+
+
Shares

‘सडक कालोपत्र होइन, अब सेतोपत्र गरौं’

सिमेन्ट ढलान बाटो प्रारम्भिक लागतमा केही महँगो पर्ने भए पनि यसको आयु ३ गुणासम्म लामो हुने भएकाले यो किफायती र टिकाउ विकल्प सावित हुने सिमेन्ट उत्पादकको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ५ गते १६:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सिमेन्ट उत्पादक संघले सडक निर्माणमा सिमेन्टको प्रयोग बढाउन आग्रह गरेको छ।
  • संघका अध्यक्ष रघुनन्दन मारुले सिमेन्ट ढलानबाटो टिकाउ र लागत–लाभ विश्लेषणमा आधारित भएको बताए।
  • उद्योगमन्त्री दामोदर भण्डारीले सिमेन्टमा नेपाल आत्मनिर्भर भएको भन्दै सेतोपत्र अभ्यास गर्नुपर्ने बताए।

५ जेठ, काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघले सडक निर्माणमा सिमेन्टको प्रयोग बढाउन सम्बन्धित निकायसँग आग्रह गरेको छ ।

‘कालोपत्रे होइन सेतो पत्रे गरौं’ भन्ने नारासाथ संघले ललितपुरमा ‘सिमेन्ट कन्क्लेभ’ कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा सडक निर्माणमा सिमेन्टको प्रयोग बढाउन संघले आग्रह गरेको हो ।

संघ अध्यक्ष रघुनन्दन मारुले हाल प्रचलनमा रहेको अलकत्रा (बिटुमिन) प्रयोग गरिएको कालोपत्र बाटो तुलनात्मक रूपमा सस्तो देखिए पनि प्रत्येक वर्ष मर्मत सम्भारमा ठूलो रकम खर्चिनुपर्ने हुँदा यसको प्रयोगको सट्टा सिमेन्ट ढलान बाटो बनाउँदा फाइदा हुने बताए ।

सिमेन्ट ढलान बाटो प्रारम्भिक लागतमा केही महँगो पर्ने भए पनि यसको आयु ३ गुणासम्म लामो हुने भएकाले यो किफायती र टिकाउ विकल्प सावित हुने उनले दाबी गरे । सिमेन्ट ढलान प्रविधि प्रवद्र्धनका लागि बजेटमा प्राथमिकता दिन उनको माग छ ।

‘नेपालको पहाडी भौगोलिक बनावटमा पूर्वाधार निर्माण, विशेषतः सडक सञ्जाल विस्तार एक चुनौतीपूर्ण कार्य रहँदै आएको छ,’ कार्यक्रममा अध्यक्ष मारुले भने, ‘यस्तो भूभागमा दीर्घकालीन सोचका साथ टिकाउ, भरपर्दो र लागत–लाभ विश्लेषणमा आधारित पूर्वाधार निर्माण गर्नु अत्यावश्यक छ ।’

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विकास निर्माण नेपालको कच्चापदार्थमा आधारित हुनुपर्ने बताए । उनले सडक निर्माणमा सिमेन्टको प्रयोग बढाउनुपर्ने बताए ।

‘हामी सिमेन्टमा आत्मनिर्भर भएका छौं, बालुवा, गिट्टी हाम्रै वरीपरि उपलब्ध छ, यसको प्रयोग बढाउनुपर्छ,’ उनले भने, ‘हामीले विकास निर्माणलाई दिगो, भरपर्दो र वातावरणमैत्री बनाउन पहल गर्नुपर्छ । यसमा देखिएका समस्या समाधान गर्न मन्त्रालयका तर्फबाट आवश्यक सहयोग गर्न तयार छु ।’

मन्त्री भण्डारीले विकसित मुलुकले कालोपत्र सडक विस्थापित गर्दै सेतोपत्रमा जोड दिएको हुँदा नेपालले पनि उक्त अभ्यासमा जोड दिनुपर्ने भनाइ राखे ।

‘अहिले पहाडका केही सडक एकातिर निर्माण भइरहने र अर्कातिर भत्कँदै गइरहने अवस्था छ,’ मन्त्री भण्डारीले भने, ‘कालोपत्र सडक एक दुई वर्ष पनि टिक्दैनन् । सिमेन्ट र छडको प्रयोग गरेर सडक निर्माण भए कम्तीमा पनि १० वर्षसम्म टिकाउ हुन सक्छ, त्यसैले सेतोपत्रको अभ्यास गरौं ।’

यस्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपाल पूर्णरूपमा सिमेन्टमा आत्मनिर्भर भएको हुँदा स्वदेशमै खपत बढाउनुपर्ने बताए ।

उनले कालोपत्र सडकको आयु १० देखि २० वर्ष र कंक्रिट सडकको आयु ३० देखि ४० वर्षसम्म हुने दाबी गरे । उनले विकासका दृष्टिले पछिल्लो १५ वर्षमा नेपालले धेरै विकास निर्माणको काम गरेको बताए ।

‘सिमेन्टमा नेपाल पूर्णरूपमा आत्मनिर्भर मात्रै होइन, निर्यात नै गर्ने अवस्थामा पुगेको छ,’ मन्त्री दाहालले भने, ‘अब हामीले हाम्रै देशका सडक निर्माणमा सिमेन्ट खपत गर्नुपर्छ । कस्टलाई थोरै मार्जिन राखेर धेरै उत्पादन गरौं । कंक्रिट प्रविधिमा जाऔं ।’

यसैगरी उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले स्वदेशी उत्पादनको प्रयोग बढाउँदा आयातमुखी अर्थतन्त्र नियन्त्रण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

स्वदेशी उत्पादन वृद्धिले अर्थतन्त्रलाई सही दिशामा लैजान र आयातलाई घटाउन सकिने उनको तर्क छ ।

‘सिमेन्ट उत्पादनमा आत्मनिर्भर भइसकेको अवस्थामा लागतका हिसाबले सामग्री आयात गर्नुभन्दा आफ्नै देशमा उत्पादन भएको सिमेन्ट प्रयोग गरे यसले उत्पादनलाई पनि बढावा दिन्छ,’ उनले भने, ‘आयातमुखी अर्थतन्त्रलाई नियन्त्रण गर्न यसको उल्लेख्य भूमिका रहन्छ । त्यसैले यी पक्षलाई ध्यानमा राखेर काम गरौं ।’

कार्यक्रममा भारतका सिमेन्ट कंक्रिट रोड विशेषज्ञ सुनिलकुमार सक्सेना पनि सहभागी थिए । उनले सिमेन्ट कंक्रिट रोडबारे जानकारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?