+
+
Shares

लोलिता, विश्व हल्लाउने एक विवादास्पद सिनेमा

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १७ गते ८:३०

‘उनी बिहानको समयमा लोलिता होइन, केवल ‘लो’ थिइन् । सादा मोजा लगाएकी, चार फिट दश इन्च अग्ली लो । जब उनी प्याइन्ट लगाउँथिन्, तब ‘लोला’ हुन्थिन् । स्कुलमा उनी ‘डली’ थिइन् । कानुनी कागजहरूमा उनको नाम ‘डोलोरेस’ लेखिएको थियो । तर मेरो अँगालोमा भने उनी सधैँ लोलिता थिइन् ।’

‘लो..लि..ता ।’

यहीँबाट सुरु हुन्छ एक अभिशप्त प्रेमकथा । एक मोहक तर निषेधित प्रेमकथा । कथा प्रेमको हो वा अपराधको ? मायाको हो वा ग्लानीको ? तिर्सनाको हो वा तिरस्कारको ?

फिल्म ‘लोलिता’ (१९९७) को कथा हो यो । विश्व चर्चित र उत्तिकै विवादास्पद पनि । जगजाहेर छ, लोलिता एक उपन्यासमा आधारित सिनेमा हो, जो भ्लादिमिर नाबोकोभले लेखेका थिए ।  ७० वर्षअघि यो उपन्यासले बजार हल्लाएको थियो । यही उपन्यासमा दुई वटा फिल्म बनेका छन् । यसअघि सन् १९६२ मा पनि ।

अब १९९७ तिर फर्कौं ।

अधवैंशे पुरुष हम्बर्टको दृष्टिकोणबाट फिल्मको कथा सुरु हुन्छ । उनी एक युरोपेली साहित्यका प्राध्यापक हुन् । उनी अमेरिकाको न्यू इंल्यान्डमा नयाँ जीवन सुरु गर्न आउँछन् । त्यहाँ उनले चार्लोट हेजको घरमा कोठा भाडामा लिन्छन् । चार्लोट एकल आमा हुन्, जसकी  एक किशोर उमेरकी छोरी छिन्, १४ वर्षकी कलकलाउँदी । नाम, लोलिता ।

लोलिता एक विन्दास किशोरी हुन् । मायालु, निर्दोष, स्वच्छन्द र उग्र पनि ।

डेरा सरेकै दिन चार्लोटसँग बगैंचामा टहल्दै गर्दा हम्बर्टले पहिलो पटक देख्छन्, लोलिता । हरिया चौरमा बेपर्वाह पल्टिएर किताब पढिरहेकी । उनको शरीर पानीले निथ्रुक्क भिजेको छ, जुन बगैंचामा सिंचाईका लागि लगाइएको हो । र, पानीले पहिरन पारदर्शी बनाएको छ ।

एक कलकलाउँदी किशोरीलाई यो रुपमा देख्दा हम्बर्ट हेरेको हेर्‍यै हुन्छन् । त्यहाँबाट नजर हटाउन उनलाई कठिन हुन्छ । जसोतसो नजर त हटाउँछन् तर मन हट्दैन । किनभने एक नजरमै उनको मन लोलिताले चोरिसकेकी छिन् ।

जब हम्बर्टले लोलितालाई देख्छन् तब उनले आफ्नो बैंसालु उमेरको प्रेमकथा सम्झन पुग्छन् । र त्यसबेलाकी प्रेमिका ‘अन्नाबेल’सँग तुलना गर्छन् ।

अब हक्बर्टले लोलितालाई पाउनका लागि एउटा जटिल सम्बन्धको तानाबाना बुन्न थाल्छन् । उनले चार्लोटसँग विवाह गर्ने निर्णय गर्छन् । यद्यपि चार्लोटप्रति उनमा कति पनि मोह छैन, प्रेम छैन ।

आखिर एकदिन सत्य बाहिर आउँछ । चार्लोटले हम्बर्टको डायरी भेट्छिन् जहाँ आफ्नी कलिली छोरी लोलिताप्रति हम्बर्ट कति पागल छन् भन्ने भेउ पाउँछिन् । जबकि उनलाई त हम्बर्टले असलमा घृणा गर्दा रहेछन् ।

यही झोंकमा उनी विक्षिप्त मन लिएर घरबाट निस्कन्छिन् । रिसको आवेगमा उनी यसरी सडकमा पुग्छिन्, जहाँ गाडीले ठक्कर दिन्छ । उनको मृत्यु हुन्छ ।

अब के हुन्छ ?

हम्बर्टले चार्लोटलाई गाडीले ठक्कर दिएको र मृत्यु भएको कुरा लुकाउँछन् । लोलितालाई यसको कुनै भेउ नदिई गाडीमा राख्छन् । र, एक अनिश्चित यात्रामा निस्कन्छन् । यही यात्रा, जसले उनीहरूको सम्बन्धलाई अर्को मोडमा पुर्‍याउँछ ।

यात्राको क्रममा लोलिता अझ उदार देखिन्छन् । उनी त्यसको स्वच्छन्द मज्जा लिन्छिन् । हम्बर्टको स्नेह र स्वतन्त्रताको आनन्द लिन्छिन् ।  यस्तो निकटताले उनीहरूको सम्बन्ध अझ गहिरो र यौनिक बन्छ । तर उनले  बिस्तारै थाहा पाउँछिन् कि हम्बर्टको आशक्तिले आफूलाई  पिंजडामा पार्दैछ । त्यो नियन्त्रणले उनलाई दिक्क बनाउँछ ।

यात्राको क्रममा लोलिता अर्को व्यक्तिको सम्पर्कका पुग्छिन् । क्लेयर क्विल्टी नामक ती रहस्यमय व्यक्ति नाटककार हुन् र लोलितालाई औधि मन पराउँछन् । क्विल्टीले अन्ततः सजिलै लोलितालाई मोहजालमा पार्छन् र भगाउँछन् ।

अब हम्बर्टको यात्रा लोलितालाई खोज्नतर्फ मोडिन्छ । खोजिरहन्छन् लोलितालाई । किनभने लोलिता बिना उनको जीवन खासमा जीवन नै होइन भन्ने महसुस हुन्छ । त्यो शून्य र खोक्रो लाग्न थाल्छ ।

समय बित्छ । एकदिन उनले लोलितालाई भेट्छन् । तर, यतिबेलासम्म लोलिताले विवाह गरिसकेकी हुन्छिन् । उनी गर्भवती भइसकेकी छिन् । उनको घरबार भने त्यति सुकिलो छैन । किनभने आर्थिक अवस्था दयनीय छ ।

तब हम्बर्ट लोलितालाई फर्काउनतर्फ लाग्छन् । लोलिता भने मान्दिनन् । क्विल्टीसँगको सम्बन्ध र उसले छाडेर गएको कुरा हम्बर्टलाई सुनाउँछिन् । सुनेर हम्बर्टको रगत उम्लिन्छ । उसले क्विल्टीलाई खोजेर मार्छन् ।

अब के लोलिता र हम्बर्टको पुर्नमिलन हुन्छ ?

हुँदैन । पश्चातापले भतभती पोलेको मन लिएर हम्बर्ट एउटा डाँडामा पुग्छन् । र, भन्छन्, ‘मैले त्यसबेला जे सुनें, त्यो बच्चाहरू खेलेको मधुर आवाज थियो । त्यसभन्दा अरु केही थिएन । र, मलाई थाहा थियो, त्यसक्षण लोलिता मेरो छेउमा नभएकी होइनन् । बरु त्यो मिठासपूर्ण होहल्लामा उनको आवाजको अभाव थियो ।’

यौन आशक्ति अनि अन्धो प्रेमले सग्लो मान्छेलाई कसरी पथभ्रष्ट बनाउँछ ? कसरी ग्लानीले जलाउँछ ? कसरी अपराधी बनाउँछ ? फिल्मले सुन्दर आवरणमा एउटा कुरुप कथाको सिनेम्याटिक व्याख्या गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?