
२४ वैशाख, पोखरा । वडाध्यक्षले हातपात गरेको भन्दै पोखरा महानगरपालिकाका कर्मचारीले सेवा प्रवाह ठप्प पारेका छन् ।
वडा नम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुली प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंको कार्यकक्षमै मंगलबार प्रशासन महाशाखा प्रमुख ईश्वरीप्रसाद पोख्रेलमाथि जाइ लागेको भन्दै बुधबार बिहानैदेखि सेवा प्रवाह ठप्प पारेका हुन् ।
वडामा प्राविधिक कर्मचारी नपठाउँदा विकास निर्माणको काम नै ठप्प भएको भन्दै वडाध्यक्ष पराजुली पहिलेदेखि नै रुष्ट थिए ।
पराजुलीले यसअघि कर्मचारी नपठाउँका ठेक्का सम्झौता नै रोकिएर बजेट खर्च गर्न नसकेको भन्दै वडा कार्यालय नै राख्ने चेतावनी दिएका थिए ।
महानगरले केही दिनअघि मात्र वडा नम्बर ४ मा कर्मचारी पठाएको तर सल्लाह नै नगरी तालिमका राखेर अनुपस्थित भएको भन्दै वडाध्यक्ष पराजुली रुष्ट बनेका थिए ।
प्रशासन महाशाखा प्रमुख ईश्वरी प्रशाद पोख्रेलले एक दिने तालिमका लागि सबै वडाका कर्मचारीलाई परिपत्र नै गरेका थिए । तर, पुराजुलीले पहिले कर्मचारी नै नपठाउने र पठाइसकेपछि पनि सल्लाह नै नगरी तालिम राखिँदा सेवा प्रवाह नै रोकिएको भन्दै मंगलबार प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा पुगेका थिए ।
त्यही विषयमा छलफलका लागि प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा पुगेका पोख्रेल र वडाध्यक्ष पराजुलीबीच भनाभन भएको थियो ।
सोही क्रममा पौडेलमाथि हातपात भएको भन्दै मंगलबार कर्मचारीहरूले २४ घन्टाभित्र कारबाही गर्न अल्टिमेटम दिएका थिए ।
वडाध्यक्षले अपशब्द बोल्नै हातपात गर्दा पनि कारबाही गर्न तदारुकता नदेखाइएको भन्दै बुधबार सेवा प्रवाह ठप्प पारिएको कर्मचारीहरूले बताएका छन् । सबइन्जिनियर तालिममा गएपछि वडाध्यक्ष पराजुली जंगिएका थिए ।
स्थानीय तह कर्मचारी संघका महानगर कमिटी अध्यक्ष रेशम जिसीले वडाध्यक्ष कर्मचारीमाथि जाइलाग्ने कुरा गलत भएको बताए ।
‘गल्ती हुन सक्छ तर त्यसको पनि प्रक्रिया हुन्छ । कारबाही गर्ने पनि संयन्त्र छ । वडाध्यक्ष नै आएर जाइलाग्ने कुरा शोभनीय होइन,’ अध्यक्ष जिसीले भने । कुनै पनि वडाध्यक्ष आएर कर्मचारीमाथि जाइहाल्नेभन्दा सिस्टममा मेयरसँग भन्ने, मेयरले प्रमुख प्रशासकीय अधिकृतलाई भन्नुपर्ने र त्यहाँबाट कर्मचारी परिचालन हुने उनीहरुको भनाइ छ ।
आफूलाई प्रमुख प्रशासकीय अधिकृतले बताएपछि कार्यकक्षमा गएको र जानेबित्तिकै वडाध्यक्ष पराजुलीले अपशब्द बोल्दै आफ्नो कठालो समातेको प्रशासन महाशाखा प्रमुख पोख्रेलले बताए ।
वडाध्यक्ष पराजुलीले भने कर्मचारीका कारण वडाको काम नै ठप्प भएको बताउँछन् ।
‘पहिले कर्मचारी नै पठाइएन । मेयर, प्रमुख प्रशासकीय अधिकृतलाई पटक पटक भनेपछि पठाइयो तर सल्लाह नै नगरी सेवा ठप्प हुने गरी तालिम राखिएपछि आपत्ति जनाएको हुँ,’ पराजुलीले भने, ‘हातपात गरेको होइन, भनाभन चाहिँ भएको हो ।’
कर्मचारीमाथि मात्रै होइन, सर्वेश्वर मार्गका व्यवसायीमाथि पनि हातपात गरेको वडाध्यक्ष पराजुलीमाथि आरोप छ । पराजुलीविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी नै परेको सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।
प्रतिक्रिया 4