
News Summary
Generated by OK AI. Editorially reviewed.- पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले आशाको सञ्चार नै प्रगतिको आधार भएको बताएका छन् ।
- उनले देशको विकासमा निराशाका सन्देशले बाधा पुर्याउने गरेको बताएका छन् ।
- मन्त्री पाण्डेले समाज सुधारमा साहित्यकारहरूको भूमिका महत्त्वपूर्ण हुने बताए ।
३० वैशाख, काठमाडौंं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रगतिको प्रस्थान बिन्दु नै आशाको सञ्चार भएको बताएका छन् ।
मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित प्रज्ञा पुरस्कार समर्पण समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले पछिल्लो समय निराशाका सन्देशलाई बढी प्राथमिकता दिइएको उल्लेख गर्दै त्यसले देशको विकासमा अवरोध पुर्याउने बताए ।
उनले देश अहिले कुनै द्वन्द्वमा नरहेको तथा सबै मित्र राष्ट्रसँग सु-सम्बन्ध कायम रहेको बताए । उनले देश विकासको गतिमा तीव्रता लिने चरणमा रहेको समेत दाबी गरे ।
मन्त्री पाण्डेले साहित्यकारहरूले समाजलाई अग्रगमनतर्फ डोहोर्याउने महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै समाजको प्रवृत्ति सुधारमा उनीहरूको योगदान अपरिहार्य रहेको बताए ।
समारोहमा मन्त्रालयले विभिन्न श्रष्टालाई पुरस्कार प्रदान गरेको छ । जसमा प्रज्ञा भाषा पुरस्कार २०७८ चूडामणि रेग्मी, प्रज्ञा सामाजिकशास्त्र पुरस्कार २०७८ दिल साहनी, प्रज्ञा संस्कृति पुरस्कार २०७८ डिक बान्तवा, प्रज्ञा बालसाहित्य पुरस्कार २०७८ शारदारमण नेपाललाई प्रदान गरिएको छ ।
यसैगरी प्रज्ञा साहित्य पुरस्कार (पद्य) २०७८ जसराज किराँती, प्रज्ञा साहित्य पुरस्कार (गद्य) २०७८ कृष्ण धरावासी, प्रज्ञा समालोचना पुरस्कार २०७८ डा. सुधा त्रिपाठी, प्रज्ञा दर्शन पुरस्कार २०७८ गोपीरमण उपाध्याय, प्रज्ञा अनुवाद पुरस्कार २०७८ डा. बलराम अधिकारी र प्रज्ञा अन्तरदेशीय पुरस्कार २०७८ भविलाल लामिछाने (भारत) लाई प्रदान गरिएको छ । प्रत्येक वर्ष प्रदान गरिने यी पुरस्कारको राशी १ लाख रुपैयाँ रहेको छ ।
प्रतिक्रिया 4