
२५ वैशाख, काठमाडौं । फोहोर व्यवस्थापनमा लापरबाही गरेको भन्दै काठमाडौं महानगरपालिकाले बसुन्धरामा रहेको बीपी स्मृति अस्पतालको फोहर संकलन रोक्का गरेको छ ।
महानगर टोलीले फोहोर संकलन रोक्का गरेर ५० हजार रुपैयाँ जरिबाना तिर्न पत्र पठाएको हो । स्थानीयले महानगरको कल सेन्टरमा फोन गरेर अस्पतालले फोहोर व्यवस्थापन नगरी धेरै दिनसम्म अस्पतालको कम्पाउन्डमा राखेर दुर्गन्ध फैलाएकाले नियन्त्रण गर्न अनुरोध गरेका थिए ।
कल सेन्टरबाट गुनासो टिपेर कार्यान्वयनका लागि वातावरण व्यवस्थापन विभाग पठाइएको थियो । गुनासोकर्ताले गत सोमबार गुनासो दर्ता गराएका थिए । त्यसलगत्तै विभागका वरिष्ठ अधिकृत सानुमैयाँ महर्जनको नेतृत्वमा वातावरण निरीक्षक सृष्टि श्रेष्ठ, स्वास्थ्य विभाग र महानगर प्रहरी बलका प्रतिनिधि सहित अनुगमन गरिएको थियो ।
अनुगमनमा फोहोर व्यवस्थापन अभ्यास हेर्ने क्रममा अस्पतालमा गुनासोकर्ताले गुनासो गरेजस्तै अस्पतालको कम्पाउन्डमा फोहोर राखेर दुर्गन्ध नफैलिए पनि अस्पतालको कम्पाउन्डको स्वच्छतामा भने कमजोरी थियो ।
यो अस्पतालमा अनुगमन गरिएको पहिलो पटक होइन । यसअघिका अनुगमनमा पनि मापदण्ड बुझाउँदै महानगरले चाहेको वातावरणीय अवस्थाका विषयमा बुझाइएको थियो ।
अस्पतालको फोहोर टोखाबाट सञ्चालित हिमालयन प्रालिले संकलन गर्ने गरेको छ । अनुगमन क्रममा वरिष्ठ अधिकृत महर्जनले महानगरपालिकाले हुन्छ नभनेसम्म फोहोर संकलन नगर्न निर्देशन दिइएको बताइन् ।
महानगर ऐन बमोजिम रासायनिक फोहोरमैला, औद्योगिक फोहोरमैला, स्वास्थ्य संस्थाजन्य फोहोरमैला, जोखिमपूर्ण फोहोरमैला वा हानिकारक फोहोरमैला जथाभावी फाल्ने, राख्ने वा निष्कासन गर्ने वा गराउनेलाई ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिबाना गराउन सकिन्छ ।
प्रतिक्रिया 4