
अमेरिकामा गुगलविरुद्ध एकाधिकारको आरोपमा मुद्दा चलिरहेको छ । यो ऐतिहासिक मुद्दाले प्रविधि जगतमा हलचल नै मच्चाइदिएको छ ।
अमेरिकी न्याय मन्त्रालयले सर्च इन्जिनको बजारमा गुगलको दबदबालाई कम गर्नका लागि केही कठोर कदमहरू सिफारिस गरेको छ, जसमा गुगलले क्रोम ब्राउजर बेच्नुपर्ने सम्भावना पनि सामेल छ ।
गुगलका सीईओ सुन्दर पिचाईले भने यदि क्रोमलाई गुगलबाट छुट्टाउनु परेमा विद्यमान रुपमा गुगल सर्चको अन्त्य हुनसक्ने चेतावनी दिएका छन् ।
आफूविरुद्ध एकाधिकार विरोधी कानून अन्तर्गत चलेको मुद्दाबाट गुगल त तनावमा हुने नै भयो । तर, गुगलले क्रोम ब्राउजर गुमाउनुपर्ने झमेलाबाट मोजिल्ला फायरफक्स ब्राउजर पनि चिन्तित बनेको छ । यदि अमेरिकी अदालतले त्यहाँको न्याय मन्त्रालयको प्रस्तावलाई स्वीकृति दिएमा गुगल सर्च मात्र नभई फायरफक्स ब्राउजर र समग्रमा मोजिल्ला कम्पनीकै अस्तित्व संकटमा पर्ने उसको चिन्ता छ ।
मोजिल्लाका प्रमुख वित्तीय अधिकारी एरिक म्यूलहाइमले शुक्रबार अदालतमा बोल्दै यो निकै डरलाग्दो स्थिति रहेको बताएका थिए ।
द भर्जका अनुसार फायरफक्सको आम्दानीको अधिकांस हिस्सा गुगलसँगको उसको साझेदारीबाट प्राप्त हुने गर्दछ । फायरफक्समा गुगल सर्च इन्जिनलाई डिफल्ट सर्च इन्जिन बनाएबापत गुगलले रकम भुक्तान गर्ने गर्दछ । उक्त समझौता मोजिल्लाको करीब ८५ प्रतिशत आय तथा उसको नाफामूखी सहायक कम्पनीको ९० प्रतिशत आम्दानीको स्रोत हो ।
यदि गुगलबाट आउने उक्त आम्दानी समाप्त भएमा मोजिल्लाले कम्पनीमा ठूलो परिमाणमा कटौती गर्नुपर्नेछ, खासगरी फायरफक्सको इन्जिनियरिङ विभागमा ।
म्यूलहाइमका अनुार यसबाट फायरफक्स ब्राउजरको गुणस्तरमा गिरावट आउने मात्र नभई फायरफक्स ब्राउजर अधोगतितर्फ लाग्नेछ र अन्ततः त्यो पूर्णरुपमा बन्द हुने अवस्थामा पुग्नसक्छ ।
प्रतिक्रिया 4