
१८ वैशाख, गोरखा । धार्मिकस्थल मनकामना मन्दिर र बजार क्षेत्रको फोहोर व्यवस्थापनका लागि निर्माण हुन लागेको ल्याण्डफिल्ड साइडको काममा स्थानीयले अवरोध गरेका छन् । शहीद लखन गाउँपालिका–३ सिमलगैरीमा निर्माण हुन लागेको ल्याण्डफिल्ड साइडको काम स्थानीयको अवरोधका कारण अघि बढ्न नसकेको हो ।
संघीय विशेष अनुदानबाट प्राप्त ३ करोड रकमबाट पालिकाले सो क्षेत्रमा ल्याण्डफिल्ड साइड निर्माण गर्न लागेको छ । ठेक्का सम्झौता भएर काम समेत अघि बढेको थियो । तर स्थानीयको अवरोधले काम ठप्प भएको छ ।
पाँच महिनामा काम सक्ने गरी गत फागुन ११ गते गोल्डेन निर्माण सेवा एण्ड सप्लायर्स प्रालि काठमाण्डौसँग ठेक्का सम्झौता भएको पालिकाका इन्जिनियर राजन रानाभाटले बताए । उनका अनुसार सम्झौता रकम २ करोड ३१ लाख रहेको छ ।
‘ल्याण्डफिल्ड साइडमा फोहोर संकलन गर्ने, कुहिने र नकुहिने फोहोरलाई छुट्याएर वर्गीकरण गर्ने, कुहिने फोहोरलाई मल बनाउने र नकुहिनेलाई बाहिर सप्लाई गर्ने योजना हो,’ उनले भने, ‘उक्त स्थानमा केही मेसिनहरु पनि जडान हुन्छन् ।’
तर स्थानीयको अवरोधका कारण अहिले काम रोकिएको छ । विशेष गरी केवरपानी र सिलिङटारका स्थानीयले अवरोध गरेको पालिका स्तरीय फोहोर व्यवस्थापन बोर्डका अध्यक्ष दिनेश जोशीले बताए । ‘बोर्डले निर्णय गरेर १० रोपनी जग्गा पनि खरिद गरिसक्यौ,’ उनले भने, ‘वातावरणीय प्रभाव मूल्यांकन भएर काम पनि अघि बढिसकेको थियो तर केही व्यक्तिले काम गर्न दिएनन् ।’
वडा नम्वर २ र ३ को फोहोर व्यवस्थापनका लागि उक्त योजना अघि बढाइएको बताउँदै उनले थपे, ‘वातावरण प्रभाव मूल्यांकन रिपोर्टले वातावरण पर्यावरणलाई कुनै क्षति पुग्दैन भनिसक्यो, बस्तीलाई पनि असर पर्दैन भन्ने छ । तर स्थानीयले विरोधका लागि मात्र विरोध गरेको देखियो।’ ल्याण्डफिल्ड साइड निर्माण हुन लागेको स्थल नजिकै बस्ती समेत नरहेको उनले जानकारी गराए ।
केवरपानीका स्थानीय चन्द्रबहादुर गुरुङले सो क्षेत्रमा ल्याण्डफिण्ड साइड बनाउँदा खानेपानी मुहान नै दूषित हुने बताए । ‘पहिले पनि खानेपानी बनाइदिन्छु भनेर फसायो,’ उनले भने, ‘मनकामना बजार क्षेत्रको ढल हाम्रो खानेपानीको मुहानमा जान्छ, खेतबारीमा ढल पसेर हिड्न सक्ने अवस्था छैन । गाइवस्तुलाई पानी खुवाउन पनि समस्या बनाएको छ,’ उनले भने । पानीको मुहानामा असर गर्ने भएकाले ल्याण्डफिण्ड साइड निर्माणको काम रोकिदिएको उनले जानकारी गराए । ‘मनकामना बजारको मान्छे मात्र बाच्ने की हामी तलको मान्छे पनि बाच्ने ?’ उनले प्रश्न गरे ।
यता, फोहोर व्यवस्थापन बोर्डका अध्यक्ष जोशीले भने खानेपानीको मुहानमा कुनै असर नपर्ने जिकिर गरे । ‘अहिले मनकामना बजारको फोहोर वडा नम्वर २ स्थित काठेखोला भन्ने ठाउँमा अस्थायी रुपमा संकलन गर्ने गरेका छौ तर, व्यवस्थित छैन,’ उनले भने, ‘यो योजना सफल भए मनकामना बजार क्षेत्रसँगै वडा नम्वर २ र ३ को विभिन्न ठाउँको फोहोर व्यवस्थापनमा निकै सहज हुन्थ्या ।’ उक्त योजनाबाट स्थानीयलाई रोजगारको अवसर समेत सिर्जना हुने उनले बताए ।
वडा नम्वर ३ का अध्यक्ष दिपक पाण्डेले स्थानीयको बुझाइ फरक पर्दा समस्या भएको बताए । ‘मनकामनाको सबै फोहोर ल्याएर डम्प गर्न खोजे, यो ठाउँलाई बन्चरेडाँडा बनाउन खोजे भन्ने स्थानीयको बुझाइ छ तर, यो त्यस्तो होइन । सुख्खा ल्याण्डफिल्ड साइड हो,’ उनले भने । खानेपानी मुहानलाई समेत यसले असर नगर्ने उनको तर्क छ ।
फोहोरलाई मोहोरमा परिणत गर्ने लक्ष्यसहित पाइलट प्रोजेक्टको रुपमा यो योजना लागू गर्न लागिएको पालिका अध्यक्ष रमेश थापा मगरले बताए । बस्ती र खानेपानी मुहानमा यसले कुनै असर नगर्ने भन्दै ल्याण्डफिल्ड साइड निर्माणमा सहयोग गरिदिन उनले स्थानीयलाई आग्रह गरे ।
प्रतिक्रिया 4