+
+
Shares

शिलान्यास गरेको वर्ष बित्यो तर सुरु भएन नारायणी नदीको सिग्नेचर पुलको काम

सुवास पण्डित सुवास पण्डित
२०८२ जेठ ६ गते ७:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवन र पूर्वी नवलपरासीलाई जोड्ने नारायणी नदीको सिग्नेचर पुलको निर्माण अझै सुरु भएको छैन।
  • डिजाइन फाइनल नभएपछि पुलको निर्माण कार्य ढिलाई भएको सडक विभागले जनाएको छ।
  • चिनियाँ विज्ञहरूले पुलको डिजाइन तयार गरिरहेका छन् र काम अन्तिम चरणमा पुगेको महाशाखाले बताए।

६ जेठ, चितवन । ठेक्का लागेको दुई वर्ष तथा शिलान्यास गरेको एक वर्ष वित्दा पनि चितवन र पूर्वी नवलपरासीलाई जोड्ने नारायणी नदी माथिको सिग्नेचर पुल निर्माणको काम अझै सुरु भएको छैन ।

गत वर्ष वैशाख ३१ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नारायणगढस्थित नारायणी नदी किनारमा पुलको शिलान्यास गरेका थिए ।

डिजाइन एण्ड बिल्डका आधारमा बन्ने यो पुलको ठेक्का तुँदी कन्स्ट्रक्सन प्रालिले मूल्यअभिवृद्धि करसहित एक अर्ब ६८ करोड ७६ लाख २३ हजार तीन सय ५४ रुपैयाँमा पाएको छ ।

चार वर्ष भित्र निर्माण सक्ने गरी पुल निर्माणका लागि सो कम्पनीसँग सन् २०२३ जुन २ (२०८० साल जेठ १९ गते) मा सम्झौता भएको थियो ।

पहिलो वर्ष डिजाइनमा काम गर्ने र बाँकी अवधि ३ वर्षमा पुल निर्माणको काम सक्ने सम्झौतामा उल्लेख छ । तर, ठेकेदारले अहिलेसम्म पुलको डिजाइन नै फाइनल नगरेको सडक विभाग पुल महाशाखा प्रमुख ललिजन खनालले बताए । उनका अनुसार पुलको डिजाइन गरेर पास गरेपछि मात्रै निर्माणको काम सुरु हुनेछ ।

ठेकेदारले पहिले भारतीय कम्पनीबाट डिजाइन गराए पनि त्यसलाई महाशाखाले चित्त नबुझाएपछि चिनियाँ विज्ञहरूले पुलको डिजाइन गरेका हुन् ।

पुल महाशाखा प्रमुख खनालले ठेकेदारले पुल डिजाइनको काम अन्तिम चरणमा पुर्‍याएको जानकारी आफूले पाएको बताए । उनका अनुसार चीनको प्रतिष्ठित सरकारी विश्वविद्यालयका एकजना प्रोफेसरले पुलको डिजाइन गरेका छन् । त्यसको काम अन्तिम चरणमा पुगेर महाशाखामा पेश गर्ने तयारी भएको जानकारी ठेकेदारले गराएको उनले बताए ।

डिजाइनका लागि चिनियाँ विज्ञहरूको टोली पुल बनाउने ठाउँमा आएर स्थलगत निरीक्षण गरेर फर्किएका थिए ।

पुल महाशाखा प्रमुख खनालले पुलको डिजाइन तयार गरेर महाशाखामा पेश गरेपछि त्यसको सबै अध्ययन सकेर पास गरेपछि मात्रै निर्माणको काम बढ्ने बताए । चालु आर्थिक बर्ष भित्र पुलको काम थाल्न नसकिने र अर्को आर्थिक वर्षको हिउँदमा मात्रै फिल्डमा काम हुन सक्ने खनालको भनाइ छ ।

ठेकेदारले पहिले भारतीय कम्पनीबाट डिजाइन गराए पनि त्यसलाई महाशाखाले चित्त नबुझाएपछि चिनियाँ विज्ञहरूले पुलको डिजाइन गरेका हुन् । डिजाइनमै समय खर्चिएपछि महाशाखाले ठेकेदारलाई पेनाल्टी तिराउने तयारी गरेको थियो । तर सरकारले म्याद थप गरिदिन सहजीकरण गरिदिएपछि ठेकेदार कम्पनी पेनाल्टीबाट बचेको छ ।

नयाँ पुल बने पनि पुरानो पुल कायमै रहने

वि.सं २०३८ साल अघिसम्म नारायणी नदीमा डुंगा (फेरी) को सहायताले यातायातका साधन वारपार गराइन्थ्यो । २०४२ सालमा अहिलेको नारायणी पुल बनेको थियो । यो पुल पुरानो र जीर्ण बन्दै गएको छ ।

साथै, भरतपुर क्षेत्रमा र पूर्वी नवलपरासीको गैँडाकोट क्षेत्रमा राजमार्ग विस्तार भएर चार लेन भएकाले पुलसमेत फराकिलो बनाउनुपर्ने अवस्था छ । नयाँ पुल बने पनि पुरानो पुल कायमै रहनेछ ।

नयाँ बन्ने सिग्नेचर पुल साढे सात मिटर फराकिलो हुनेछ । त्यसमा दुईवटा लेन र साढे तीन मिटरको फुटपाथ हुनेछ । लम्बाई अहिलेको पुलको जतिकै ४२० मिटर नै हुनेछ ।

सिग्नेचर बिज्र भएको हुनाले दुई छेउमा मुख्य आकर्षक दुई पिलर रहनेछन् । दुई पिलरबीच २१० मिटरको दूरी हुनेछ ।

जम्मा चार वटा पिल्लर रहने यस पुलको तलबाट साना पानीजहाज आवतजावत गर्न मिल्ने गरी डिजाइन तयार थियो । अब बन्ने डिजाइनमा पनि यस्ता फिचरहरु राखिने महाशाखाले जनाएको छ । महाशाखाले दिएको न्यूनत्तम फिचरहरु राखेर डिजाइन आउने महाशाखाको विश्वास छ । पुल आकर्षक आधुनिक र सुन्दर बन्ने महाशाखाले जनाएको छ ।

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?