
News Summary
Generated by OK AI. Editorially reviewed.- ५ जेठ काठमाडौंमा इस्लाम धर्मावलम्बी नेपाली हजयात्रीहरूलाई साउदी अरेबियाको मक्का र मदिनामा हज गर्न बिदाइ गरिएको छ।
- मन्त्री बद्रीप्रसाद पाण्डेले हज यात्रालाई धार्मिक र राष्ट्रिय प्रतिष्ठा प्रवर्द्धनको अवसरका रूपमा लिन आग्रह गरे।
- उहाँले हज व्यवस्थापन र यात्रु सुरक्षामा सरकारको प्रतिबद्धता दोहोर्याउँदै यात्रुहरूलाई अनुशासित र नेपाली पहिचान झल्काउने व्यवहार गर्न भने।
५ जेठ, काठमाडौं । इस्लाम धर्मावलम्बीको पवित्र तीर्थस्थल साउदी अरेबियाको मक्का र मदिना हज गर्न जान लागेका नेपाली हजयात्रीहरूलाई सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष कार्यक्रमबीच बिदाइ गरिएको छ ।
हजयात्रीको समूहलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विमानस्थलमा बिदाइ गरे । सफल, सुरक्षित र अर्थपूर्ण हज यात्राको शुभकामना व्यक्त गर्दै उनले हज यात्रालाई केवल धार्मिक अभ्यास मात्र नभई राष्ट्रको अन्तर्राष्ट्रिय प्रतिष्ठा प्रवर्द्धन गर्ने अवसरको रूपमा पनि लिनुपर्ने धारणा व्यक्त गरे ।
मन्त्री पाण्डेले हज व्यवस्थापन, यात्रीहरूको सुरक्षालगायत सम्पूर्ण प्रक्रिया व्यवस्थित र मर्यादित बनाउने सरकारको प्रतिबद्धता दोहोर्याए । उनले हजयात्रीहरूलाई अनुशासित, सहिष्णु र नेपाली पहिचान झल्काउने व्यवहारका साथ पवित्र भूमिमा प्रतिनिधित्व गर्न आग्रह समेत गरे ।
यस वर्ष हजमा ४० भन्दा बढी नेपाली हजयात्रीको सहभागिता रहने जनाइएको छ । तीर्थयात्रीहरूलाई सहज रूपमा हज यात्रा सम्पन्न गराउन नेपाल सरकार, मुस्लिम आयोग र सम्बन्धित निकायहरूबीच समन्वय भइरहेको छ ।
प्रतिक्रिया 4