+
+
Shares

‘कमेडी दरबार इन अमेरिका’ १० अमेरिकी राज्यमा आयोजना हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ३ गते २१:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘कमेडी दरबार इन अमेरिका’ कार्यक्रम आयोजना हुँदैछ, जसले नेपाली मनोरञ्जनलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने लक्ष्य राखेको छ।
  • आर्यन फिल्म्स र माया इन्टरटेन्मेन्टले संयुक्त रूपमा अमेरिकामा नेपाली दर्शकहरूका लागि हाँसो र मनोरञ्जन ल्याउने योजना बनाएका छन्।
  • कार्यक्रमको लागत लगभग १.५ देखि २ करोड नेपाली रुपैयाँ अनुमानित छ र यसले १० वटा अमेरिकी राज्यहरूमा १६ स्थानमा आयोजना हुनेछ।

काठमाडौं । ‘कमेडी दरबार इन अमेरिका’ नामक कार्यक्रम आयोजना हुने भएको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत आर्यन फिल्म्स प्रोडक्सन प्रालिले यसबारे जानकारी दिएको हो ।

यसबारे ‘कमेडी दरबार’को निर्माता संस्था माया इन्टरटेन्मेन्ट स्टुडियोजसँग औपचारिक सम्झौता भएको छ । आर्यन फिल्म्सको तर्फबाट सीईओ गोपाल कटुवाल र शो निर्माण पक्षबाट निर्देशक समेत रहेकी श्रद्धा प्रसाईंले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौता हस्ताक्षरपछि बोल्दै आर्यन फिल्म्सका सीईओ कटुवालले आफ्नो कम्पनीले फिल्म र म्युजिक भिडियो निर्माणमा लामो समयदेखि सक्रिय रहँदै आएको भए पनि अन्तर्राष्ट्रिय स्तरमा पहिलोपटक काम गर्न लागेको बताए । उनले अमेरिकामा रहेका बढीभन्दा बढी नेपाली माझमा कार्यक्रम पुर्‍याउने लक्ष्य रहेको बताए ।

निर्देशक प्रसाईंले कार्यक्रमको अन्तर्राष्ट्रिय यात्रा सुरु हुन लागेकोमा आफू उत्साहित रहेको बताइन् । ‘सेप्टेम्बर र अक्टोबरमा ‘कमेडी दरबार इन अमेरिका’ लिएर हामी अमेरिका आउँदैछौँ । हामी अत्यन्त उत्साहित भएर पर्खिरहेका छौँ’ उनले भनिन् ।

आर्यन फिल्म्सका अध्यक्ष रमेश एमके पौडेलले हाँसोलाई औषधिको रूपमा उल्लेख गर्दै नेपालीभाषीको मनोरञ्जनको चाहना पुरा गर्न अमेरिकामा कार्यक्रम गर्न लागिएको बताए । उनका अनुसार, अमेरिकाका १० राज्यका १६ स्थानमा कार्यक्रम गर्ने योजना छ ।

यो कार्यक्रम टेक्सास, न्यूयोर्क, ओहायो, मेरिल्याण्ड, भर्जिनिया, क्यालिफोर्निया, कोलोराडो, न्यू जर्सी, फ्लोरिडा र ओक्लोहामामा आयोजना हुनेछ ।

‘अमेरिकामा बसोबास गर्ने हाम्रा नेपाली दाजुभाइका लागि यो कार्यक्रम हाँसोको औषधि बन्नेछ’ उनले भने ।

अमेरिकी कार्यक्रमको व्यवस्थापनमा त्यहाँका चर्चित नेपाली व्यवसायी तथा समाजसेवी पासाङ लामाले सहकार्य गर्नेछन् । सन् २०२० मा रिटेल व्यवसायतर्फ अवार्ड जितेका लामाले अमेरिकाका विभिन्न राज्यमा डेढसय भन्दा बढी ग्यास स्टेसन तथा रिटेल स्टोर सञ्चालन गरिरहेका छन् ।

कार्यक्रमको अनुमानित खर्च डेढदेखि दुई करोड नेपाली रुपैयाँ लाग्ने बताइएको छ । कार्यक्रममा ‘कमेडी दरबार’का अधिकांश कलाकारको उपस्थिति थियो । उनीहरूले पनि अमेरिका भ्रमणको घोषणा भएकोमा खुसी व्यक्त गर्दै त्यहाँका नेपाली दर्शकलाई पूर्ण मनोरञ्जनको लागि तयार रहन आग्रह गरे ।

कार्यक्रममा सुजाता श्रेष्ठ, विश्वास तिम्सिना, पवित्रा साकी, सुन्दर खनाल, हिमेश पन्त र विकास अर्यालको उपस्थिति थियो । आर्यन फिल्म्स फिल्म तथा म्यूजिक भिडियो निर्माणमा संलग्न कम्पनी हो । कम्पनीले आफ्नै व्यानरमा ‘रुद्रप्रिया’, ‘राज्जा रानी’, ‘तिम्रो मेरो साथ’ लगायतका फिल्म निर्माण गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?