+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

बिनु सुवेदीलाई अम्बिका देवी ओली राष्ट्रिय पत्रकारिता पुरस्कार

पत्रकारितामा परम्परागत रूपमा रहेको पितृसत्तात्मक मान्यतालाई चिर्दै जोखिमपूर्ण पत्रकारितामा महिलाको नाम स्थापित गर्न पुर्‍याएको योगदानको कदर गर्दै पत्रकार बिनु सुवेदीलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो । पुरस्कारको राशि १ लाख ११ हजार १११ रुपैयाँ रहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १५ गते १७:०८

१५ वैशाख, काठमाडौं। पत्रकार बिनु सुवेदीलाई यसवर्षको अम्बिका देवी ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।

पत्रकारितामा परम्परागत रूपमा रहेको पितृसत्तात्मक मान्यतालाई चिर्दै जोखिमपूर्ण पत्रकारितामा महिलाको नाम स्थापित गर्न पुर्‍याएको योगदानको कदर गर्दै पत्रकार सुवेदीलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो । पुरस्कारको राशि १ लाख ११ हजार १११ रुपैयाँ रहेको छ ।

रुद्र-गौरी श्री-अम्बिका ओली प्रतिष्ठानको तर्फबाट अध्यक्ष गंगाप्रसाद ओलीले सोमबार एक विज्ञप्ति जारी गर्दै भनेका छन् ‘महिलाको विषय नमानिने, असहज र जोखिमपूर्ण राजनीतिक बिटको पत्रकारितामा सुवेदीले पुर्‍याएको योगदानको सम्मान गर्दै यो पुरस्कार प्रदान गर्न लागिएको हो।’

यस्तै गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार एकल महिलाको क्षेत्रमा ३० वर्षदेखि कार्यरत गैरसरकारी संस्था ‘महिलाका लागि मानव अधिकार एकल महिला समूह’ लाई प्रदान गरिने भएको छ ।

हाल राष्ट्रिय मानव अधिकार आयोगको आयुक्त रहेकी लिली थापा संस्थापक रहेको सो संस्थाले एकल महिलाको हक अधिकारमा विभिन्न काम गर्दै आएको छ । यो पुरस्कार राशि पनि १ लाख १ हजार १११ रहेको छ ।

यो प्रतिष्ठान गैरराजनीति, गैर नाफामूलक र गैरसरकारी सामाजिक संस्था हो । स्थापनाको आरम्भदेखि कृषि, महिला सशक्तिकरण, साहित्य र पत्रकारिताका साथै बालबालिकाका क्षेत्रमा भएका असल अभ्यासको खोजी गरी प्रोत्साहन, हौसला र प्रेरणा प्रदान गर्ने कार्य गर्दै आएकोमा २०७९ सालदेखि संस्थाले राष्ट्रको समुन्नतिमा अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल व्यक्तित्वलाई समेत प्रत्येक दुई वर्षको अन्तरालमा रु ५ लाख राशिको प्रज्ञान पुरस्कारद्वारा सम्मानित गर्न थालेको छ ।

प्रतिष्ठानले हालसम्म स्व. श्रीप्रसाद ओली राष्ट्रिय अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कारबाट हिमालय शमशेर जबरा र डाक्टर सन्दुक रुइतसहित २ जना, रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कारबाट महारानी झोडा झापाको साना किसान कृषि सहकारीलगायत ११ जनालाई सम्मान गरिसकेको छ ।

यस्तै गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कारबाट श्री मानव सेवा आश्रम लगायत ९ जना, अम्बिकादेवी ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कारबाट भैरव रिसाल सहित ९ जना तथा देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कारबाट सिविनसहित ९ को योगदानलाई कदर गरेको छ ।

प्रतिष्ठानले यसवर्ष प्रचलित बालविवाह, महिला हिंसा, जातिगत भेदभाव, महिनावारी तथा वातावरण आदिका सम्बन्धमा कक्षा सातमा अध्ययनरत ११ वर्षको कलिलो उमेरमा अभियन्ताका रूपमा स्थापित भई परम्परागत किताबी शिक्षा र समाज सुधारका क्षेत्रलाई एकैसाथ अगाडि बढाउन देखाएको कामका लागि हेलम्बुकी सदीक्षा पण्डितलाई देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कारबाट सम्मानित तथा पुरस्कृत गर्ने निर्णय गरेको छ ।

त्यसैगरी १४ वर्षको उमेरमा १३ वटा कविता, ९ वटा कथा, १७ वटा निबन्धनात्मक लेख, ४ वटा नाटक र करिब ४० वटा भन्दा बढी विभिन्न चित्रहरु तयार पार्ने त्रिदेव पौडेल नवलपरासीलाई पनि यो पुरस्कारबाट संयुक्त रुपमा सम्मान गरिने भएको छ । पुरस्कार राशि १ लाख १ हजार १११ रहेको छ ।

विधागत विज्ञहरूको पुरस्कार निर्णायक मण्डलबाट प्राप्त सिफारिस तथा संस्थाको निर्णयका आधारमा पुरस्कृत व्यक्तित्वहरुको छनौट गरिने प्रतिष्ठानले जनाएको छ ।

प्रतिनिधिसभाका उप-सभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा नेपाल पर्यटन बोर्डको सभाकक्ष प्रदर्शनी मार्गमा २० वैशाख २०८२ मा एक समारोहका बीच पुरस्कार समर्पण तथा सम्मान गर्ने कार्यक्रम रहेको प्रतिष्ठानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?