+
+
Shares

माओवादी उपस्थित नहुँदा कर्णाली प्रदेश सभा बैठक अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ५ गते १८:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णाली प्रदेश सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको अनुपस्थितिले बैठक अवरुद्ध भयो ।
  • सभामुख नन्दा गुरुङले १८ जेठसम्मका लागि बैठक स्थगित गरिन्।
  • संसद् बैठकमा प्रमुख प्रतिपक्षीको उपस्थिति आवश्यक रहेको भन्दै सांसद विष्टले बैठक सञ्चालन नगर्न आग्रह गरे।

५ जेठ, सुर्खेत । कर्णाली प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र उपस्थित नभएपछि बैठक अवरुद्ध भएको छ ।

सोमबार बसेको प्रदेशसभाको दोस्रो कार्यकालको छैटौं अधिवेशनको छैटौं बैठकमा प्रमुख प्रतिपक्ष दल माओवादी उपस्थित नभएपछि बैठक अवरुद्ध भएको हो ।

सभामुख नन्दा गुरुङले संसद् बैठक सञ्चालन गरे लगतै नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले प्रतिपक्ष दलको उपस्थितिविना संसद् अगाडि बढाउन नहुने धारणा राखे ।

‘सरकार सत्तारुढ दलहरूको हुन्छ । तर संसद् प्रमुख प्रतिपक्षी दलको हुन्छ भन्ने संसदीय सर्वमान्य मान्यता रहेको छ,’ विष्टले भने, ‘प्रमुख प्रतिपक्षी विनाको बैठक चल्दैन, चलाउनु पनि हुँदैन ।’ उनले विगतमा पनि प्रमुख प्रतिपक्षी विनाको बैठक नचल्ने अभ्यास रहेको समेत स्मरण गराए ।

उक्त बैठकमा प्रमुख सचेतक विष्टले कर्णालीका सडकका बारेमा सार्वजनिक महत्त्वको प्रस्ताव पेस गर्ने कार्यसूची रहेको थियो । सचेतक विष्टको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमा कांग्रेस सांसद बलिमाया बुढा, लक्ष्मी सुनार र पूर्णबहादुर खत्री समर्थक थिए ।

आजकै बैठकमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले महालेखाको सातौँ वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने समेत कार्यसूची थियो । कार्यव्यवस्था परामर्श समितिको बैठकमा आज बैठक सञ्चालन गर्ने सहमति भए पनि उक्त विषयलाई माओवादीले नजरअन्दाज गरेको विष्टले बताए ।

‘सर्वदलीय सहमति जुटेर कार्यसूचीमा प्रवेश गरेको विषयमा छलफल हुने दिन प्रतिपक्षको बेन्च खाली देख्दा अचम्म लागेको छ । मेरो विचारमा यो नौलो अभ्यास हो । यदि उपस्थिति नहुनुपर्ने थियो भने हिजो किन सहमति गरेको हो ?’ सांसद विष्टले प्रदेश सभालाई सम्बोधन गर्दै भने ।

विष्टका अनुसार प्रतिपक्षी दल माओवादीका तर्फबाट कार्यव्यवस्था परामर्श समितिको बैठकमा सांसद मिलन खड्काले हस्ताक्षर गरेकी थिइन् ।

संसद् जस्तो गरिमामय थलोलाई आफू अनुकूल चलाउन खोज्नु थितिविपरीत भएको सांसद विष्टको दाबी गरे ।

‘हिजोको कार्यव्यवस्था बैठकमा बैठक बस्ने कुरा भएको हो, तर संसद्‍मा प्रतिपक्ष उपस्थित छैन,’ उनले भने, ‘प्रचण्डको अभियानमा जाने भन्ने कुराहरू सुनिएको थियो । तर बैठक नराख्न भनिएको थिएन । बरु सहभागी हुन सक्दैनौ भनेको भए, बैठक राख्न आवश्यक नै थिएनन् नि । पछि बसे पनि हुने थियो,’ विष्टले भने ।

संसद् प्रतिपक्षको हुने मान्यतालाई मध्यनजर गर्दै संसद् सञ्चालन नगर्न विष्टले सभामुखलाई आग्रह गरे । लगत्तै सभामुख गुरुङले १८ जेठसम्मका लागि बैठक स्थगित भएको जानकारी गराइन् ।

प्रमुख प्रतिपक्षी दलको सहमति विना एकलौटी बैठक बोलाएपछि आफूहरू बैठकमा उपस्थिति नभएको माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले बताए ।
‘हिजो बसेको कार्यव्यवस्था समितिको बैठकमा हामीले ७/८ गतेसम्म बैठक बोलाए हुन्छ भनेका थियौं’ उनले भने, ‘खासै महत्त्वपूर्ण एजेन्डा नहुँदा पनि बैठक बोलाउने काम भयो । हामीले हिजो नै जानकारी गराइसकेका थियौं ।’

उनले एजेन्डा नभई सत्तापक्ष दलहरूले बैठक सोमबार नै बोलाउने बताएपछि आफूहरू संसद् बैठकमा उपस्थित नभएको बताए । सत्तारुढ दलका नेताहरूले माओवादी अध्यक्ष मध्यपहाडी यात्रामा कर्णालीमा रहेकाले सांसदहरू त्यता जाँदा सांसदलाई बेवास्ता गरिएको बताएका छन् ।

प्रमुख सचेतक जिसीले भने दल नेता राजकुमार शर्मा र आफू बाहेक सबै सांसद वीरेन्द्रनगरमै रहेको बताए । ‘उहाँहरूले जे भने पनि दलको नेता र म मात्रै अभियानमा आएका छौं । अरू सबै सांसद सुर्खेतमै हुनुहुन्छ,’ उनले भने ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?