News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'शिवांश : च्याप्टर १' को ट्रेलर सार्वजनिक भएको छ, जसमा जोगीको भेषमा गरिने आपराधिक क्रियाकलापको कथा समेटिएको छ।
- ट्रेलरले पौराणिक समुद्रमन्थन र विषको कथा रोचक ढंगले प्रस्तुत गरेको छ र प्रवीण खतिवडालाई साधुको रूपमा देखाइएको छ।
- फिल्ममा भारतीय गायक कैलाश खेरको संगीत छ र महाशिवरात्रिको अवसरमा प्रदर्शन हुने तयारी छ।
काठमाडौं । १ फागुनदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘शिवांश : च्याप्टर १’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरले कथावस्तुबारे संक्षिप्त प्रकाश पार्छ ।
जोगीको भेषमा गरिने आपराधिक क्रियाकलापको कथा यसमा समेटिएको छ । बाहिरबाट हेर्दा सांसारिक मोह त्याग गरेर सादगी जीवन बिताइरहेको त्यागी देखिए पनि ऊ भित्रको क्रुर मानसिकता र व्यवहार कति डरलाग्दो हुन्छ भन्ने कुरा ट्रेलरमा चित्रण छ ।
पौराणिक हिन्दु मान्यता र आधुनिक युगको रहस्यलाई रोचक ढंगले प्रस्तुत गरेको ट्रेलरले पौराणिक ‘समुद्र मन्थन’ को प्रसंग र त्यस क्रममा उत्पत्ति भएको विषको कथा समेत दर्शाएको छ ।
ट्रेलरको सुरुवाती दृश्यमै अभिनेता प्रवीण खतिवडालाई साधुको रूपमा देखाइएको छ, जो कुनै दिव्य शक्ति वा ‘सिद्धी’ प्राप्तिको लागि मरिहत्ते गरिरहेको छ । उसको शरीरमा खरानी, हातमा त्रिशुल र आँखामा देखिएको उन्मादले उक्त पात्र ‘एन्टी-हिरो’ वा रहस्यमयी पात्र हुन सक्ने संकेत गर्छ ।
चलचित्रको मूल कथा एक रहस्यमयी दिव्य शिला र त्यसले कलियुगमा निम्त्याउन सक्ने विनाशको वरिपरि घुमेको संकेत ट्रेलरले दिएको छ । अन्य कलाकारमा तेज गिरी, विकास जोशी र रुशा न्यौपाने छन् । निर्देशक सन्तोषकुमार आत्रेयले चलचित्रलाई भव्य र फरक शैलीमा निर्देशन गरेको देख्न सकिन्छ ।
फिल्मको अर्को विशेष पक्ष भनेको भारतीय प्रख्यात गायक कैलाश खेरको स्वर र संगीत हो । फिल्ममा विकास जोशी, प्रदीपकुमार चौधरी, सवीर चुरौटे, उदय सुब्बा, टीका निरौलाको पनि अभिनय छ ।
पटकथा बारत लिम्बुको छ । अञ्जान केसी निर्माता रहेको फिल्मको सह-निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी छन् । कार्यकारी निर्माता शम्भु थापा हुन् ।
फिल्ममा साहित्यकार समेत रहेका विप्लव प्रतीक र राजनराज शिवाकोटीको गीत रचना छ । न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत रहेको फिल्मका गीतमा शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको स्वर छ ।
नेपालमा पौराणिक विषयवस्तुमा आधारित ‘स्पिरिचुअल एक्सन ड्रामा’ थोरै मात्र बन्ने गरेका छन् । यस्तोमा यो फिल्मले दर्शकलाई नयाँपन दिने अपेक्षा गरिएको छ । महाशिवरात्रिको अवसरमा प्रदर्शन हुने भएकाले पनि शिवभक्त र फिल्मप्रेमी दर्शकलाई यो फिल्म विशेष उपहार बन्न सक्छ ।
प्रतिक्रिया 4