
१९ वैशाख, काठमाडौं । सरकारले सूचना प्रविधि क्षेत्रमा योगदान दिने व्यक्ति तथा संस्थालाई सात वटा विधामा ‘राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि अवार्ड’ वितरण गरेको छ ।
सातौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अवार्डसहित सम्मान गरेको हो ।
सरकारले नेशनल ‘आईसीटी एक्सेलेन्स अवार्ड २०२५’ प्रा.डा. शशिधर राम जोशीलाई प्रदान गरेको छ । उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको आईओएममा ४ दशकदेखि इन्जिनियरिङ क्षेत्रमा अध्यापन गर्दै आएका छन् । एआईबारे चासो राख्ने उनका अनुसन्धानमुलक लेखहरू १६ बढी भाषामा प्रकाशन भएका छन् ।
यस्तै नेशनल आईसीटी एक्सिलेन्स अवार्ड महिलातर्फ बन्दना शर्मा (भैरहवा रुपन्देही)ले पाएकी छिन् । उनी नेपाल बैंकमा कार्यरत छिन् । उनले नेपाल बैंकमा प्रविधि भित्राउनमा महत्वपूर्ण योगदान दिएको भन्दै सरकारले सम्मान गरेको हो ।
यस्तै नेशनल आईसीटी नवप्रवद्र्धन अवार्ड २०२५ ई–कागज पत्र प्रालिलाई प्रदान गरिएको छ । ललितपुरको महालक्ष्मीस्थानमा रहेको यो कम्पनीले सरकारी कागजलाई डिजिटलाइज्ड गर्दै आएको छ ।
यस्तै नेशनल आईसीटी अवार्ड पब्लिक सेक्टरबाट जल तथा मौसम विज्ञान विभागले पाएको छ । विभागले सरकारी सेवा प्रवाहमा सूचना प्रविधिको उच्चतम प्रयोग गरेर मौसमको जानकारी दिँदै आएको छ ।
यस्तै नेशनल आईसीटी अवार्ड प्राइभेट सेक्टरबाट माभोरियन डेभलपमेन्ट सिष्टम बालुवाटारले पाएको छ । माभोरियनले नेपालमै वेब डेभलपमेन्ट र डेटा सेन्टर स्थापना गरी साना तथा ठूला कम्पनीलाई सेवा प्रदान गर्दै आएको छ ।
यसैगरी नेशनल आइसिटी अवार्ड प्रादेशिक पब्लिक सेक्टर २०२५ तर्फ ललितपुर महानगरपालिकाले पाएको छ । छोटो समयमा बिलिङ सिष्टमलाई डिजिटलाइज्ड गरेवापत् लललितपुर महानगर सम्मानित भएको हो ।
नेशनल आइसिटी अवार्ड २०२५ प्रादेशिक प्राइभेट सेक्टरतर्फ निन्जा इन्फोसिस प्रालि बाँकेले पाएको छ । निन्जा इन्फोसिसले मोफसलमा रहेर डेटा सन्टर र वेब डेभलपमेन्टका सेवाहरू प्रदान गर्दै आएको छ ।
यसैगरी यस वर्षको नेशनल आईसीटी स्टार्टअप अवार्ड २०२५ ट्याकुम डिजिटल प्रालि नखीपोटलाई प्रदान गरिएको छ ।
सूचना प्रविधि सेवा निर्यात गरी नेपालमा सबैभन्दा बढी विदेशी मुद्रा भित्राउने कम्पनीको रूपमा स्प्राउट टेक्नोलोजीज सर्भिसेस (क्लाउड फ्याक्ट्री) र लिभफ्रग टेक्नोलोजी सम्मानित भएको छन् ।
स्प्राउट टेक्नोलोजी आईटी कम्पनी हो, जसले विभिन्न आईटी सम्बन्धी सेवाहरू आउटसोर्सिङ गर्दै आएको छ ।
यस्तै लिभफ्रग टेक्नोलोजीले पनि आईटी सम्बन्धी विभिन्न सेवाहरू आउटसोर्सिङ गर्दै आएको छ ।
त्यसैगरी आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा बढी कर तिर्ने आईसीटी कम्पनीको रूपमा एनसेल आजिआटा, फोन पे र ई–सेवा सम्मानित भएका छन् । एनसेल निजी स्वामित्वको दूरसञ्चार सवा प्रदायक क्षेत्र हो भने फोन पे र ईसेवा निजी क्षेत्रकै डिजिटल भुक्तानी सेवा प्रदायक हुन् ।
सबैलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अवार्ड प्रदान गरे ।
प्रतिक्रिया 4