
काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटीको ब्यस्तता फिल्ममा निकै बढेको छ । उनले एकपछि अर्को फिल्म साइन् गरिरहेकी छन् । ‘छक्कापञ्जा ५’ पछि वर्षा निकै डिमान्डेड बनेकी छन् ।
वर्षा अभिनित ‘झिल्को’ गतसाता रिलिज भयो । उनले हालै ‘माग्ने राजा’को छायांकन पनि सकिन् । उनले विहीबार मात्र नयाँ फिल्म साइन् गरेकी छन् ।
परिच्छेद सेनले निर्देशन गर्न लागेको फिल्म ‘महाराजधिराज’मा वर्षालाई शीर्षमध्येको भूमिकामा देख्न पाइनेछ । निर्मातासँग उनको लिखित समझदारी भएको छ ।
यसअघि यो फिल्ममा पल शाह र रमेश उप्रेती अनुबन्धित छन् । ‘टीम र उहाँहरूको प्रोजेक्टप्रतिको मिहेनत, तयारी र गम्भीरताले काम गर्न मन भएको हो’ फिल्म साइन् गरेपछि वर्षाले अनलाइनखबरसँग भनिन्, ‘अहिले उहाँहरू र मेरो समय मिलेपछि साइन् गरेकी हुँ ।’
वर्षालाई दशैंमा रिलिज हुने फिल्म फापेजस्तो देखिन्छ । दशैंमा रिलिज भएका उनी अभिनित ‘छक्कापञ्जा ५’ र ‘परदेशी २’ दुबै हिट भए । ‘महाराजधिराज’ पनि दशैंमा प्रदर्शन हुने निर्माताको भनाई छ । यदि यो फिल्म हिट भएमा वर्षाको दशैं ह्याट्रिक हुनेछ ।
यो फिल्मका प्रस्तुतकर्ता विराज बिष्ट हुन् । उनले यसअघि ‘बुलाकी’ निर्माण गरेका थिए, जसले राष्ट्रिय चलचित्र पुरस्कार जितेको थियो । फिल्मको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन् ।
प्रतिक्रिया 4