+
+
Shares

‘केआईआईटी विश्वविद्यालयमा एनओसी बन्द गरियोस्’

राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले किट विश्वविद्यालयमा नेपाल सरकारले एनओसी दिन बन्द गर्नुपर्ने माग गरे । सरकारले समयमै सजग भएर आवश्यक नीति अवलम्बन गर्नुपर्ने सांसदहरूको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २१ गते १३:०१

२१ वैशाख, काठमाडौं । सांसदहरूले भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयमा एनओसी नदिन सुझाएका छन् ।

विदेशमा अध्ययन गर्न जानको लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, वैदेशिक अध्ययन (एनओसी) शाखाबाट वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिनुपर्छ । यस निम्ति कुन कुन कलेजमा लिन पाउने वा नपाउने भन्ने समेत सरकारले तय गर्ने गर्दछ ।

यही व्यवस्था अन्तर्गत केआईआईटी विश्वविद्यालयमा एनओसी बन्द गरिनुपर्ने कतिपय सांसदहरूको माग छ ।

आइतबार राष्ट्रिय सभाको बैठक सुरु भए लगत्तै सांसदहरूले केआईआईटी विश्वविद्यालयमा अध्ययनरत वीरगञ्जकी प्रिसा साह मृत भेटिएको विषयमा सरकारको ध्यानाकर्षण गरे ।

राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले किट विश्वविद्यालयमा नेपाल सरकारले एनओसी दिन बन्द गर्नुपर्ने माग गरे । ‘केआइआइटी विश्वविद्यालयमा एनओसी बन्द गरियोस्’, उनले भने ।

नेकपा एकीकृत समाजवादीकी सांसद मदन कुमारी साह केआईआईटी विश्वविद्यालयमा कुनै न कुनै समस्या रहेको बताउँछिन् । सरकारले उक्त विश्वविद्यालयमा एनओसी दिने विषयमा समेत ख्याल गर्नुपर्ने उनको आग्रह छ ।

‘जुन देशमा, जुन विश्वविद्यालयमा, जुन शिक्षण संस्थामा नेपाली विद्यार्थीहरू सुरक्षित छैनन् । सुरक्षाको अनुभुति छैन, प्रत्याभूति छैन त्यस्तो ठाउँमा विद्यार्थी पठाउनु हुन्न । एनओसी दिनुहुन्न भन्ने माग राख्न चाहन्छु’, उनले भनिन् ।

अन्याय नेपाल सधैं सहन तयार नरहेको भन्दै उनले एनओसीको विषयमा सरकारले ध्यान दिनुपर्ने उनले बताए । केआईआईटी विश्वविद्यालयमा विद्यार्थी नपठाउन अभिभावकलाई समेत उनको आग्रह छ ।

‘किट विश्वविद्यालयमा आफ्ना छोराछोरी नपढाउनको लागि म यही सभामार्फत नेपाली अभिभावक सबैलाई अनुरोध गर्न चाहन्छु, आह्वान गर्न चाहन्छु’, उनले भनिन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद शेखर कुमार सिंहले पनि केआईआईटी विश्वविद्यालयमा उस्तै घटना चार महिनामै दोहोरिएको भनेर सरकारको ध्यानाकर्षण गरे ।

नेपाल सरकारले समयमै सजग भएर आवश्यक नीति अवलम्बन गर्नुपर्ने उनको आग्रह छ । आइन्दा फेरि अर्को घटना हुन नदिनका लागि लाग्नुपर्ने उनको आग्रह छ ।

यसअघि सोही विश्वविद्यालयमा अध्ययनरत प्रकृति लम्साल पनि मृत फेला परेकी थिइन । फेरि साह मृत फेला परेपछि सांसदहरूले उक्त विश्वविद्यालयमा पढ्नका लागि अनुमति नै नदिन सरकारलाई आग्रह गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?