निद्रा त्यति नै जरुरत छ, जति पोषिलो खाना र शुद्ध पानीको छ । किन मान्छेलाई निद्रा लाग्छ ? निदाउनु किन जरुरी छ ? यी रहस्यहरू जान्नका लागि अर्को महत्वपूर्ण प्रश्न जरुरी छ, ‘हाम्रो शरीरमा त्यस्तो के हुन्छ जब हामी मस्त निदाउँछौं ?’
निद्रा किन लाग्छ ?
निद्राको पनि चरण हुन्छ । यसलाई मूख्यतः दुई भागमा विभाजन गरिन्छ । पहिलो हो, र्यापिड आइ मुभमेन्ट । दोस्रो, ननर्यापिड आइ मुभमेन्ट । यसबाहेक पनि तीन वटा चरण छन्, जसलाई एन– १, एन–२ र एन–३ भनिन्छ ।
यसमध्ये एन–३ मस्त निद्राको चरण हो । यसलाई वेभ स्लिप पनि भनिन्छ । निद्रा सुरु भएको सामान्यत पहिलो दुई घण्टाभित्र हामी यही चरणमा प्रवेश गर्छौं । अर्थात गहिरो निद्रामा पुग्छौँ । रातभर यो छोटो–छोटो अवधिमा दोहोरिन्छ ।
यही चरण अर्थात मस्त निद्राको समयमा मस्तिकले डेल्टा तरंगहरू उत्पादन गर्छ । यस तरंगले मस्तिष्कको गतिविधिलाई कम गर्छ र शरीरलाई गहिरो विश्रामको अवस्थामा पुर्याउँछ । यो अवस्थामा मान्छेलाई ब्यूँझाउन निकै गाह्रो हुन्छ । यदि ब्यूँझिए पनि उनीहरू प्राय भ्रमित वा अस्पष्ट महसुस गर्छन् ।
मस्त निद्रामा शरीरमा हुने प्रक्रियाहरू
मस्त निद्राको समयमा शरीरले विभिन्न शारीरिक प्रक्रियाहरू सञ्चालन गर्छ, जसले स्वास्थ्य र कार्यक्षमता कायम राख्न महत्वपूर्ण भूमिका खेल्छ ।
१. कोशिका मर्मत र वृद्धि
मस्त निद्राको समयमा शरीरले कोशिका मर्मत र पुर्नजन्मको काम गर्छ । यो अवधिमा ग्रोथ हर्मोनको उत्पादन धेरै हुन्छ । खासगरी बच्चा र किशोरहरूमा । यो हर्मोनले मांसपेशी, हड्डी र अन्य कोशिकाको वृद्धि र मर्मतमा सहयोग गर्छ । वयस्कहरूमा पनि यो हर्मोनले चोटपटक निको पार्न, मांसपेशी बलियो बनाउन र कोशिका मर्मतमा महत्वपूर्ण भूमिका खेल्छ ।
यो समयमा शरीरले प्रोटिन संश्लेषणलाई पनि तीव्र बनाउँछ, जसले क्षतिग्रस्त कोशिकालाई पुनर्जन्म गर्न र नयाँ कोशिका निर्माण गर्न सहयोग गर्छ ।
२. रोग प्रतिरोधी क्षमता बढ्छ
मस्त निद्राले रोग प्रतिरोधक प्रणालीलाई बलियो बनाउँछ । यो समयमा शरीरले साइटोकाइन जस्ता प्रोटिनहरू उत्पादन गर्छ, जुन संक्रमणविरुद्ध लड्न आवश्यक हुन्छ । मस्त निद्राको कमीले रोगप्रतिरोधात्मक प्रणाली कमजोर हुन्छ ।
मस्त निद्राले टी–कोशिका अन्य प्रतिरक्षा कोशिकाहरूको गतिविधिलाई बढावा दिन्छ । यी कोशिकाहरूले शरीरमा प्रवेश गर्ने भाइरस र ब्याक्टेरियालाई नष्ट गर्छन् । मस्त निद्रा लिने व्यक्तिहरूमा खोपको प्रभावकारिता पनि बढी हुन्छ ।
३. मस्तिष्कको सफाइ र स्मरण शक्ति
मस्त निद्राको समयमा मस्तिष्कले आफूलाई सफा गर्छ र स्मरण शक्तिलाई बलियो बनाउँछ । यो प्रक्रियामा मस्तिष्कबाट विषाक्त पदार्थहरू र फोहोरहरू हटाउँछ । मस्त निद्राले स्मरण क्षमता पनि बढाउन सहयोग गर्छ । दिनभर सिकेका कुराहरू मस्तिष्कमा व्यवस्थित हुन्छन् र दीर्घकालीन स्मृतिमा रूपान्तरण हुन्छन् । यो प्रक्रिया हिप्पोक्याम्पस र नियोकोर्टेक्सबीचको अन्तर्क्रियाबाट सञ्चालित हुन्छ ।
४. ऊर्जा संचय र पाचनको कुरा
मस्त निद्राको समयमा शरीरको पचाउने दर कम हुन्छ, जसले ऊर्जा संरक्षण गर्छ । हृदयको गति, श्वासप्रश्वास र शरीरको तापक्रम घट्छ, जसले शरीरलाई विश्राम दिन्छ । यो अवधिमा शरीरले ग्लुकोजको प्रयोगलाई नियन्त्रण गर्छ र इन्सुलिन संवेदनशीलता सुधार्छ, जसले मधुमेहको जोखिम कम गर्छ ।
मस्त निद्राले तनाव हर्मोनहरू जस्तै कोर्टिसोलको स्तरलाई पनि नियन्त्रण गर्छ । यदि मस्त निद्राको कमी भयो भने कोर्टिसोलको स्तर बढ्छ, जसले तनाव, चिन्ता र मोटोपनको जोखिम बढाउँछ ।
५. मुटुको स्वास्थ्य
मस्त निद्राले हृदय र रक्तसञ्चार प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ । यो समयमा रक्तचाप र हृदयको गति कम हुन्छ, जसले हृदयलाई आराम दिन्छ । नियमित मस्त निद्रा लिने व्यक्तिहरूमा उच्च रक्तचाप, हृदयघात र स्ट्रोकको जोखिम कम हुन्छ । साथै, यो समयमा शरीरले रक्त नलीहरूको मर्मत र सूजन कम गर्नमा पनि ध्यान दिन्छ ।
मस्त निद्राको कमीले हुने प्रभाव
यदि मस्त निद्राको कमी भयो भने शरीरका विभिन्न प्रणालीहरूमा नकारात्मक प्रभाव पर्छ । मस्त निद्राको कमीले स्मरण शक्ति कमजोर हुन्छ, रोगप्रतिरोधात्मक क्षमता घट्छ, तनाव बढ्छ र पचाउने क्षमतामा असन्तुलन आउँछ । दीर्घकालीन रूपमा, मस्त निद्राको कमीले मधुमेह, मोटोपन, हृदयरोग, डिप्रेसन र अल्जाइमर जस्ता रोगहरूको जोखिम बढाउँछ ।
कसरी पाउने मस्त निद्रा ?
नियमित निद्रा तालिका : हरेक दिन एकै समयमा सुत्ने र ब्यूँझने ।
सुत्ने वातावरण : शान्त, अँध्यारो र ठिक्क तापक्रम भएको कोठा ।
स्क्रिन समय सीमित गर्ने : सुत्नुअघि मोबाइल र कम्प्युटरको प्रयोग कम गर्नु ।
स्वस्थ जीवनशैली : नियमित व्यायाम, सन्तुलित आहार र तनाव व्यवस्थापन ।
प्रतिक्रिया 4