
२६ वैशाख, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले जनमत पार्टीसँगको स्थगित एकता प्रक्रिया चाँडै सम्पन्न हुने बताएकी छन् ।
संसद् भवन नयाँ बानेश्वरमा शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष श्रेष्ठले जनमत पार्टीसँग एकता चाँडै टुंगिने बताएकी हुन् ।
जनमतका अध्यक्ष सीके राउतको व्यस्तताको कारण एकतामा ढिलाइ भएको बताएकी श्रेष्ठले राउत फर्किएपछि छलफल गरेर एकताको मिति घोषणा गरिने बताइन् ।
सरकार नछाड्ने
अध्यक्ष श्रेष्ठले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिने र सरकार नछाड्ने बताएकी छन् । पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेपछि उनले सरकार छाड्ने घोषणा गरेकी थिइन् ।
जनमत पार्टीसँग एकता घोषणाका लागि आयोजित कार्यक्रमस्थलबाटै चौधरी पक्राउ परेपछि एकता घोषणा कार्यक्रम पनि बिथोलिएको थियो ।
सर्वोच्च अदालतको आदेशमा रेशम सोही दिन छुटे पनि नाउपाले चौधरी पक्राउबारे सरकारसँग जवाफ मागिरहेको थियो ।
गृहमन्त्री रमेश लेखकले बिहीबार प्रतिनिधिसभाका सांसदले राखेका जिज्ञासाको जवाफ दिने क्रममा रेशम चौधरीलाई पक्राउ गर्ने सरकारको कुनै निर्णय वा नियत नरहेको भन्दै स्पष्टीकरण दिएका थिए ।
‘गृहमन्त्रीले जवाफ दिइसकेको अवस्थामा अब सरकारबाट बाहिरिने निर्णयमा हामी पुग्दैनौं,’ शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै नाउपा अध्यक्ष श्रेष्ठले भनिन्, ‘गृहमन्त्रीले जवाफ नदिनुभएको भए छुट्टै पाटो थियो । उहाँले हामीले भनेको निश्चित समयमा जवाफ दिइसक्नुभएकाले अहिले सरकारमै रहन्छौं ।’
प्रतिक्रिया 4