
काठमाडौं । कथानक फिल्म ‘शिवांश’ निर्माण हुने भएको छ । निर्माताले बुधबार घोषणा पोस्टर सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन् ।
यो फिल्म श्रृंखलामा बन्ने जनाउँदै निर्माताले पहिलो भागको पोस्टर ल्याएका छन् । अञ्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण हुने यो फिल्मको निर्देशन सन्तोषकुमार आत्रेयले गर्नेछन् । यो उनको डेब्यु निर्देशकीय प्रोजेक्ट हुनेछ ।
फिल्ममा प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाने शीर्ष भूमिकामा देखिनेछन् । विकास जोशी, विमला लिम्बु, प्रदीपकुमार चौधरी, सबिर चुरौटे, उदयकुमार सुब्बा, टीका निरौलाको पनि अभिनय हुनेछ ।
कथा अञ्जान केसीले लेखेका हुन्, जो यसका निर्माता पनि हुन् । सह-निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी छन् । पटकथा बारत लिम्बुले लेखेका हुन् ।
पोस्टरमा प्रमुख कलाकार खतिवडाको पात्रलाई साङ्लोले बाँधिएको अवस्थामा देखिन्छ । अनुहारको आधा भाग मात्र देखिएको उक्त दृश्यमा उनी विद्रोहीको नियन्त्रणमा छन् । पृष्ठभूमिमा गाउँ जलेको देखिन्छ ।
फिल्ममा न्यूह बज्राचार्य र राजनराज शिवाकोटीको संगीत हुनेछ । मिलन श्रेष्ठको एक्सन कोरियोग्राफी हुनेछ । नृत्य निर्देशन विक्रम चौहानले गर्नेछन् । छायांकन शरद महतोको हुनेछ । स्क्रिप्ट डक्टरको रूपमा सुलक्षण भारती, कार्यकारी निर्माता शम्भु थापा छन् ।
विराज खड्का भीएफएक्स डाइरेक्टर तथा सुपरभाइजर रहेको फिल्ममा आदेश सुब्बा भीएफएक्स प्रोड्युसरको भूमिकामा रहनेछन् । कस्ट्युम कमल मिश्रले तयार गर्नेछन् भने मेकअप आर्टिस्ट तुलसा लिम्बू हुनेछिन् ।
यो फिल्म असोज २४ गतेदेखि हलमा रिलिज हुनेछ । पोस्ट-प्रोडक्सन चलचित्र चौतारीले गर्नेछ भने वितरणको जिम्मा डिजिटल सिनेमा नेपालले लिएको छ ।
प्रतिक्रिया 4