
१९ वैशाख, काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) मा चुनाव अघिदेखि नै सुुरु भएको करण चौधरी र आकाश गोल्छाबीचको विवाद उत्कर्षमा पुगेको छ ।
विधान संशोधन प्रक्रिया नपुगेको भन्दै वरिष्ठ उपाध्यक्ष गोल्छालाई सदस्यमा घटुवा गरिएपछि विवाद उत्कर्षमा पुगेको हो ।
डेढ वर्षअघि भएको महाधिवेशनमा अध्यक्षका प्रत्यासी यी दुईबीचको विवाद अध्यक्षमा चौधरी र वरिष्ठ उपाध्यक्षमा गोल्छा हुने गरी टुंगिएको थियो ।
अर्को कार्यकालमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने गरी विधान समेत संशोधन गरिएको थियो । तर, निर्वाचनपछि पनि यो विवाद निरन्तर कायमै थियो ।
यसबीच गोल्छाले राजीनामा दिने पनि बताएका थिए । तर, अहिले आएर चौधरीले अचानक वरिष्ठ उपाध्यक्ष गोल्छालाई सदस्यमा झारेपछि विवाद बाहिर आएको हो ।
४७औैं साधारणसभा अगाडि नाडामा वरिष्ठ उपाध्यक्षको व्यवस्था थिएन । तर, उक्त साधारणसभाले वरिष्ठ उपाध्यक्षको पद राख्नेमात्र होइन, ऊ अर्को कार्यकालका लागि स्वतः अध्यक्ष हुने गरी विधान संशोधन गरेको थियो ।
त्यसअघि तीन जना मनोनित सदस्य हुने गरेकोमा त्यसलाई पाँच पुर्याउने व्यवस्था समेत साधारणसभाबाट भएको थियो ।
सोही अनुसार गोल्छा वरिष्ठ उपाध्यक्ष भएका थिए भने कार्यसमितिले अभिक ज्योति र निशान ढकाललाई केन्द्री सदस्य बनाएको थियो ।
तर, उक्त साधारणसभाले विधानमा गरेको संशोधन जिल्ला प्रशासन कार्यालयमा बुझाइ कार्यालयबाट स्वीकृत गराउनुपर्ने थियो ।
तर, नाडाको ४८औं साधारणसभा सकिँदा पनि त्यसअघिको साधारणसभाले गरेको विधान संशोधन प्रस्ताव जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जानकारी नगराएको देखिएको छ ।
जिल्ला प्रशासन कार्यालयले संशोधित विधानलाई मान्यता नदिएपछि त्यसअनुसार बनेका पदाधिकारीलाई जिल्ला प्रशासन कार्यालयले स्वीकार नगरेको नाडाका पदाधिकारी बताउँछन् ।
‘अध्यक्ष करण चौधरीले वरिष्ठ उपाध्यक्ष आकाश गोल्छालाई पहिलेबाट नै बाइपास गर्न खोजेका थिए । सोही अनुसार साधारणसभाबाट पास भएको व्यवस्थाबारे सीडीओ कार्यालयलाई जानकारी नै गराएनन्, विधान स्वीकृति नै गराएनन् । अहिले गोल्छालाई सोही व्यवस्था देखाएर सदस्यमा सीमित गरिएको हो,’ नाडाका एक कार्यसमिति सदस्य भन्छन् ।
तर, गोल्छा अर्को सामानान्तर संस्था ‘नाइमा’ स्थापनामा सक्रिय भएको झोँक फेर्न चौधरीले उनलाई घटुवा गरिदिएको स्रोतहरू बताउँछन् ।
सचिवालयको ढिलाइ हो, तर जानकारीविना निर्णय भयो : गोल्छा
वरिष्ठ उपाध्यक्षबाट कार्यसमिति सदस्यमा झारिएको बारे आफूलाई कार्यसमितिले निर्णय गरेको आफूलाई जानकारी नभएको आकाश गोल्छाले बताए ।
‘सीडीओ कार्यालयले विधान संशोधनलाई मान्यता नदिएको सत्य हो तर त्यो सचिवालयको ढिलाइका कारण भएको हो । फेरि, कार्यसमितिमा यसबारे लिखित निर्णय भएको पनि थाहा छैन, एकैचोटि वेबसाइटमा झारेको देखिन्छ,’ गोल्छाले अनलाइनखबरसँग भने ।
उनले वरिष्ठ उपाध्यक्षसँगै मनोनीत दुई जना निशान ढकाल र अभिक ज्योतिलाई पनि आमन्त्रित सदस्यमा झारेको बताए ।
अध्यक्ष चौधरीले अन्य पदाधिकारीसँग छलफल नै नगरी गोल्छा, ढकाल र ज्योतिलाई पदबाट हटाएको एक सदस्यले बताए ।
‘अध्यक्षले नै एकल निर्णय गर्ने, निजी कम्पनी जसरी चलाएकै कारण नाडा फुटेर नाइमा खुल्यो । अहिले भएको निर्णयले पनि नाडालाई ब्याक फायर गरेको छ,’ ती सदस्यले भने, ‘उनले आफूइतर समूहलाई सक्काउने खेलमा नाडा नै बदनाम भइरहेको छ ।’
नाडाका सदस्यहरू वरिष्ठ उपाध्यक्ष पदलाई हटाउने हो भने साधारणसभामै लैजानुपर्ने बताउँछन् । ‘कार्यसमितिले पास गरेर स्थापना गरेको पद होइन, यदि सीडीओ कार्यालयले दिएन भने फेरि साधारणसभामै लैजाऔं, त्यहीँ खारेज गर्ने कि के गर्ने निर्णय गरौं न १ व्यक्तिगत रूपमा निर्णय गर्दा नाडामा सधंै विवाद भइरहने भयो,’ ती सदस्य भन्छन् ।
प्रतिक्रिया 4