+
+
Shares

गृहमन्त्री कड्किएपछि बन्यो तस्करी रोक्ने प्लान

गोष्ठीले लागुऔषधको बढ्दो प्रयोग, साइबर अपराध, तस्करी र राजावादी आन्दोलन प्रदेशको मुख्य चुनौती रहेको निष्कर्ष निकालेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३१ गते २०:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कोशी प्रदेशले सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्न योजनाबद्ध रूपमा काम गर्ने निर्णय गरेको छ।
  • गृहमन्त्री रमेश लेखकले ३० दिनभित्र तस्करी रोक्न निर्देशन दिएका छन्।
  • गोष्ठीले सीमा सुरक्षा कडाइ र अपराध नियन्त्रणका लागि थप सतर्कता अपनाउने निर्णय गरेको छ।

३१ वैशाख, विराटनगर । कोशी प्रदेश स्तरीय सुरक्षा गोष्ठीले सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्न योजनावद्ध रूपमा काम गर्ने निष्कर्ष निकालेको छ ।

बुधबार गोष्ठी उद्घाटन समारोहमा गृहमन्त्री रमेश लेखकले तस्करी मौलाएको भन्दै ३० दिनभित्र तस्करी रोकिने गरी काम नगरे गृह मन्त्रालयले एक्सन लिने बताएका थिए ।

उनको निर्देशनपछि गोष्ठीले सीमा क्षेत्रमा हुने चोरी तस्करी र अपराध नियन्त्रणका लागि उच्च सतर्कता अपनाउने निष्कर्ष निकालेको कोशी प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले बताए । ‘अब सीमा क्षेत्रमा सुरक्षा उपस्थिति बढाएर कडाइ गरिनेछ,’ भण्डारीले भने ।

गृहमन्त्री लेखकले ३० दिनभित्र योजना बनाएर तस्करी नियन्त्रण गर्न निर्देशन नै दिएका थिए । ‘तस्करी तुरुन्त रोक्नुहोस्, यसका लागि एक्सन प्लान बनाउनुहोस्, सीमा क्षेत्रमा हुने तस्करीले अपराध बढाएको छ, राजस्व घटाएको छ,’ उनले भनेका थिए, ‘आजको ३० दिनभित्र अनुभूति हुनेगरी र देखिने गरी तस्करी रोकिनुपर्छ, तपाईंहरूले एक्सन गर्नुहोस् ।’

केही मानिस रातारात गैरकानुनी ढंगले धनी हुने राज्यको राजस्व घट्ने अवस्था रहेको भन्दै लेखकले भने, ‘यदी तपाईंहरूले एक्सन गर्नुभएन भने गृह मन्त्रालय अर्को एक्सनमा जान्छ ।’

उनले व्यवस्थाविरोधी कदमविरुद्ध पनि कठोर कदम चाल्न निर्देशन दिए । गोष्ठीले लागुऔषधको बढ्दो प्रयोग, साइबर अपराध, तस्करी र राजावादी आन्दोलन प्रदेशको मुख्य चुनौती रहेको निष्कर्ष निकालेको छ ।

गोष्ठीले चुनौती समाधानका लागि अधिकतम सतर्कता अपनाउने निर्णय गरेको भण्डारीले जानकारी दिए । गोष्ठीले राज्यले दिने सेवाप्रवाहलाई चुस्त र नागरिक मैत्री बनाउने निष्कर्ष पनि निकालेको उनले बताए ।

उनका अनुसार पहिलो चरणमा जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयको सेवालाई सहज नागरिक मैत्री बनाइनेछ । त्यसपछि प्रमुख जिल्ला अधिकारीले अन्य कार्यालयको सेवा प्रवाहलाई नागरिक मैत्री बनाउन सहजीकरण गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?