
News Summary
Generated by OK AI. Editorially reviewed.- चितवन राष्ट्रिय निकुञ्जले दुई युवालाई पक्राउ गरी खागजस्तो देखिने आखेटोपहार बरामद गरेको जनाएको छ।
- निकुञ्जले थप अनुसन्धान गरिरहेको र खागको सक्कली वा नक्कली परीक्षणपछि मात्रै खुल्ने बताएको छ।
- पछिल्लो डेढ वर्षदेखि चितवन राष्ट्रिय निकुञ्जमा गैंडाको चोरी र शिकारी रोकिएको छ।
५, जेठ, चितवन । गैंडाको खागजस्तो वस्तुसहित चितवन राष्ट्रिय निकुञ्जले दुई युवालाई पक्राउ गरेको छ ।
निकुञ्जले एक सूचना जारी गरी दुई व्यक्तिलाई भरतपुर महानगरपालिका–९ बिसहजारी रोडनजिकैबाट पक्राउ गरिएको जनाएको छ ।
उनीहरूको नाम भने निकुञ्जले खुलाएको छैन । उनीहरूका बारेमा थप अनुसन्धान भइरहेको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए ।
संरक्षित वन्यजन्तु एक सिङ्गे गैंडाको खागजस्तो देखिने आखेटोपहार ओसारपसार भइरहेको हुनसक्ने विशेष सूचनाको आधारमा खटिएको निकुञ्जका कर्मचारी तथा निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको नयाँ गोरख गणको संयुक्त टोली परिचालित भएको थियो ।
बरामद खाग सक्कली वा नक्कली परीक्षणपछि मात्रै खुल्ने निकुञ्जले जनाएको छ । पछिल्लो डेढ वर्षदेखि चितवन राष्ट्रिय निकुञ्जमा गैंडाको चोरी शिकारी हुन पाएको छैन । २०८० कार्तिकयता निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा गैंडालाई मार्ने तथा चोरी सिकारी गर्ने काम रोकिएको छ ।
प्रतिक्रिया 4