+
+
Shares

ठमेलमा नेपालको पहिलो स्काई रेस्टुरेन्टसहित आर्या होटल सञ्चालनमा

आर्या होटलमा साउना, स्टिम, ज्याकुजी, हिटेड पुल, दुई वटा हल र अन्डरग्राउन्ड पार्किङ सुविधा छन् । कोठाको मूल्य १ सय १५  अमेरिकी डलरदेखि १ हजार ६ सय ८० डलरसम्म तोकिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३० गते १६:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आर्र्या होटल एण्ड स्पा काठमाडौंको ठमेलमा सञ्चालनमा आएको छ र यसले नेपालको पहिलो स्काई रेष्टुरेन्ट सञ्चालन गरेको छ। यस होटलको कुल लगानी २ अर्ब ५० करोड रुपैयाँ रहेको छ र यसले नेपाली कला, संस्कृति, र आतिथ्यतालाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।
  • होटलमा ७२ कोठा, स्विमिङ पुल, र विभिन्न सुविधा उपलब्ध छन् र यसले पर्यटकहरूलाई गुणस्तरीय सेवा र सांस्कृतिक अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।
  • सरकारी र व्यवसायिक नेताहरूले यस परियोजनालाई नेपालको पर्यटन प्रवर्द्धन र लगानीको लागि सकारात्मक कदमको रूपमा मूल्याङ्कन गरेका छन्।

३० वैशाख, काठमाडौं । काठमाडौंको पर्यटकीय केन्द्र ठमेलमा आर्या  होटल एन्ड स्पा सञ्चालनमा आएको छ ।  पाँचतारे (हेरिटेज लक्जरी) उक्त होटलले नेपालको पहिलो स्काई रेस्टुरेन्ट सञ्चालनमा ल्याएर पर्यटन क्षेत्रमा नयाँ आयाम थपेको छ ।

सोमबार उपप्रधानमन्त्री प्रकाशमान सिंहले होटलको उद्‍घाटन गरेका छन् । उद्‍घाटन समारोहमा बोल्दै उनले निजी क्षेत्रलाई प्राथमिकता दिने सरकारी नीतिले यस्ता परियोजनालाई प्रोत्साहन दिने बताए । ‘नेपालमा लगानीको प्रशस्त सम्भावना छ, समस्याको समाधान खोजेर अगाडि बढ्नुपर्छ,’ उनले भने ।

व्यवसायी कृष्ण सिंखडाको एकल स्वामित्व रहेको होटलको कुल लगानी २ अर्ब ५० करोड रहेको छ ।

गैरआवासीय नेपाली संघका सदस्य समेत रहेका होटल सञ्‍चालक सिंखडाले ठमेलको भिडभाडयुक्त स्थानमा लगानी गर्नुको कारण यहाँको पर्यटकीय सम्भावना भएको बताए ।

जापानको लामो बसाइपछि नेपाल फर्किएर उनले व्यवसाय सुरु गरेका हुन् ।

‘ठमेलले विश्वलाई नेपाल चिनायो, अब हामी यसलाई विश्वमा चिनाउँछौं,’ सिंखडाले भने । उनले यो होटलले नेपाली कला, संस्कृति, खाना र आत्मीय आतिथ्यलाई एकीकृत रूपमा प्रस्तुत गर्ने दाबी गरे।

काठमाडौं महानगरपालिका-२६ मा अवस्थित यो होटल १२ तलाको छ । होटलमा नेपाली परम्परागत हस्तकलाले सजाइएका ७२ कोठा छन् । १२औं तलामा सोरा रेस्टुरेन्ट छ । सोरा जापानी शब्द हो । जसको अर्थ आकाश हो । अर्थात उक्त स्काई सहितको रेस्टुरेन्ट मुनिको सिसामा बसेर तीन तले स्विमिङ पुल अवलोकन गर्न सकिन्छ ।

होटलमा साउना, स्टिम, ज्याकुजी, हिटेड पुल, दुई वटा हल र अन्डरग्राउन्ड पार्किङ सुविधा छन् । कोठाको मूल्य १ सय १५  अमेरिकी डलरदेखि १ हजार ६ सय ८० डलरसम्म तोकिएको छ ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले एनआरएनको लगानीलाई स्वागत गर्दै यसलाई संरक्षण गर्नुपर्नेमा जोड दिए ।  ‘लगानीलाई जोगाउन सकिएन भने अन्य लगानीकर्ता पनि निरुत्साहित हुनेछन्,’ उनले भने ।

कार्यक्रममा सहभागी वडाध्यक्ष खेमराज तिवारीले पर्यटन वर्षका कार्यक्रम प्रभावकारी नभए पनि यस्ता परियोजनाले पर्यटन प्रवर्द्धनमा योगदान दिने बताए । पूर्वएनआरएनए अध्यक्ष भवन भट्टले यस्ता लगानीले नेपालको सम्भावना उजागर भएको उल्लेख गरे ।

होटलका महाप्रबन्धक सुवर्ण थापाले आर्या होटलले नेपाली पहिचान विश्वमाझ चिनाउने बताए । आन्तरिक र वाह्य पर्यटकलाई लक्षित यो होटलले ठमेलको भिडभाडमा पनि गुणस्तरीय सेवा र सांस्कृतिक अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?