+
+
Shares

बहुचर्चित डायलग ‘हे’बारे राजेश हमाल : यो अन्याय रोकिन्छ भन्ने संकेत हो

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २६ गते १५:३३

काठमाडौं । अभिनेता राजेश हमाल अहिले ‘कमब्याक’ले चर्चामा छन् । ८ वर्षपछि उनी ‘नरसिंहा अवतार’बाट पर्दामा फर्किदैंछन् । फिल्मको ट्रेलर सार्वजनिक भएको छ र केही घण्टामै युट्युबको नेपाल ट्रेन्डिङमा छ ।

ट्रेलर सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा हमाल मिडियासँग फिल्म र निजत्वबारे खुले । प्रश्नोत्तरको क्रममा उनलाई उनको बहुचर्चित डायलग ‘हे…’बारे सोधियो । नहोस् पनि किन, हमाल भन्ने वित्तिकै दर्शकले उनको यो डायलग सम्झिन्छन् ।

‘नरसिंहा अवतार’को ट्रेलरमा पनि यो डायलग समेटिएको छ । ‘हे’ डायलग राख्ने निर्णयबारे हमाललाई जब सोधियो, उनले यस्तो निर्णय निर्देशक दिवाकर भट्टराईले गरेको बताए । उनले ‘हे’ शब्द मात्र नभएर एउटा संकेत भएको पनि बताए ।

हमालले भने, ‘हे डायलग राख्ने कुरामा मैले त सोच्या पनि थिइन । खाली हे हे मात्र होइन । कि यसको गहिरो अर्थ छ । जहाँ अन्याय र अत्याचार भैरहेको छ, त्यहाँ मेरो चरित्र प्रकट भएर हे भनेपछि अन्याय र अत्याचार रोकिन्छ भन्ने संकेत हो । त्यसकारण यसको गहिरो माने छ ।’

उनले छायांकन गर्ने बेलासम्म यो संवाद राख्ने आफ्नो दिमागमा नआएको बताएका छन् । ‘सिन गर्ने बेलासम्म पनि हे भन्ने डायलग मेरो दिमागमा आएको थिएन । दिवाकरजीले भन्नुभयो’ उनले सम्झिए । यो डायलगलाई निर्देशक भट्टराईले डायलग मात्र भन्दा ‘स्लोगन’ भएको बताए ।

उनले यो फिल्मबाट पुनरागमन गर्नुको कारणबारे पनि प्रष्टीकरण दिए । उनले भने, ‘म रफ्तारमा चलचित्र गरिहाल्ने मनस्थितीमा थिइँन । इमान्दारपूर्वक भन्नुपर्दा, जब दिवाकरजीले यो प्रोजेक्ट ल्याउनुभयो, उहाँको कथा सुृन्दा कथा यसरी ढालिएको छ कि यो विन्दुमा, यस्तो चरित्रमा पात्रमा अभिनय गर्दा चाहिँ ठीक हुन्छ जस्तो लाग्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?