका लागि अघिल्लो आर्थिक वर्षदेखि नै पहिल सुरु गरिएको थियो । ‘कक्लियर इम्प्लान्ट’ डिभाइस महंगो हुने भएकाले अनुदानका लागि प्रयास भइरहेको थियो ।
अनुदानका लागि सरकारले बजेटको व्यवस्था गर्न ढिला गर्दा सेवा सुरु हुन सकेको थिएन । उकरणका लागि ५० प्रतिशत अनुदान दिन सरकारले बजेटको व्यवस्था गरिदिएपछि सेवा सुरु भएको डा.श्रेष्ठले बताए।
डा.श्रेष्ठका अनुसार ‘कक्लियर इम्प्लान्ट’ डिभाइसको मूल्य करिब १२ लाख पर्छ । यसमा ५० प्रतिशत सरकारले व्यहोर्ने व्यवस्था भएको छ । शल्यक्रिया लगायत अन्य उपचार सेवा अस्पतालले निःशुल्क गरेको छ ।
पोस्ट–लिंगल डेफनेस(पछि कुनै कारणले कान नसुन्ने भएका) र प्रि–लिंगल डेफनेस(जन्मिदै कान नसुन्ने भएका) दुवैका लागि यो सेवा दिइने डा.श्रेष्ठले जानकारी दिए ।
उनका अनुुसार जन्मिँदै कान नसुन्ने भएकाको हकमा भने सानै उमेरमा प्रत्यारोपण गरे मात्रै यसले काम गर्छ । सकेसम्म बोल्नु भन्दा अगावै वा ५ वर्षमुनिकै उमेरमा मात्रै ‘कक्लियर इम्प्लान्ट’ प्रत्यारोपण गर्न सकिन्छ । त्यो भन्दा बढी उमेरमा यो उपचार गरेर सुन्ने बनाउन सकिँदैन ।
पहिलो सुन्ने क्षमता भएको तर पछि कुनै कारणले श्रवण शक्ति गुमेकाहरूका लागि भने जुनसुकै उमेरमा पनि यो प्रत्यारोपण गर्न मिल्छ ।
‘कक्लियर इम्प्लान्ट’ प्रत्यारोपण गरेर श्रवण क्षमता फर्काउन सक्ने अवस्था रहेका वीर अस्पतालमा आउने सबै बिरामीको अनुदानमै उपचार हुने डा.श्रेष्ठले जानकारी दिए ।
के हो कक्लियर इम्प्लान्ट ?
‘कक्लियर इम्प्लान्ट’ भनेको सानो विद्युतीय उपकरण हो । यो कानको भित्री भागमा राखिन्छ ।
कानका बाहिरी, मध्य र भित्री भाग गरी तीन भाग हुन्छन् । कानको भित्री भागमा कक्लिया हुन्छ । कक्लियाले बाहिरबाट आएको ध्वनि ‘मेकानिकल इनर्जी’लाई इलेक्ट्रिक इनर्जीमा परिवर्तन गरेर मस्तिष्कसम्म पुर्याउने काम गर्छ र हामी सुन्छौँ । तर कक्लिया भित्र, नशामा खराबी आयो भने ध्वनि इनर्जी मस्तिष्कसम्म जान बन्द हुन्छ र हाम्रो कानले सन्न सक्दैन ।
जन्मँदै वा अन्य विविध कारणले कक्लियाले काम गरेन भने मानिसमा सुन्ने क्षमता हुँदैन । यस्तो अवस्थामा थुप्रै केसमा ‘कक्लियर इम्प्लान्ट’ राखेर सुन्न सक्ने बनाउन मिल्ने डा.श्रेष्ठले बताए ।
जाँचपछि कस्ता बिरामीलाई कक्लियर इम्प्लान्टले काम गर्छ, कस्तालाई गर्दैन भन्ने पत्ता लगाइने उनको भनाइ छ ।
श्रवणशक्ति कम भएर उपचारमा आउने धेरै बिरामी कक्लियर इम्प्लान्टको उपचार आवश्यक हुने खालका हुने गरेको पनि डा.श्रेष्ठले जानकारी दिए ।
नेपालमा सरकारी स्तरमा त्रिवी शिक्षण अस्पतालमा मात्रै यो सेवा उपलब्ध थियो ।
यो उपचारका लागि धेरै बिरामी भारतमा जाने गरेको डा.श्रेष्ठले सुनाए । अब यहाँ नियमित यो उपचार हुने भएकाले भारत जानुपर्ने बाध्यता हट्ने उनको विश्वास छ ।
अहिल यस खालका समस्या भएका बिरामी अनुपात अनुसार उपचार गर्ने क्षमता वीर अस्पतालमा रहेको डा.श्रेष्ठले बताए । बिरामी धेरै आएमा उपचारका लागि क्षमता पनि बढाउँदै जाने जानकारी उनले दिए।
प्रतिक्रिया 4