२३ वैशाख, ललितपुर । काठमाडौंको तारकेश्वर नगरपालिका र ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले उपत्यकाव्यापी अन्तर पालिका गोदावरी मेयर कप फुटबल प्रतियोगितामा बराबरी खेलेका छन् ।
मंगलबार विहान च्यासल मैदानमा सम्पन्न खेलमा तारकेश्वर र कोन्ज्योसोम १–१ गोलको बराबरी खेलेका छन् । वर्षाका कारण गोदावरी बहुउदेश्यीय रंगशालाको मैदानमा खेल हुन नसकेपछि च्यासल मैदानमा खेलाइएको थियो ।
जारी प्रतियोगितामा यो पहिलो बराबरीमा हो । तारकेश्वरका लागि सुजन महर्जन र कन्ज्योसोमका लागि अनिल तामाङले गोल गरे । यो नतिजासँगै समूह ‘डी’ बाट तारकेश्वर र कोन्ज्योसोमले एक–एक अंक जोडेका छन् ।
अब दुबै टोलीले कीर्तिपुर नगरपालिकासँग प्रतिस्पर्धा गर्न बाँकी छ । बुधबार च्यासल मैदानमा महालक्ष्मी नगरपालिका र बाग्मती गाउँपालिकाबीच खेल हुनेछ ।
उपत्यकाका २१ मध्ये १३ पालिकाबीच प्रतिस्पर्धा भइरहेको छ । जेठ ३ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ५ लाख तथा उपविजेताले ३ लाख नगद पुरस्कार पाउनेछन् ।
प्रतिक्रिया 4