
News Summary
Generated by OK AI. Editorially reviewed.- राप्रपा सांसद ज्ञानेन्द्रबहादुर शाहीले हुम्लाको हिमपहिरो पीडितहरूको उद्धार गर्न सरकारको चासो नदेखिएको आरोप लगाए।
- सांसद शाहीले हिमपहिरो पीडितहरूको उद्धारका लागि सभामुखले रुलिङ गर्न आवश्यक रहेको बताए।
- उनले कर्णालीलाई अलग गर्न र सरकारको हेलिकप्टरको व्यवस्था गर्न आग्रह गरे।
६ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद ज्ञानेन्द्रबहादुर शाहीले हुम्लाको हिमपहिरो पीडित अलपत्र अवस्थामा रहेको भन्दै उनीहरूको उद्धारका लागि सभामुखसँग रुलिङको माग गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले हिमपहिरोमा जनता अलपत्र अवस्थामा रहे पनि सरकारले उद्धारमा चासो नदेखाएको टिप्पणी गरे ।
कर्णालीका जनता पनि यही देशका नागरिक भएको भन्दै उनले हिमपहिरो पीडितहरूको उद्धारका लागि सभामुखले रुलिङ गर्नु आवश्यक रहेको बताए ।
उनले भने, ‘हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित तिलागाउँमा हिमपहिरो गएको छ । अहिलेसम्म सरकारले उद्धार गरेको छैन । सरकारलाई म भन्न चाहन्छु । सरकारको दिमागमा जाम लाग्यो कि क्या हो ? कि आँखामा रत्तन्धो लाग्यो ? कि कानमा ढुसी पर्यो ? कि हेलिकप्टरमा खिया लाग्यो ? मन्त्रीहरूको सवारी हुँदा सरकारको हेलिकप्टर घुमेको घुमै हुने । हुम्लामा हिमपहिरो हिमताल फुटेर जनताहरू रोइरहेका छन् । एउटा हेलिकप्टर पठाउन सकेको छैन यो सरकारले । कि कर्णालीलाई हेपेको हो ?’
सांसद शाहीले अगाडि भने, ‘कर्णालीलाई हेपेको हो भने म सिधा भन्न चाहन्छु, म निर्वाचित सांसद हुँ कर्णालीबाट । तपाईं कर्णालीलाई अलग बनाउनुस् । तपाईंको राज्य व्यवस्था अन्तै सार्नुस् । हामी चलाएर देखाउँछौं ।’
राज्यमन्त्री घुम्दा हेलिकप्टर लगेर घुम्ने गरेको भए पनि हिमपहिरोमा फसेकाहरूको उद्धारका लागि हेलिकप्टरको व्यवस्था गर्न नसकेकोमा सरकारको आलोचना गरे ।
उनले हालै सम्पन्न सगरमाथा संवाद कार्यक्रमप्रति पनि तिखो टिप्पणी गरे । उनले भने, ‘ सगरमाथा संवाद के-को संवाद ? कहाँको संवाद ? कताको संवाद ? हिमपहिरोले मान्छे मरिरहेका छन् । त्यता उद्धार छैन । यहाँको नाटकबाजी ।’
प्रतिक्रिया 4