Quick Summary
AI-generated by OK AI. Editorially reviewed.- रेडियो अडियोमा काम गर्न थालेपछि उनको करियरको यात्रा सुरु भयो र उनले स्ट्यान्डअप कमेडी र टेलिभिजन कार्यक्रममा भाग लिए।
- उनले विभिन्न पात्रहरूको नक्कल र अभिनयमार्फत आफ्नो पहिचान बनाउँदै गए र अन्ततः \'कमेडी क्लब\' र \'कमेडी दरबार\' जस्ता कार्यक्रमहरू सञ्चालन गरे।
- उनको जीवनमा धेरै उतारचढाव आए, तर उनले आफ्नो कला र सपना अनुसार काम जारी राखे र नेपाली कमेडी क्षेत्रमा आफ्नो स्थान बनाएका छन्।
म काठमाडौं घाँटीको उपचार गर्न आएको थिएँ । त्यही बेला ‘रेडियो अडियो’ का सञ्चालक दीपेन्द्र खनियासँग भेट भयो । म दमौलीमा छँदा उनले म्यासेज गरेका थिए, ‘काठमाडौं आएको बेला भेट्नुहोला ।’
दमौलीमा रहँदा म विभिन्न कार्यक्रम सञ्चालन गर्थें । त्यही क्रममा मैले एउटा कार्यक्रमको लिंक रेडियो अडियोमा पठाएको थिएँ । त्यही कार्यक्रम हेरेपछि दीपेन्द्रले मलाई म्यासेज गरेका रहेछन् । पछि म काठमाडौं आएँ, घाँटीको उपचार गर्न । उपचारपछि निको भएँ र रेडियो अडियोको कार्यालय पुगेँ ।
त्यहाँ मलाई तत्काल कामको प्रस्ताव आयो । मैले रेडियो अडियोमा काम सुरु गरें। यहाँसम्म आइपुग्दा मेरो करियरमा कुनै ठूलो उतारचढाव आएन। तर, करियरको सुरुवाती चरणमै घाँटीको समस्याले मलाई फेरि सतायो । केही समय आराम गर्नुपर्ने अवस्था आयो। म दमौली फर्किएँ। सात महिनापछि पुनः काठमाडौं आएँ ।
त्यसपछि मैले युट्युब यात्रा सुरु गरें । ‘बेबी शो’ नामक एउटा कार्यक्रम चलाउन थालें, जसमा कलाकारहरूलाई बोलाएर कुराकानी गर्थें । युट्युब कार्यक्रम राम्रै चलिरहेको थियो, तर मेरो मन भने सन्तुष्ट थिएन । किनभने मलाई युट्युबर बन्ने रहर थिएन, कमेडियन बन्ने सपना थियो ।
यसबीचमा मलाई युट्युब कार्यक्रमका लागि केही प्रस्ताव आए। तर, मैले एउटा सिरियल रोजेँ। त्यो सिरियलमा एक एपिसोडको जम्मा ७०० रुपैयाँ पारिश्रमिक थियो । लुगा आफैं किन्नुपर्ने, कहिले बूढोको भूमिका गर्नुपर्ने, थोत्रो लुगा र सेतो दाह्रीका लागि सामान किन्नुपर्ने । पाइने पारिश्रमिकभन्दा खर्च बढी हुने भएपछि यो कामले करियर बन्दैन भन्ने लाग्यो र सिरियल छोडिदिएँ ।
त्यसपछि म दोधारमा परेँ । न युट्युबमा फर्कन मन थियो, न सिरियलमा । यही बेला स्ट्यान्डअप कमेडीको लहर सुरु भइसकेको थियो । मलाई यो मेरो लागि उपयुक्त हुन सक्छ जस्तो लाग्यो ।
मैले स्ट्यान्डअप कमेडीका भिडियोहरू हेर्न थालें । त्यसैअनुसार स्क्रिप्ट लेख्ने र अभ्यास गर्ने काम सुरु गरेँ । तर, आफ्नो कला कहाँ प्रस्तुत गर्ने ? कसलाई देखाउने ? मेसो पाइरहेको थिइनँ ।
रेडियो अडियोमा कार्यक्रम सञ्चालन गर्ने कमेडियन राजा राजेन्द्रलाई मैले आफ्ना स्क्रिप्ट र विचारहरू सुनाएँ । उनले पनि ‘नेपाल कमेडी शो’ को तयारी गरिरहेका रहेछन् । हामीले सँगै काम गर्ने सल्लाह गर्यौँ । जनता टिभीमा कार्यक्रम प्रसारण हुने पक्का भयो। तर, कोभिड-१९ महामारीका कारण लकडाउन भयो ।
लकडाउनको समयमा राजा राजेन्द्र र मैले स्ट्यान्ड अप कमेडी जारी राख्यौँ। तर, त्यसबाट खासै उपलब्धि हासिल भइरहेको थिएन। यस्तैमा ‘नेपाल कमेडी च्याम्पियन’ को अडिसन खुल्यो । म अडिसनमा छानिएँ र निर्णायकहरूको नजरमा परेँ।
प्रकाश सुवेदी र उत्सव रसाइलीको नक्कल गरेपछि धेरैले मेरो प्रशंसा गरे। निर्णायक र आयोजकहरूले ‘स्याबास’ भने । धेरैको अनुमान थियो, ‘यो केटा फाइनलमा पुग्न सक्छ।’ मलाई पनि आत्मविश्वास बढेको थियो ।
तर, भोटिङ राउन्ड सुरु भएपछि पहिलो चरणमै म बाहिरिएँ । ‘सुन्दर किन बाहिरियो ? ’ भन्ने प्रश्न धेरैले सोधे । वाइल्ड कार्ड इन्ट्रीबाट फर्काउने कुरा पनि चल्यो, तर स्वास्थ्य समस्याका कारण म फर्किन सकिनँ। कार्यक्रम सकियो ।
त्यसपछि मलाई आफू हराएको महसुस हुन थाल्यो। पहिलेजस्तो कामका प्रस्ताव पनि आउन छाडे। यही बेला ‘कमेडी हब’ को प्रस्ताव आयो । कुराकानी भयो, तर मलाई यो उपयुक्त लागेन। मैले आफैँ कार्यक्रम गर्ने निधो गरेँ र एपिवान टेलिभिजनसँग सम्झौता गरेँ। टिम र एजेन्सीहरूसँग कुरा भइसकेको थियो ।
तर, एजेन्सीहरूको आलटालले काम राम्रो भएन । त्यसपछि ग्यालेक्सी टिभीमा गएँ। त्यहाँ बजेट कम थियो। पार्टी प्यालेसमा कार्यक्रम गर्ने कुरा भयो, तर सहमति नहुँदै टिभी नै बन्द भयो ।
मेरो यात्राको पाइला-पाइलामा ठेस लागिरह्यो । यही बेला ‘कमेडी क्लब च्याम्पियन’ चलिरहेको थियो। त्यहाँबाट एउटा एपिसोडमा गेस्टको नक्कल गर्न प्रस्ताव आयो । मैले मदनकृष्ण श्रेष्ठको अगाडि उनैको नक्कल गरेँ। त्यसपछि शोका निर्माता विशाल भण्डारीले ‘सँगै काम गरौँ’ भने ।
म ‘कमेडी क्लब’ मा जोडिएँ । त्यहाँ मैले पत्रकार विजयकुमार पाण्डे, भस्मे डन र दिनबन्धु पोखरेलको नक्कल गरेँ । शो ३५ एपिसोडसम्म पुग्यो । पहिलेदेखि स्थापित कलाकारहरूले आफ्नो स्थान बनाइसकेका थिए। म नयाँ भएकाले सोचेजस्तो पहिचान बनाउन सकिरहेको थिइनँ ।
त्यहाँ रहँदा मलाई ‘यो पर्याप्त छैन, केही नयाँ गर्नुपर्छ’ भन्ने लाग्यो। त्यसपछि हामीले ‘कमेडी दरबार’ सुरु गर्यौँ । यसका लागि धेरै दौडधुप गर्नुपर्यो। तर, यो हामीले सोचेजस्तै सफल भयो ।
कसरी कमेडियन बनें ?
मेरो जीवनमा ठोस योजना थिएन । परिवारले ‘पढ, पढ’ मात्र भन्थे। म स्कूलमा हास्यव्यङ्ग्य, वक्तृत्वकला र हाजिरीजवाफमा भाग लिन्थेँ। नृत्य र गायनमा भने मलाई भाग लिन दिइँदैनथ्यो ।
त्यतिबेला गाउँमा टेलिसिरियल ‘मेरी बास्सै’ को खड्काजी पात्र निकै लोकप्रिय थियो। मैले त्यसैको नक्कल गर्न थालेँ । म त्यतिबेला कक्षा १० मा पढ्थेँ। यो ‘हेरौँ न त’ भनेर सुरु गरेको थिएँ, तर सबैले मन पराए। साथीहरूले अरू पात्रको नक्कल गर्न हौस्याए। त्यसपछि मेरो जीवनमा दोस्रो पात्रको नक्कल आयो-केपी शर्मा ओली। उनको नक्कल पनि मैले ‘मेरी बास्सै’ कै सिताराम कट्टेलबाट सिकेको थिएँ ।
पछि दमौली गएर रेडियो जक्कीको तालिम लिएँ । मलाई सानैदेखि रेडियोमा बोल्न मन पर्थ्यो। रेडियोमा बोल्न रमाइलो होला भन्ने लाग्थ्यो। ममा सानैदेखि बोल्ने आत्मविश्वास थियो। तालिममा चटपटे शैलीको कार्यक्रम गर्नुपर्ने थियो । त्यसमा मैले खड्काजीको नक्कल गरेँ। सबैले यो नक्कल राम्रो छ भनेर नियमित रूपमा रेडियोमा त्यही नक्कल गराउन थाले ।
त्यसपछि मलाई नियमित रूपमा विभिन्न पात्रहरूको नक्कल गर्न लगाइयो। ‘मेरी बास्सै’ मा नयाँ पात्र आउनासाथ नक्कल गर्नुपर्थ्यो। स्कूल, मेला र महोत्सवहरूमा पनि नक्कल गर्न थालेँ। यसरी मेरो कमेडी यात्रा सुरु भयो ।
तर, मलाई सधैँ अरूको नक्कल गर्छु भन्ने सोच थिएन । मेरो बुबाको इच्छा म पढेर इन्जिनियर बनूँ भन्ने थियो, तर त्यो पूरा भएन ।
विजयकुमारदेखि विपिन कार्कीसम्म
मैले जति पात्रको नक्कल गरेँ, तीमध्ये धेरैसँग पछि कुनै न कुनै रूपमा जोडिएको छु। तर, विजयकुमार पाण्डेसँग भने अहिलेसम्म प्रत्यक्ष भेट भएको छैन । प्रकाश सुवेदी, मदनकृष्ण श्रेष्ठ र विपिन कार्कीको अगाडि उनीहरूकै नक्कल गरेको छु। अहिलेसम्म सबैबाट राम्रो प्रतिक्रिया पाएको छु ।
मैले दुर्गा प्रसाईंको नक्कल गर्न धेरै प्रयास गरें, तर उनको आवाजको पिच मिलाउन सकिरहेको छैन । कुनै पात्रको नक्कल गर्नुअघि उसको लवाइखवाइ, चालढाल, प्रतिक्रिया दिने शैली, अनुहारको भाव, थेगो, र बोलीचालीलाई सूक्ष्म रूपमा अवलोकन गर्नुपर्छ।
हामी कुन मनस्थितिमा छौं ? के बोल्ने ? कसरी बोल्ने ? कहिलेकाहीँ अपडेट नै हुँदैन । कतिपय अवस्थामा दिमाग नै ह्याङ हुन्छ। कहिलेकाहीँ आफूले तयार गरेको प्रस्तुति अरूले पनि प्रस्तुत गरिदियो भने त्यस्तै दिने अवस्था हुँदैन ।
फोटो/भिडियो : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4