
१७ वैशाख, काठमाडौं । सरकारले सर्वोच्च अदालतले जारी गरेको पत्रका आधारमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरिएको स्पष्ट पारेको छ ।
सरकारका कानुनी सल्लाहकार समेत रहेका महान्यायाधीवक्ता रमेश बडालले सर्वोच्च अदालतको पत्रका आधारमा चौधरी पक्राउ परेको आफूले थाहा पाएको बताए ।
‘सर्वोच्चबाट आजकै मितिमा पत्र गएको रहेछ, सोही पत्रको आधारमा पक्राउ परेको भन्ने कुरा आएको छ’ बडालले अनलाइनखबरसँग भने, ‘मुद्दा विचाराधिन भएको विषयमा कसरी पत्र गयो, हामी आश्चर्यमा परेका छौं । सर्वोच्च अदालतले अर्को पत्र पठाउनासाथ उहाँका बारेमा अरु निर्णय होला ।’
उनले यसबारे थप विवरण आफूले बुझिरहेको बताए ।
प्रहरीले सर्वोच्चको पत्रको आधारमा चौधरीलाई आजै केहीबेरअघि पक्राउ गरेका थिए ।
सोही पत्रका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले चौधरीलाई पक्राउ गरेर अहिले डिल्लीबजारस्थित कारागार पठाएको छ ।
प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराका अनुसार, सर्वोच्चको आदेश कार्यान्वयनमा सहयोग गर्नेगरी उनलाई पक्राउ गरिएको हो ।
रेशमलाई आममाफी दिने निर्णयविरुद्ध शारदा कठायतले सर्वोच्चमा रिट निवेदन दर्ता गराएकी थिइन् । उक्त रिट अहिले पनि विचाराधीन छ । विचाराधीन मुद्दामा सर्वोच्च अदालत प्रशासनबाटै यस्तो पत्र गएपछि अहिले त्यसबारे सर्वोच्चमा सोधपुछ चलिरहेको छ ।
प्रतिक्रिया 4