+
+
Shares
ओके छ त :

‘घाँटीको उपचार गर्न काठमाडौं आएँ, कमेडियन बनेँ’

सुन्दर खनाल, कमेडियन सुन्दर खनाल, कमेडियन
२०८२ वैशाख २९ गते ७:११

Quick Summary

AI-generated by OK AI. Editorially reviewed.
  • उपयोगकर्ताले रेडियो अडियो र टेलिभिजन कार्यक्रमहरूमा काम गर्न थालेपछि आफ्नो करियरको यात्रा सुरु गरे।
  • उनले स्ट्यान्डअप कमेडी र नक्कल गर्ने कला विकास गरे र विभिन्न कार्यक्रमहरूमा भाग लिए।
  • उनको संघर्ष र प्रयासले उनलाई कमेडियनको रुपमा स्थापित गरायो र उनले आफ्नै कार्यक्रम सुरु गरे।

म काठमाडौं घाँटीको उपचार गर्न आएको थिएँ । त्यही बेला ‘रेडियो अडियो’ का सञ्चालक दीपेन्द्र खनियासँग भेट भयो । म दमौलीमा छँदा उनले म्यासेज गरेका थिए, ‘काठमाडौं आएको बेला भेट्नुहोला ।’

दमौलीमा रहँदा म विभिन्न कार्यक्रम सञ्चालन गर्थेँ । त्यही क्रममा मैले एउटा कार्यक्रमको लिंक रेडियो अडियोमा पठाएको थिएँ । त्यही कार्यक्रम हेरेपछि दीपेन्द्रले मलाई म्यासेज गरेका रहेछन् । पछि म काठमाडौं आएँ, घाँटीको उपचार गर्न । उपचारपछि निको भएँ र रेडियो अडियोको कार्यालय पुगेँ ।

त्यहाँ मलाई तत्काल कामको प्रस्ताव आयो । मैले रेडियो अडियोमा काम सुरु गरेँ। यहाँसम्म आइपुग्दा मेरो करियरमा कुनै ठूलो उतारचढाव आएन। तर, करियरको सुरुवाती चरणमै घाँटीको समस्याले मलाई फेरि सतायो । केही समय आराम गर्नुपर्ने अवस्था आयो। म दमौली फर्किएँ। सात महिनापछि पुनः काठमाडौं आएँ ।

त्यसपछि मैले युट्युब यात्रा सुरु गरेँ । ‘बेबी शो’ नामक एउटा कार्यक्रम चलाउन थालेँ, जसमा कलाकारहरूलाई बोलाएर कुराकानी गर्थेँ । युट्युब कार्यक्रम राम्रै चलिरहेको थियो, तर मेरो मन भने सन्तुष्ट थिएन । किनभने मलाई युट्युबर बन्ने रहर थिएन, कमेडियन बन्ने सपना थियो ।

यसबीचमा मलाई युट्युब कार्यक्रमका लागि केही प्रस्ताव आए। तर, मैले एउटा सिरियल रोजेँ। त्यो सिरियलमा एक एपिसोडको जम्मा ७०० रुपैयाँ पारिश्रमिक थियो । लुगा आफैँ किन्नुपर्ने, कहिले बूढोको भूमिका गर्नुपर्ने, थोत्रो लुगा र सेतो दाह्रीका लागि सामान किन्नुपर्ने । पाइने पारिश्रमिकभन्दा खर्च बढी हुने भएपछि यो कामले करियर बन्दैन भन्ने लाग्यो र सिरियल छोडिदिएँ ।

त्यसपछि म दोधारमा परेँ । न युट्युबमा फर्कन मन थियो, न सिरियलमा । यही बेला स्ट्यान्डअप कमेडीको लहर सुरु भइसकेको थियो । मलाई यो मेरो लागि उपयुक्त हुन सक्छ जस्तो लाग्यो ।

मैले स्ट्यान्डअप कमेडीका भिडियोहरू हेर्न थालेँ । त्यसैअनुसार स्क्रिप्ट लेख्ने र अभ्यास गर्ने काम सुरु गरेँ । तर, आफ्नो कला कहाँ प्रस्तुत गर्ने ? कसलाई देखाउने ? मेसो पाइरहेको थिइनँ ।

रेडियो अडियोमा कार्यक्रम सञ्चालन गर्ने कमेडियन राजा राजेन्द्रलाई मैले आफ्ना स्क्रिप्ट र विचारहरू सुनाएँ । उनले पनि ‘नेपाल कमेडी शो’ को तयारी गरिरहेका रहेछन् । हामीले सँगै काम गर्ने सल्लाह गर्यौँ । जनता टिभीमा कार्यक्रम प्रसारण हुने पक्का भयो। तर, कोभिड-१९ महामारीका कारण लकडाउन भयो ।

लकडाउनको समयमा राजा राजेन्द्र र मैले स्ट्यान्ड अप कमेडी जारी राख्यौँ। तर, त्यसबाट खासै उपलब्धि हासिल भइरहेको थिएन। यस्तैमा ‘नेपाल कमेडी च्याम्पियन’ को अडिसन खुल्यो । म अडिसनमा छानिएँ र निर्णायकहरूको नजरमा परेँ।

प्रकाश सुवेदी र उत्सव रसाइलीको नक्कल गरेपछि धेरैले मेरो प्रशंसा गरे। निर्णायक र आयोजकहरूले ‘स्याबास’ भने । धेरैको अनुमान थियो, ‘यो केटा फाइनलमा पुग्न सक्छ।’ मलाई पनि आत्मविश्वास बढेको थियो ।

तर, भोटिङ राउन्ड सुरु भएपछि पहिलो चरणमै म बाहिरिएँ । ‘सुन्दर किन बाहिरियो ? ’ भन्ने प्रश्न धेरैले सोधे । वाइल्ड कार्ड इन्ट्रीबाट फर्काउने कुरा पनि चल्यो, तर स्वास्थ्य समस्याका कारण म फर्किन सकिनँ। कार्यक्रम सकियो ।

त्यसपछि मलाई आफू हराएको महसुस हुन थाल्यो। पहिलेजस्तो कामका प्रस्ताव पनि आउन छाडे। यही बेला ‘कमेडी हब’ को प्रस्ताव आयो । कुराकानी भयो, तर मलाई यो उपयुक्त लागेन। मैले आफैँ कार्यक्रम गर्ने निधो गरेँ र एपिवान टेलिभिजनसँग सम्झौता गरेँ। टिम र एजेन्सीहरूसँग कुरा भइसकेको थियो ।

तर, एजेन्सीहरूको आलटालले काम राम्रो भएन । त्यसपछि ग्यालेक्सी टिभीमा गएँ। त्यहाँ बजेट कम थियो। पार्टी प्यालेसमा कार्यक्रम गर्ने कुरा भयो, तर सहमति नहुँदै टिभी नै बन्द भयो ।

मेरो यात्राको पाइला-पाइलामा ठेस लागिरह्यो । यही बेला ‘कमेडी क्लब च्याम्पियन’ चलिरहेको थियो। त्यहाँबाट एउटा एपिसोडमा गेस्टको नक्कल गर्न प्रस्ताव आयो । मैले मदनकृष्ण श्रेष्ठको अगाडि उनैको नक्कल गरेँ। त्यसपछि शोका निर्माता विशाल भण्डारीले ‘सँगै काम गरौँ’ भने ।

म ‘कमेडी क्लब’ मा जोडिएँ । त्यहाँ मैले पत्रकार विजयकुमार पाण्डे, भस्मे डन र दिनबन्धु पोखरेलको नक्कल गरेँ । शो ३५ एपिसोडसम्म पुग्यो । पहिलेदेखि स्थापित कलाकारहरूले आफ्नो स्थान बनाइसकेका थिए। म नयाँ भएकाले सोचेजस्तो पहिचान बनाउन सकिरहेको थिइनँ ।

त्यहाँ रहँदा मलाई ‘यो पर्याप्त छैन, केही नयाँ गर्नुपर्छ’ भन्ने लाग्यो। त्यसपछि हामीले ‘कमेडी दरबार’ सुरु गर्यौँ । यसका लागि धेरै दौडधुप गर्नुपर्‍यो। तर, यो हामीले सोचेजस्तै सफल भयो ।

कसरी कमेडियन बनेँ ?

मेरो जीवनमा ठोस योजना थिएन । परिवारले ‘पढ, पढ’ मात्र भन्थे। म स्कूलमा हास्यव्यङ्ग्य, वक्तृत्वकला र हाजिरीजवाफमा भाग लिन्थेँ। नृत्य र गायनमा भने मलाई भाग लिन दिइँदैनथ्यो ।

त्यतिबेला गाउँमा टेलिसिरियल ‘मेरी बास्सै’ को खड्काजी पात्र निकै लोकप्रिय थियो। मैले त्यसैको नक्कल गर्न थालेँ । म त्यतिबेला कक्षा १० मा पढ्थेँ। यो ‘हेरौँ न त’ भनेर सुरु गरेको थिएँ, तर सबैले मन पराए। साथीहरूले अरू पात्रको नक्कल गर्न हौस्याए। त्यसपछि मेरो जीवनमा दोस्रो पात्रको नक्कल आयो—केपी शर्मा ओली। उनको नक्कल पनि मैले ‘मेरी बास्सै’ कै सिताराम कट्टेलबाट सिकेको थिएँ ।

पछि दमौली गएर रेडियो जक्कीको तालिम लिएँ । मलाई सानैदेखि रेडियोमा बोल्न मन पर्थ्यो। रेडियोमा बोल्न रमाइलो होला भन्ने लाग्थ्यो। ममा सानैदेखि बोल्ने आत्मविश्वास थियो। तालिममा चटपटे शैलीको कार्यक्रम गर्नुपर्ने थियो । त्यसमा मैले खड्काजीको नक्कल गरेँ। सबैले यो नक्कल राम्रो छ भनेर नियमित रूपमा रेडियोमा त्यही नक्कल गराउन थाले ।

त्यसपछि मलाई नियमित रूपमा विभिन्न पात्रहरूको नक्कल गर्न लगाइयो। ‘मेरी बास्सै’ मा नयाँ पात्र आउनासाथ नक्कल गर्नुपर्थ्यो। स्कूल, मेला र महोत्सवहरूमा पनि नक्कल गर्न थालेँ। यसरी मेरो कमेडी यात्रा सुरु भयो ।

तर, मलाई सधैँ अरूको नक्कल गर्छु भन्ने सोच थिएन । मेरो बुबाको इच्छा म पढेर इन्जिनियर बनूँ भन्ने थियो, तर त्यो पूरा भएन ।

विजयकुमारदेखि विपिन कार्कीसम्म

मैले जति पात्रको नक्कल गरेँ, तीमध्ये धेरैसँग पछि कुनै न कुनै रूपमा जोडिएको छु। तर, विजयकुमार पाण्डेसँग भने अहिलेसम्म प्रत्यक्ष भेट भएको छैन । प्रकाश सुवेदी, मदनकृष्ण श्रेष्ठ र विपिन कार्कीको अगाडि उनीहरूकै नक्कल गरेको छु। अहिलेसम्म सबैबाट राम्रो प्रतिक्रिया पाएको छु ।

मैले दुर्गा प्रसाईंको नक्कल गर्न धेरै प्रयास गरेँ, तर उनको आवाजको पिच मिलाउन सकिरहेको छैन । कुनै पात्रको नक्कल गर्नुअघि उसको लवाइखवाइ, चालढाल, प्रतिक्रिया दिने शैली, अनुहारको भाव, थेगो, र बोलीचालीलाई सूक्ष्म रूपमा अवलोकन गर्नुपर्छ।

हामी कुन मनस्थितिमा छौँ ? के बोल्ने ? कसरी बोल्ने ? कहिलेकाहीँ अपडेट नै हुँदैन । कतिपय अवस्थामा दिमाग नै ह्याङ हुन्छ। कहिलेकाहीँ आफूले तयार गरेको प्रस्तुति अरूले पनि प्रस्तुत गरिदियो भने त्यस्तै दिने अवस्था हुँदैन ।

फोटो–भिडियो : शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?