
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘महाभोज’ को ट्रेलर सार्वजनिक भएको छ जसले सहकारी ठगी र त्यसको पीडितहरूको कथा प्रस्तुत गर्दछ।
- ट्रेलरले सहकारी संस्थाहरूमा हुने भ्रष्टाचार र यसको सामाजिक प्रभावलाई उजागर गर्दछ।
- निर्देशक दिनेश राउतले यस फिल्मले समाजमा व्याप्त भ्रष्टाचार र सत्यको खोजी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
काठमाडौं । जेठ १५ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘महाभोज’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार क्युएफएक्सको राइजिङ हलमा आयोजित पत्रकार सम्मेलनमा झण्डै ४ मिनेट लामो ट्रेलर सार्वजनिक गरियो ।
पत्रकार सम्मेलनमा निर्माताले फिल्मको कथावस्तुबारे संचारकर्मीलाई जानकारी गराए । ट्रेलरले सहकारी ठगीका पीडितको मर्मस्पर्शी कथालाई झल्काएको छ ।
आफूले बचत गरेको रकम फिर्ता नपाउँदा मृत्यु भोग्नुपर्ने बचतकर्ताको समस्यालाई कथाको रुपमा देखाइएको छ । समस्याग्रस्त सहकारीले निक्षेपकर्ता र उनीहरूलाई पारेको असरको कथा यसमा छ । सहकारी प्रकरणलाई लिएर हालै मुलुकमा भएका घटनालाई पनि फिल्मले चित्रण प्रयत्न गरेको छ ।
सहकारी संस्थामा पहुँच राख्नेले आफ्नो पद र पदवीको फाइदा उठाउँदै कसरी सर्वसाधारणको रकमलाई निजी विलासी जीवनमा प्रयोग गर्छन् भन्ने कथानकलाई ट्रेलरले उजागर गरेको छ । ट्रेलरको अन्त्यतिर भित्तामा ‘सत्य कहिल्यै लुक्दैन’ लेखिएको दृश्यले फिल्मले वास्तविक सत्यको खोजी गर्न प्रतिबद्ध देखिएको छ ।
प्रेसमिटमा बोल्दै निर्देशक दिनेश राउतले कथावस्तुबारे चर्चा गरे । उनले भने, ‘समाजमा सहकारीको रकम मिसयुज हुने घटनाहरू पछिल्लो समय मात्र बढेका होइनन् । अहिलेको समयमा यो विषय तातेको भएर मात्र पनि यो कथालाई पर्दामा उतार्ने प्रयोजन बनाएका होइनौँ । हाम्रो समाजका माथिल्ला स्तरका केही मानिसहरूले तल्लो स्तरका मानिसहरूलाई प्रयोग गरी कसरी आफ्नो बिलासी जीवन जिउँछन् भन्ने कथा यो चलचित्रको हो, सहकारीको कथा एक कारक मात्र हो ।’
निर्माता हिमाल कडरियाले थपे, ‘फिल्ममा पैसा मात्र प्रलोभन होइन, हाम्रो समाज आफैँले उत्पादन गरेको कथा हुनु आवश्यक थियो । त्यसैबाट ‘महाभोज’ जन्मियो ।’ फिल्ममा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौला प्रमुख भूमिकामा छन् ।
विकास सुवेदीले पटकथा लेखेका हुन् । फिल्मलाई क्लक वर्क क्रियसन र पिक्चर फ्रेमले निर्माण गरेका हुन् ।
प्रतिक्रिया 4