
News Summary
Generated by OK AI. Editorially reviewed.- विद्यार्थीहरूले आफैंले योजना बनाउने, डिजाइन गर्ने र कार्यान्वयन गर्ने प्रक्रिया मार्फत नेतृत्व र स्वामित्वको भावना विकास गरेका छन्।
- फ्युचरप्रेनर्स फेयर र एनईबी स्टिम फेयर जस्ता कार्यक्रमहरूले विद्यार्थीको सिर्जनात्मकता, व्यावहारिक सोच र नवप्रवर्तनलाई प्रवर्द्धन गरेका छन्।
- द भ्वाइस पत्रिकाले विद्यार्थीलाई नेतृत्व, सशक्तीकरण र विद्यालय संस्कृतिमा आफ्नो आवाज प्रस्तुत गर्ने अवसर प्रदान गरेको छ।
२९ वैशाख, काठमाडौं । प्रिमियर इन्टरनेसनल आईबी कन्टिन्युम स्कुलका एनईबी कार्यक्रमका विद्यार्थीहरूले यस वर्ष तीन प्रमुख पहल ‘द भ्वाइस’, ‘फ्युचरप्रेनर्स फेयर २०२५’, र ‘एनईबी स्टिम फेयर’ नेतृत्व गरेका छन् । जसले उनीहरूको शैक्षिक रुचि र व्यावहारिक सोचको स्पष्ट प्रतिविम्ब प्रस्तुत गरेको छ ।
यी कुनै विद्यालयद्वारा तोकिएका परियोजना थिएनन् । बरु, विद्यार्थी आफैंले योजना बनाए, डिजाइन गरे र कार्यान्वयन गरे, जसले एनईबी कार्यक्रमको मूलशक्ति विद्यार्थी स्वामित्व र नेतृत्वलाई उजागर गरेको थियो ।
व्यवसाय र सिर्जनात्मकताको संगम : फ्युचरप्रेनर्स फेयर २०२५
व्यवस्थापन र मार्केटिङप्रति रुचि राख्ने एनईबी विद्यार्थीले फ्युचरप्रेनर्स फेयरमा गोल्डस्टार, सेन्चुरी, मक्कुसे र सिल्क आर्टिसनल क्रिमरी जस्ता स्थापित ब्रान्डका लागि आफ्नै सोचमा आधारित रणनीति र मार्केटिङ योजना प्रस्तुत गरे ।
गोल्डस्टारका कार्यकारी निर्देशक विदुषी राणा, सेन्चुरीका कार्यकारी निर्देशक शोभना दुगड, मक्कुसेका कार्यकारी निर्देशक मिङ र सिल्क आर्टिसनल क्रिमरीका संस्थापक ऋषभ अग्रवालले विद्यार्थीको रणनीतिक सोच, रचनात्मकता र प्रस्तुतिको स्तरको उच्च प्रशंसा गरे ।
विदुषी राणाले गोल्डस्टारका लागि पिच गर्ने विद्यार्थीलाई इन्टर्नसिपको अवसर समेत प्रदान गरिन्, जुन विद्यार्थीका लागि ठूलो प्रेरणा बन्यो।
नवप्रवर्तन र प्रभाव : एनईबी स्टिम फेयर
एनईबी स्टिम फेयरले विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित (स्टिमं) को संगममा आधारित विद्यार्थी नवप्रवर्तन उजागर गर्यो । पर्यावरणमैत्री प्रविधिदेखि लिएर अन्तक्र्रियात्मक मोडेलसम्म विद्यार्थीले पाँच प्रभावशाली परियोजना प्रस्तुत गरे, जसले व्यावहारिक समस्या समाधानमा उनीहरूको गहिरो सोच झल्कायो ।
ट्र्यास ट्रलरले ताल, खोला र नदीहरूबाट फोहोर संकलन गर्ने उपाय प्रस्तुत गर्यो, लाइन फलोअर रोबोटले ठूलो क्षेत्रको सफाइ कार्य स्वचालित बनाउने समाधान दियो । इकोस्क्राइब्सले पुनः प्रयोग हुने कागज र प्राकृतिक स्रोतबाट मसी बनाउने नवीन प्रयोग प्रस्तुत गर्यो । लिब्राटेकले पुस्तकालय व्यवस्थापनका लागि बारकोडमा आधारित प्रणाली तयार गर्यो र सिल्भाले प्राकृतिक तत्वमा आधारित सौन्दर्य सामग्री (लिप बाम र परफ्युम) को परिकल्पना प्रस्तुत गर्यो ।
यी परियोजना केवल सिर्जनात्मक मात्रै थिएनन्, विद्यार्थी आफैंले आर्थिक स्रोत जुटाएर, त्यसलाई व्यावहारिक रूपमा कार्यान्वयनसम्म पुर्याएका थिए । कर्खानाका सुनोजदास श्रेष्ठ र लालीकी सलोनी राजभण्डारीले विद्यार्थीको सोच, समर्पण र दिगो विकासप्रतिको प्रतिबद्धताको प्रशंसा गरे ।
‘विद्यार्थीको मिहिनेत र समर्पणले भविष्यको चुनौती सामना गर्न स्टिम शिक्षाको कति गहिरो भूमिका छ भन्ने देखाउँछ,’ स्कुलकी शैक्षिक निर्देशक प्रविना थापाले भनिन् ।
द भ्वाइस नामक पूर्णरूपमा विद्यार्थीद्वारा सम्पादित पत्रिका विद्यालय वर्षको झलक हो, जसमा लेख संकलन, ग्राफिक डिजाइन, सम्पादन र टिम व्यवस्थापनसम्म सबै जिम्मेवारी विद्यार्थीले नै सम्हालेका थिए ।
उनीहरूले टिम छान्नेदेखि लिएर सम्पादकीय निर्णय गर्ने अधिकार पनि आफैंसँग राखे । द भ्वाइस केवल पत्रिका नभई नेतृत्व, सशक्तीकरण र विद्यालय संस्कृतिमा विद्यार्थी आवाजको महत्त्व देखाउने माध्यम बन्यो ।
विद्यार्थीले कथा लेखुन्, ब्रान्ड पिच गरुन् वा रोबोट निर्माण, प्रिमियरका एनईबी विद्यार्थीले यस वर्ष आफ्नो सिप, सोच र उद्देश्य प्रस्तुत गर्न सके । एनईबी कार्यक्रम केवल परीक्षाका लागि तयारी गर्ने कक्षा होइन, वास्तविक संसारका लागि आफूलाई तयार पार्ने प्लेटफर्म बनिरहेको छ ।
प्रिमियरको एनईबी कार्यक्रमले शैक्षिक गहिराइ र जीवनोपयोगी अनुभवको सन्तुलन मार्फत विद्यार्थीलाई आत्मविश्वास, स्वतन्त्रता र उद्देश्यसाथ नेतृत्व गर्न सक्षम बनाइरहेको स्कुलले जनाएको छ ।
प्रतिक्रिया 4